banner
banner

लोकतन्त्रमा पञ्चखत माफी हुन्छ र ?

अधिवक्ता गंगा दाहाल -
फौजदारी अभियोग लागेमा सांसद पद रहने कि नरहने, निलम्बनमा पर्ने कि नपर्ने ? यो बहसले संसदमा निकै हल्लीखल्ली मच्चिरहेको छ । संसदको प्रतिध्वनी आमनागरिक समाजमा पनि घन्किएको छ र नागरिक समाज जिब्रो टोक्दै, लोकतन्त्रमा पनि पञ्चखत माफी हुन्छ र ? भन्ने प्रश्न गर्न थालेका छन् ।
एमाले र माओवादी केन्द्र मिलिसकेका छन्, नेकपा नयाँ पार्टी दर्ता पनि भइसक्यो, पुराना पार्टीका नयाँ नामभित्रका सबै शीर्ष नेताहरुले पार्टी पंक्तिलाई स्कूलिङ गरेको भनेको लोकतन्त्रप्रतिको प्रतिवद्धता र बिधिको शासन नै हो । बिधिको शासन हो र आफैले जारी गरेको संविधानलाई सिरानमुनी हालेर न्यायपूर्ण समाजको कल्पना गर्दै सुत्न सकिने राष्ट्रिय दस्तावेजको रुपमा संस्थागत गर्ने हो भने पनि कुनै पनि हिंसा अथवा अभियोगलाई संरक्षण गर्न सकिदैन । हाम्रा न्यायका कुनै पनि सिद्धान्त अथवा हामी बाँचेको समाजले कुनै प्रकारको हिंसा वा अपराधलाई पनि स्वीकार गर्दैन । हामीले खोजेको न्यायपूर्ण समाज नै हो ।
त्यसै पनि समाजमा बलात्कार र घरेलुदेखि राष्ट्रिय तहसम्मका हिंसा बढेर गएका छन् । तस्करी र माफियाकरण, राज्यका प्रत्येक अङ्गमा भ्रष्टाचारीकरण पाकेको बालीमा बाढी पसेर सखाप पारेजस्तो कहालीलाग्दो स्थिति छ । अपहरण,, हत्या, चन्दा आतङ्क, करणी, मानव बेचबिखनमा समेत सत्ताधारी, सांसद र उच्च पदस्थ कर्मचारीहरु सामेल भएका खबर आइरहेका छन् ।
सबैले बुझ्नु र स्वीकार्नुपर्ने सत्य के हो भने हामी संविधानमा बाँधिएका छौं, हामी पहिले देशभक्त हौं । देश र देशको मूल कानुनभन्दा मािथ कोही पनि छैन ।
बिधिको शासनको यही मर्म हो भने फौजदारी अभियोग लागेका सांसद, मन्त्री, प्रधानमन्त्री, जो कोही हुन्, उसलाई पञ्चखत माफी दिने किन ? राष्ट्रका हरेक अपराधी कानुनत: दण्डित हुनैपर्छ, उन्मुक्ति कसैले पाउनु हुन्न । यसमा आमनागरिक आश्वस्त हुनसके भने बल्ल कानुनी राज अर्थात स्वराज छ भनेर भन्न सकिन्छ । सानालाई ऐन, ठूलालाई चैनको जुन निरन्तरता जारी छ, यसमा सांसदलाई पञ्चखत माफीदिनुपर्छ भन्नेहरुले प्रश्रय पाउनु हुन्न, यदि फौजदारी अभियोगमा पनि सांसदहरुले उन्मुक्ति पाउने हो भने अपराधिकरण बढ्छ । हामीले अपराधिकरण र अराजकताका लागि लोकतन्त्रको अभ्यास गरेका होइनौं । राष्ट्रियता, प्रजातन्त्र र विकासको जग भनेकै कानुनी शासन हो । यो नबिर्सौं ।
राजनीतिक नेतृत्वको अपराधिकरणले स्थापित बिधि र हामीले लिएको लक्ष्य हासिल गर्न अवरोध खडा गरिदैछ । चाणक्यले भनेजस्तो राजनीति उत्तम समाजसेवा हो र राजनीति मुनाफाखोर व्यापारिकरण होइन भने मुहान सफा पार्नैपर्छ, राजनीतिको मुहान संसद र सरकार हो । संसद र सरकार स्वच्छ भए सुशासनका माध्यमबाट हामीले खोजेको सम्बृद्धि हासिल गर्नसक्छौं ।
कुनै पनि प्रकारका कानुनविपरितका कामकारवाहीमा निर्मम हुनुपर्ने संसद र सरकारले नै हो । कानुन निर्माता नै कानुनबाट छुट माँग्छ, हामीलाई कानुन लाग्न हुन्न भन्ने मनस्थिति पाल्छ, आफूलाई भ्रष्टाचारमा गाल्छ भने त्यस्ता सांसदहरु यथार्थमा देशका दुश्मन हुन् । तिनीहरु लोकतन्त्र मास्न र देशमा कूशासन ल्याउन खोज्छन् भन्दा फरक पर्दैन । राजनीतिमा लाग्नु भनेको राजनीतिक प्रभाव र दबाबी अस्त्र चलाएर मनलागी गर्न पाउने छुट होइन । राष्ट्रलाई घात गर्ने, जनतामा घृणा उत्पन्न गराउने कानुन बनाउने किन सांसद उत्ताउला बनेका ?
कानुन कडा बन्नुपर्छ, कानुनको अभ्यास पनि कडा तरिकाले नै हुनुपर्छ । भनिन्छ, भय बिना प्रित नही । भय नै नभएपछि त पहुँचवालाहरु भयरहित अर्थात झिंझाका डाँका चरित्रतिर लागिहाल्छन् नि । एमाले, माओवादी केन्द्र मिलेको देशको मुहार उज्यालो पार्न, देशभित्रका फोहर सफा गर्न र जनताको सेवा गर्ने सेवक हुँ भन्ने अन्तर्य हो भने बिधिको शासनमा उभिनैपर्छ ।
यद्यपि राज्य र नेकपाक नेतृत्व तहले बिधिभन्दा माथि कोही नभएको र गफ गर्ने फुर्सद नभएको बताएका छन् । अव सम्बृद्धि सुरु भएको अनुभूति हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper