banner
banner

राज्यशक्तिमा वाम नै वाम

शिवप्रसाद सिग्देल -
श्री ३ हुने हो भने ओली, प्रचण्डलाई कसले रोक्छ ? किनभने ७ प्रदेशमा वामको ६ सरकार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसदको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष, ६ मुख्यमन्त्री, ६ सभामुख, ६ प्रदेश उपसभामुख, ३५१ प्रदेश सांसद, २१७ प्रतिनिधिसभा सांसद । एमाले र माओवादी केन्द्र नेकपा भएपछि राज्यशक्तिमा वाम नै वाम भएका छन् । यहीकारण त प्रधानमन्त्री केपी ओलीले भनेका छन्– अर्को चुनावमा दुई तिहाई होइन, तीन चौथाई जितिन्छ । यतिमात्र होइन, गाउँ र नगरपालिकामा पनि वामकै बर्चस्व कायम रहेको छ । यतिबेला न भूतो, न भविष्यति, नेपाल वाममय बनेको छ ।
नेपाललाई रछ्यान बनाउने कि स्वर्ग, वामको हातमा छ । हुन त प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले टेम्पो चलाको होइन, जेट उडाको भनेका छन्, हो, जेटमा २ जना नै पाइलट हुन्छन् । तिनले वामजेटलाई समयमै उडाएर गन्तव्य पुर्‍याउन सके त क्याबात्,तर हेक्का राख्नुपर्ने विषय भनेको जेट टेकअफ गर्दा र लेण्डगर्दा ठूलै सतर्कताको आवश्यकता पर्छ । सानो गल्तीले जेट प्लेनले नोज डाइभ गरेका धेरै दृश्यहरु संसारमा देखिएका छन् । हाम्रो शुभकामना छ– लोकतन्त्रप्रतिको प्रतिवद्धतामा कमी नआओस्, लोकतन्त्रका गरिमा र महिमा, विधिको शासन र समानतामा गल्ती नहोस् । ओली राष्ट्रवादका प्रतिनिधिपात्र बनेका छन्, उनको चुनावी जित र पार्टी एकतामा देखिएको भूमिका पनि त्यही नै हो । आफूलाई कम्युनिष्ट भन्ने ओली र प्रचण्डले चीनमा सीजिन पिङले अपनाएका नीति अपनाउन सके भनेमात्र यिनको जयजयकार होला ।
उही स्वार्थ, उही गुट र उही माफियासँगको सेटिङमा भर पर्ने हो भने डा.बाबुराम भट्टराईले भनेझैं प्रचण्डजीले एमाले माके मिलेर नेकपालाई एच २ प्लस ओ वाटरसँग तुलना गर्दै यो एकता कहिल्यै नटुट्ने कुरा गर्नुभएछ । हाम्रो पनि तथास्तु । तर हेक्का रहोस्, गर्मीले पानी सुक्नसक्छ, त्यस्तै पानीमा विद्युतीय करेण्ट लगाए इलेक्ट्रोलाइसिस भएर हाइड्रोजन र अक्सिन छुट्टिन सक्छ । कामना छ, कुनै भित्री बाहिरी करेन्ट नलागोस् ।
यहाँनेर नारायणकाजीको कथन पनि मननयोग्य छ– यत्रो विशाल पार्टीको नेतृत्व सामान्य कुरा होइन । हामी सामुहिक नेतृत्व, विधि एवं पद्धतिको पालना र संस्थागत कार्यपद्धतिद्वारा पार्टिलाई व्यवस्थित र सुदृढ बनाउन सक्छौं । यसमा सुरुदेखि नै ध्यान दिऔं ।
शक्तिले नेतालाई निरंकूश बनाएका इतिहास छन् । हिटलर पनि चुनावबाटै आएका थिए । तर उनको उत्तराद्र्ध मानव इतिहासमै कलंक बन्नपुग्यो । नेकपाको यो वर्तमान उत्तराद्र्ध नबनोस् किनभने मदन भण्डारीको सम्झना गरेर यो पार्टी गठन भएको छ । लेनिनको भन्दा मदन भण्डारीको सम्झनाका दिन पार्टी गठन हुनु राम्रो पनि हो । मदन भण्डारी नेपाली हुन्, नेपाली माटोका प्रतिनिधि थिए ।
आशा गरौं, मदन भण्डारीले झैं नेपालको माटोमा उभिएर राजनीति गर्न सके भने प्रचण्ड र ओलीले राजनीतिक जेट उडाउन सक्लान् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper