banner
banner

म ओलीमा महाथिर खोजिरहेछु

गंगा दाहाल -
मलेसियाको आमनिर्वाचन, मलेसियाका फादर अफ नेशन मानिएका महाथिर मोहमद आफूले बनाएको पार्टी छाडेर नयाँ गठबन्धनबाट चुनाव लडे र आखिर उनलाई जनताले फेरि सत्ताको साँचो सुम्पिदिए । ९२ वर्षका महाथिरले चुनाव जितेपछि भने– म ज्यूँदै छु । एउटा राजनेता जसले मलेसियालाई सम्पन्न मलेसिया बनायो, उसको आवश्यकता जनताले आवश्यक ठाने र उनलाई फेरि पनि चुनाव जिताए । दक्षिणपूर्वी एसियाली मुलुक मलेसियाको सूर्य आश्चर्यजनक रुपमा उदायो ।
१९५७ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको मलेसियाको दुर्गतिको सफाइका लागि यिनै महाथिर १९८१ मा उदाएका थिए र २००३ सम्म सत्तामा बसे । बरिसन नेशनल पार्टी स्वतन्त्र भएदेखि गत विहीवारसम्म सत्तामा थियो, केन्द्रविन्दुमा रहेका महाथिरले मलेसियालाई अझ सम्पन्न बनाउने जिम्मेवारी उठाए । मलेसियाली जनतामा फेरि खुशीयाली छाएको छ । आफूले राजनीतिमा डोर्‍याएका नाजिव रजकले गलत बाटो समातेपछि २ वर्षअघि अलग भएका महाथिरले जनताको मन जिते, आधुनिक मलेसिया बनाउने महाथिरले सम्पन्न मलेसिया बनाउने भए ।
महाथिर डाक्टर हुन्, फेरि पनि देशको विमारी जाँच्ने जिम्मा पाएका छन् ।
देशका पिता, मुस्लिम मलायका मसिहा, भन्नेले निरंकूश भन्छन् तर मलेसियाली महाथिरलाई पूजा गर्छन् । उनले कहिल्यै विभेद गरेनन् । यद्यपि उनीमाथि मानव अधिकार उल्लंघन गरेको, न्यायपालिकाको अपमान गरेको, विपक्षीलाई जेल हालेको, जातीय विभाजन ल्याउने नीति ल्याएको आरोप लगाउनेले लगाइरहेका छन् ।
यतिबेला म मेरो देशका प्रधानमन्त्री केपी ओलीमा महाथिरको छवि छायाँ खोजिरहेको छु । महाथिर सम्पन्न र आधुनिक मलेसिया बनाउन ९२ वर्षमा पनि कम्मर कसेर उभिएका छन्, म केपी ओलीले पाएको लोकमत नेपालको सुशासन, समृद्धिको सपना साकार पार्नमा सफलता हासिल होस् भन्न चाहन्छु । यद्यपि समस्या अनेक छन्, समस्याको खोरियामा नअलमलिईकन केपी ओलीले नेताबाट राजनेता बन्ने इमान र निष्ठा देखाउने हो भने नेपालको कायापलट हुनसक्छ । जनताले जनमतको जनबल जुन दिएका छन्, त्यो बरदान सावित हुनसक्छ ।
नेपाल पनि बहुजातीय समाज छ, बहुभाषिक र अनेकतामा छ र त्यही अनेकतालाई विशेषता बनाउन केपी ओलीले सफलता हासिल गर्नसक्नुपर्छ, आम जनमानस यतिबेला ओलीको ओजन प्रभावशाली भएको हेर्न चाहन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper