banner
banner

राजसंस्थावादीहरु चर्का कुरा गर्नेबाट सावधान

स्वयम्भुनाथ कार्की -
माओवादी विद्रोह कालमा माओवादी पिडित संघका अध्यक्ष मारिए । त्यो पनि संघ कै कार्यालयमा संघ कै सदस्यको हातबाट । माओवादी पिडित संघमा पनि माओवादीका ‘चर’को त्यो स्तरको उपस्थिति रहेछ । नेपालीको भुल्ने वानी छ त्यसैले यो कुरा केही अपवाद बाहेक अरुको सम्झनामा नहोला । विश्वमा आफ्नै अंगरक्षकबाट सांघातिक हमला भएका धेरै घटना छन । केहीमा बाँच्न सफल भएका छन भने धेरैमा ज्यान गुमाएका छन । अर्थात कुनै समुहमा घुसेर त्यसको विश्वासपात्र बनेर तहसनहस पार्ने काम नौलो पनि होईन र अन्तिम पनि होईन ।
राजालाई पाखा लगाउन सफल हुनुमा कतै विश्वास जितेर रहेका त्यस्तैहरुको पनि योगदान त छैन ? यो प्रश्नको उत्तर कसैको आत्मकथाको रुपमा आउन सक्छ केवल समयको फेर हो । सिक्किमको विलयको दोष केवल लेण्डुप दोर्जेले बोक्नु पर्‍यो । तर अहिले त्यो कार्यमा आफ्नो पनि योगदान (?) भएको कुरा सगौरव दावी आउन थालेका छन । भित्र पसेर चर्का कुरा गरेर विश्वास जित्ने अनि सके त्यसको दिशा बदल्ने नसके पंगु बनाउने जिम्मेवारी बोकेका नेपाली समाजमा सहजै सफल हुन्छन् । किनभने नेपाली समाजले कसैलाईै कि त देवता नै बनाउँछ कि दानव । कोही पनि कि त देवता कि त दानव नै हुने गरेर सम्पूर्ण हुँदैन, अपवाद हमेशा देखिदैन । 
राजावादीहरु भनिनेहरु राजालाई पाखा लगाएदेखि नै क्रियाशिल छन् । यो कृयाशिलता उनीहरुको वफादारिता भन्दा पनि जनताको मनमा रहेको राजाप्रतिको आस्थाले जीवित राखेको छ । ४ हजार करिव संख्याको समुहमा रहेका राजावादीहरु झण्डै दश बर्ष भयो उपलब्धी विहिन छन । यो उपलब्धी विहिन हुनुमा जनताको भरोशा नहुनु हो । जनताले जसलाई अलि भरोशा गर्न खोज्छ त्यसै भित्र चर्का कुरा गरेर अलमल्याएर दिग्भ्रमित गर्ने ‘चर’ पस्छन् । यस्ता ‘चर’हरुले चर्का कुरा गरेर समुहलाई सम्मोहित गराउछन र त्यसपछि नष्ट । पछिल्लो उदाहरणको रुपमा राप्रपा नेपाल लिन सकिन्छ । जसलाई त्यो तत्व जनताको विश्वास भन्दा सत्ता ठूलो कुरा हो भन्ने भ्रम दिन सफल भयो, कहिल्यै उठ्न नसक्ने गरेर पछार्न सफल भयो ।
अहिले जतिपनि राष्ट्रवादीहरुको गतिविधि हुन्छ त्यो स्थानमा केही त्यस्ता व्यक्तिहरु प्रभावशाली रुपमा पुग्छन् । एकाएक चर्का कुरा गर्दै विश्वास जित्न सफल यस्ता तत्वहरुको विगत कसैलाई थाहा हुन्न । यस्तले पहिलो प्रहार साथमा मिलेर काम गर्दै रहेकाहरु विचको सम्वन्धमा गर्दछन् । एक अर्कालाई फलानाले तेरो नेता हुन खोज्यो त्यो भन्दा त, के कम भनेर भडकाउछन् । अनि राष्ट्र, राजा मनमा राखेर जीवित रहेका जनतातिर फर्कनुपर्ने राष्ट्रवादीहरुलाई ‘सशस्त्र क्रान्ति’ गर्नु पर्ने, सडक तताउनु पर्ने भनेर बराल्न खोज्छन । यसरी राजावादी वा राष्ट्रवादीहरुलाई जनताभन्दा टाढा लैजाने उनिहरुको कर्तव्य हुन्छ ।
विगत दशौे बर्षदेखि उल्लेख्य काम गर्न नसकेको बोध नभएको पनि हैन । तर त्यसको कारणा आफु भित्र छिरेका यस्तै चरहरु हुन भन्ने ज्ञान नभएको चाहीँ हो । एक पटक स्थिर मनले सोच्ने हो भने विगतका बर्षहरुमा के कस्ता काम गरियो छर्लङ्ग हुन्छ । सडक पनि तताएकै हो, नारा जुलुस पनि गरेकै हो । भाषण गर्न र विरोधीलाई गाली गर्न कहिले पनि थाकिएको हैन । बन्द हडताल पनि गर्न बाँकी थिएन । पार्टी गठन गरेर निर्वाचन पनि लडेकै हो । यहाँसम्म कि आफ्नो विपरित रहेको सत्तामा पनि पुगेको हो ।
एकिकरण र विभाजन सबै गरेको नै हो ।
अब के गर्न बाँकी छ त ? यो भने कहिल्यै सोचिएन, किनभने जुकाजस्तो असफल बनाउन साखुल्ले भएका चरहरुबाट मुक्त हुन सकिएन । आज एक चर चिनेर त्यसबाट छुटकरा पायो अको उग्र क्रान्तिकारी कुरा गर्दै आउँछ । यसले पहिले साथ काम गरेकाहरु बीच विभाजन गर्दछ अनि आफु विश्वास पात्र बन्छ र अर्को असफलताको विउ रोप्न सडकमा उत्रने कर्णप्रिय कुरा गर्छ ।
विगतका बर्षहरुमा राजावादी, राष्ट्रवादीहरुले गर्न छुटाएको कुरा भने जनतासंगको सम्पर्क हो । जनतासंग हातेमालो गर्ने काम ठिक हैन भनेर जनतासंग जान रोक्ने यस्ता चरहरुको प्रमुख जिम्मेवारी हो । यो जिम्मेवारीमा ती चरहरु सफल छन् । त्यसैले हे राजावादी हो,चर्का कुरागर्ने संग सावधान , एक पटक जनतासंग हातेमालो गर्न गएर त हेर । वित्ने केही छैन सडक त फेरी पनि तताउन सकिन्छ । भिषण भाषण गर्ने दिन समाप्त हुन्नन्, विरोधीहरु सुध्रिनेवाला छैनन त्यसैले फेरी पनि गाली गर्न पाइन्छ नै । जनताको नजरबाट उत्रेमा फेरी मौका हुन्न, राप्रपाहरुको हविगतवाट शिक्षा लिन पर्‍यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper