banner
banner

बिराटनगरमा भारतीय झण्डा

शिवप्रसाद सिग्देल -
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदैछन्, यो खुशीकै कुरो हो । यद्यपि महिनादिन अघि नेपालका प्रधानमन्त्री दिल्ली पुगेर फर्केकाले तत्काल सल्टाइहाल्नुपर्ने समस्या छैनन् भन्ने बुझिन्छ । तथापि जनकपुर र मुक्तिनाथसम्म जाने मोदीको आवरण योजनाले उनको यो भ्रमण धार्मिक भन्ने बुझ्न सकिन्छ ।
तथापि धार्मिक भ्रमण भन्ने पञ्चेश्वर, अरुण तेश्रोको शिलान्यास गर्ने तैयारी के हो यो सब ?
कोशी हाइड्यामका बारेमा पनि दुई प्रधानमन्त्रीवीच कुरा हुने एजेन्डा रहेछ, अहिलेसम्म मोदीको कार्यक्रमबारे नेपाल सरकारले चुँइक्क बोलेको छैन । किन ?
जनताले थाहा पाउनु पर्दैन ? कि जसरी राष्ट्रपति, प्रधानमन्त्रीको भारत भ्रमणको मिति दिल्लीले तय गर्‍यो र अहिले मोदी आउने कुरा पनि दिल्ली एक्लैले तय गरिदियो, कतै मोदीको नेपाल भ्रमणको कार्यक्रम पनि दिल्लीलाई मात्र थाहा छ कि कसो ?
यतिमात्र होइन, संघीय संसदमा मोदीले संवोधन गर्ने कार्यक्रमसमेत तय भएको सुन्नमा आएको छ । नेपालको सार्वभौम संसदमा भारतका प्रधानमन्त्रीले संवोधन गर्ने कुरा प्रत्येक नेपालीले थाहा पाउनुपर्छ, नेपालले के के कुरा मोदीसँग गर्नुपर्ने हो, स्वागत राष्ट्रिय स्तरमा गर्ने कि २ नम्बर प्रदेश स्तरमा त्यसको किटानी पनि हुनुपर्ने हो । र, विराटनगरस्थित अनावश्यक भारतीय सम्पर्क कार्यालयको भारतीय झण्डा फहराएको यो झण्डा हटाउने कुरा पनि नेपालको एजेण्डामा राखिनुपर्छ ।
भनिन्छ, मोदीले ठूलै आर्थिक प्याकेज लिएर आउँदैछन् । प्याकेज आउनु ठिक होला तर रहस्यमय तरिकाले प्याकेज आउनुले कतै त्योभन्दा ठूलो प्याकेज नेपालको स्रोत साधन दिएर चुकाउनु पर्ने त होइन ? संशय धेरै छ ।
स्मरणीय के पनि छ भने नेपालले पटक पटक यो सम्पर्क कार्यालय हटाउन आग्रह गरेको छ र हालैमात्र विप्लव माओवादीले यो भवनमा बम बिस्फोट पनि गराइसकेको छ । यसको अर्थ नेपाली अनावश्यक रुपमा भारतीय झण्डा फहराएको मन पराइरहेका छैनन् । यो सरकार जनताको सरकार हो, जनताको मनोभावना यो सरकारले बुझ्न र जनअपेक्षाअनुसार निर्णयमा पुग्ने प्रयत्न गर्नुपर्छ । ताकि जनतामा सरकार छ भन्ने अनुभूति हुनुपर्छ । अन्यथा सरकार हुनु नहुनुको के अर्थ रह्यो र ?
अचम्म त के पनि छ भने २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री बनेकै दिन आएको अतिवर्षा र बाढीले ठूलै समस्या खडा गरेपछि उद्यमी व्यापारीमार्फत समेत आग्रह गर्न लगाएर भारतले विराटनगरमा यो सम्पर्क कार्यालय खोल्न लगाएका थिए । आज ती आग्रह गर्ने व्यापारी उद्यमी भारतीय झण्डा सहितको कार्यालय बन्द गराउन बोल्दैनन् ।
नेपालको सम्मान गर्न र विकास निर्माणमा सघाउँदै दुई देशवीचको सम्बन्ध सामान्यकरण र सुधार गर्ने एजेण्डासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । यो अवसरमा किन नेपाल भारतवीचका सीमा अतिक्रमणदेखि जुनसुकै विषयमा पनि भारतीय हस्तक्षेप हुने गरेका कुराहरु राखेर सरकारले जनताको मनको तुषको थाहा नदिने ?
सरकारको कर्तव्य हो, देश र जनताको आवश्यकता परिपूर्ति गर्नु । यदि यो सरकार स्वाधीनता र सार्वभौमिकतामा उभिएको छ भने जे जति जोखिम र खतराहरु छन्, असन्तुष्टि छन्, हल खोजिनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper