banner
banner

पर्खदै बित्ला कि नेपालै राजन

स्वयम्भुनाथ कार्की -
बहुदल पुनस्र्थापना पछि दलहरुको आपसी लडाई, दल भित्रको खिचोलोले जनतालाई पिरोल्नुसम्म पिरोल्यो । त्यो पिरोलेको घाउमा मल्हम लगाउन कोही अगाडी सरेन । एकै दल भित्र कुन बाबुले सत्ता पाउने र कुन जीले सत्ता छोड्नु पर्ने भन्ने विवाद सामान्य जनताको निमित्त सरोकारको विषय थिएन । तर यस्तै विवादले सामान्य जनतालाई पिर्न शुरु गर्‍यो । बाटोको किनारामा लगाईएका रेलिङ्ग भाँचिन थाले, सडकमा टायर बल्ने दिनचर्या भयो । जनताको निमित्त भन्दा सत्ताको निमित्त बल देखाउन जवरजस्ती गरिएका बन्दमा उपचारस्थलसम्म पनि पुग्न नपाएर सर्वसाधारणको ज्यान जान थाल्यो ।
बित्थाको रडाकोमा आफ्नो भविष्य चौपट हुने छेकछन्द देखेपछि जनता आशाले दरवारको ढोका निहाल्न लागे, तर किन हो कुन्नी दरवारले जनताको त्यो पिडामा तटस्थता देखायो । कच र देवयानीको पौराणिक कथाको विसौं शताव्दिय संस्करणको मञ्चनमा ज्यादा रुची देखायो । वेलाइती राजपरंपरामा जस्तो केवल मान मात्र पाउने गर्न केही नपर्ने सम्मानित संस्था हुन रुचायो । जनताको प्रतिनिधित्व गर्छौ भन्ने दल खोलेका नेताहरुको रुची आफ्नो स्थायित्वमा मात्र भयो । परंपरागत राजसंस्थाले पनि जनताको चिन्ता संवैधानिकताको आडमा गर्न आवश्यक ठानेन । एक वंश नै नाश हुने घटनाको पुर्वानुमान गर्ने र त्यसको निराकरण गर्नेसम्म योग्यता त्यहाँ रहेन भने जनताले गरेको त्राहीत्राही नदेखिने नै भयो ।
समाजमा भएको यो शुन्यता भर्न एक नौलो शक्तिको उदय भयो, कसैलाई भाटा लगाएर, जुवा तासको खाल बन्द गराएर, रक्स्याहालाई तह लगाएर सर्वसाधारण जनताको आशा आफ्नो तर्फ तान्न सफल भयो र यो शक्तिले नै सशस्त्र विद्रोह संभव भयो जसलाई माओवादी जनयुद्ध भनिन्छ । सवै तिरबाट निराश भएका जनताले माओवादीको बन्दुकमा आफ्नो भविष्य देखे भने यसमा जनतालाई दोषरोपण गर्ने ठाउँ पटक्कै छैन । कतिपय प्रभावशाली दलका प्रभावशाली नेताहरुले पनि आफ्नो काम निकाल्न उनिहरुको सहारा लिएका थिए, कतिपय व्यबशायीहरुले पनि आफ्ना प्रतिद्वन्दीहरुलाई तह लगाउन तीनैको सहारा लिएका थिए ।
दलहरुको अन्तरकलह, स्वाथ्र्यलिप्सा र मैमत्तापन सत्ताको नजिक पुगेपछि माओवादीमा पनि हावी भयो । पहिलेदेखि यो प्रवृति थियो र पछि मुखरित भयो वा पहिले नैे विजारोपण भएको हो त्यो भने खोजी कै विषय हुन सक्छ । तर यही सत्तामा पुगेपछि माओवादी अनेकौ चिरामा विभक्त भयो, अनेकौ नाम परिवर्तन गर्‍यो । अन्तमा आफुलाई हिंग भन्ने आफैले हिंग बाँधेको टालोमा विलय हुन पुगेको छ । ‘आतापी वातापी’ जस्तो पेट एमालेको पेट फोडेर निस्कने हो कि एमाले अगस्त्य भएर पचाउने हो । यी सब स्वाङ्गहरुले जनता भन्दैछने ‘जुन जोगी आएपनि कानै चिरेका ’ ।
जनताको घाउमा खाटा बस्नु त कता हो कता बरु उल्टै नयाँ घाउहरु थपिन थालेका छन । नाफा गर्ने चुत्को साउँ समेत फुत्क्यो भन्ने उखान चरितार्थ हुँदैछ । ज्यादा पाउने आशामा गरेका आन्दोलनहरुले भएका रोजगारी पनि फेरी पाउने संभावना नै मेटिएर समाप्त हुँदैछन । समाजमा फेरी अर्को शून्यताको परिस्थिति पैदा भएको छ । त्यो त्रासदी पछि  दरवारले जनता सोच्ने प्रयत्न नगरेको हैन । तर त्यो वेला दरवार आफ्नो अलोकप्रियताका चरममा थियो । त्यसमाथी चाटुकार र जीहजुरी गरेर आफ्नो दुनो सोझ्याउन पल्केकाहरुले खडा गरेको पर्खालबाट बाहिर देख्न सकेन ।
सर्वसाधारण जनताका आशा र आस्था हुँदाहुँदै ‘ हाम्रा तर्फबाट बोलीदिने कोही भएनन ’ भन्दै टिके संसदले घोषणा गरेको र बुख्याचा भरिएको संसदले कार्यान्वनयन गरेको गणतन्त्र स्विकार गर्नु पर्‍यो । केही मुखर विरोधीको समुहको उग्रतामा शान्त समर्थकको शक्ति लुकेको मात्र हो, समाप्त भएको छैन भन्ने कुरा जनताले मौका पाउने बित्तिकै देखाएका छन । आज पाखा पारिएका राजाको स्वागतमा खडा हुने जनता नेपाल बचाउने एकमात्र शक्तिलाई देखेर आएका हुन, कुनै बक्सीसको आशामा हैन ।
त्यसले पर्खदै बित्ला कि नेपालै राजन, नेपालै नरहे कुन राष्ट्रको निमित्त त्याग गर्‍यौ कुन जनताको निमित्त सोच राख्यौ । त्यसैले अब कति सहने, अब त जनताको घाउमा मल्हम लगाउन बाहिर आउ । एकान्तवास तोडेर बाहिर आए ज्ञान हुनेछ बाहिरको संसारले कति व्यग्रताले पर्खेर बसेको छ । बाहिर जनताको सुखदुखको साथी बन्न आउ, जनतालाई अर्को विकल्प खोज्न पर्ने अफ्ठ्यारो नपारौं । अति भो राजन, पुर्खाको गौरव सम्झेर भए पनि बिडा उठाउनु पर्‍यो, एकान्तवास तोडेर बाहिर आउनु पर्‍यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper