banner
banner

६० वर्षपछि इतिहास नदोहोरियोस्

अधिवक्ता गंगा दाहाल -
२०१७ सालको घटना सबैलाई ताजै छ । २०१५ सालमा ४ सिट जितेका कम्युनिष्ट यतिखेर प्रचण्ड बहुमतका साथ सत्तामा छन् भने त्यतिबेला प्रचण्ड बहुमतका साथ जितेको कांग्रेस यतिबेला सडकमा पाहा पछारिएजसरी पछारिएर छटपटाइरहेको छ । इतिहासको त्यो कालखण्डबाट शिक्षा लिएर र वर्तमानलाई सजगतापूर्वक सम्हाल्न सकिएन भने इतिहास दोहोरिन पनि सक्छ ।
प्रचण्ड बहुमत पाएको कांग्रेसले यति ठूला ठूला गल्तीहरु गर्‍यो कि त्यतिबेला सराप नै ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्ने उक्ति नै बन्यो । त्यो उक्तिका कारण प्रचण्ड बहुमत पाएको कांग्रेसको सशक्त सरकार १७ महिना पनि टिक्न सकेन, अन्ततोगत्व समयले कांग्रेसलाई लतार्‍यो, पछार्‍यो र राजाको शासन आयो ।
हो, यतिखेर राजतन्त्र किनारा लागेको छ । राजतन्त्र छैन तर त्यतिबेला कांग्रेसले गरेको जस्तो लुट, अन्याय, अत्याचार र असमान व्यवहार बढाउने काम वामपन्थी सरकारले गर्‍यो भने बहुमतको बल दिने जनमानसको मानसिकताले यू टर्न लिन बेर नलगाउन पनि सक्छ । फेरि यो आधुनिक समय र नेपालको भूबनोट तथा विश्वको सामरिक महत्वको थलोमा विश्वराजनीति चीलका आँखाले नियाली रहेकाले र नेपालको जरासम्म विदेशी ताकत पसिसकेको र बसिसकेको स्थितिमा कुनै पनि बेला सोझा जनतालाई उफार्न र उतार्न बेर नलगाउन सक्छन् ।
नेपाल अहिलेसम्म नाराले जगाउने र भाषणले जनता नचाउने देश हो । नेपाल अहिलेसम्म कागजी ग्राफमा विकास निर्माण देखाउने र कागजी घोडा बढी दौडाउने देश पनि हो । पहिलोपल्ट वामपन्थीले प्रचण्ड बहुमतका साथ चुनाव जितेर सत्तामा पुगेका छन् । पुष्पलालको सपना साकार पार्दै लामो कालखण्डपछि दुई ठूला पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन्, एसियाकै ठूलो कम्युनिष्ट पार्टी नेकपा बनेको छ र नेकपा सशक्त देशभक्तिका साथ केपी ओलीको नेतृत्वमा सरकार सञ्चालन भएको छ र यो सरकारको एकमात्र उद्देश्य भनेको सुशासन, शान्ति र सम्बृद्धि रहेको स्पष्ट पारिएको छ ।
देशभित्रमात्र होइन, सामाजिक सञ्जाल र विश्वकूटनीतिक बृत्त नेपालमा कम्युनिष्ट एकता र कम्युनिष्टको सशक्त सरकारका विषयले रंगीन बनेको अवस्था पनि हो यो । यो सरकारलाई आत्मरती गर्ने फुर्सद हुनुहुन्न । सरकारका सामु नेपालको सुशासन र सम्बृद्धिको सपनाबाहेक अरु केही छैन । सपना सुतेर र अल्छी गरेर पूरा नहुने भएकाले सरकारले जाँगर, सिप र अक्किलका साथ काम गर्नुपर्छ र कम्युनिष्टहरु विधिको लोकतान्त्रिक शासन पनि सफलतापूर्वक सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गर्ने अवसर र चुनौति दुबै सामना गर्नुपर्छ ।
कम्युनिष्ट भनेका क्याडरबेस पार्टी त हो नै, भीडमात्र होइन भनेर पनि देखाउन जरुरी छ । त्यसै पनि नेपालको राजनीतिक परिवर्तन र चुनावी परिणामका कारण नेपाली कम्युनिष्ट आन्दोलनप्रति विश्व चकित छ । अव सुशासन र सम्बृद्धिको लहर चलाएर रातो सूर्य यस्तो हुन्छ भनेर देखाउनुपर्छ । यसका लागि शासनसत्ता र पहुँचवाला सबैमा इमान, निष्ठा र नैतिकताको सवल उदाहरण बनेर देखाउनु आवश्यक छ । प्रतिपक्षीलाई निस्तेज पार्न र कम्युनिष्ट अधिनायकवाद स्थापित गर्नु नेकपाको उद्देश्य होइन, वास्तवमै नेपालको शान्ति, समुन्नति र सुशासनका लागि कम्युनिष्टको उदय भएको हो, जनताले जुन विश्वासका साथ मतदान गरेका छन्, त्यो विश्वास कायम राख्न पनि प्राप्त मतको आदर सम्मान हुन जरुरी छ । तवमात्र एकता र चुनावी विजयको सार्थकता कायम हुनेछ ।
पहिलोपल्ट कम्युनिष्ट नेतृत्वले सरकारी भवनमै सच्चा कम्युनिष्ट हुने सपथ खाएका छन् । यो व्यापार हुनुहुन्न, जनताको अपमान पनि हुनुहुन्न । लोकतान्त्रिक प्रणाली हो, प्रणालीअनुसारको नीतिनियम बनेका छन्, बन्दैछन् । नीतिनियमलाई इमानका साथ लागू गर्ने गराउने जिम्मेवारी नेकपाको काँधमा आएको छ । त्यो जिम्मेवारी पूर्णरुपमा पूरा गर्नुपर्छ ताकि अर्को राजनीतिक दुर्घटना हुन नपाओस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper