banner
banner

प्रहरीको व्यवसायिक बन्ने पाइला

पदम हमाल -
आजीपी खनालले कसेको धम्की, डर, त्रासमा पर्नु पर्दैन, निडर भएर ड्यूटी गर्नु भनेपछि नेपाल प्रहरी अव राजनीतिक हतियार बन्नुभन्दा पनि व्यवसायिकतातिर पाइला सार्न थालेको अनुमान गर्न सकिन्छ । यसको कारण राजधानीका एसएसपी विश्वराज पोखरेलले थालेको अपराधिकरणविरुद्धको अपरेशनले पनि पुष्टि गरिरहेको छ । त्यसो त सुन प्रकरणमा प्रहरी पक्राउ पर्नु र मुछिदै जानुले प्रहरीको छवि नराम्ररी धमिलिएको छ ।
तर अहिलेको प्रहरीको नेतृत्व र कर्तव्यमा जुटेका प्रहरी अधिकारीहरुले देखाएको सक्रियताले अपराधीकरणको सातो गएको हुनुपर्छ ।
महानगरीय प्रहरीले त गुण्डागर्दीमात्र होइन, कोठी सञ्चालन गर्नेदेखि ड्रगिष्टहरुलाई समेत भागाभाग पार्ने हर्कतमा आएको छ । प्रहरीको यस्तै सक्रियताले कानुनव्यववस्था सही तरिकाले चल्ने हो । प्रहरी जनतामैत्री बन्न थालेको यो स्थिति अझ मजबुत हुनुपर्छ । प्रहरी भन्ने बित्तिकै तर्सने, अनावश्यक दु:ख दिने निकाय हो भन्ने भ्रम बिस्तारै हट्न थालेको छ । नेतृत्व काविल भएपछि सकल दर्जा र हरेक इकाईमा काविलियत आउँछ भन्ने कुरा आइजीपी र महानगरीय प्रहरी वृत्तका एसएसपी विश्वराज पोखरेलले देखाएका छन् ।
यसैवीच गृहमन्त्रीले समेत लागूऔषधदेखि अपराधिक कार्यमा लागेका विरुद्ध एक्सनमा उत्रिन आदेश दिएपछि नेपाल प्रहरीमा व्यापक सक्रियता आएको छ । हुन पनि समाजमा लागूऔषधदेखि हिंसाका घटनाले सामाजिक संरचना नै खलबलिन थालिसकेको छ । सुन तस्करीको जालो जसरी बाहिर आएको छ, त्यसरी नै अपराधका सबै जाल सञ्जाल भत्काउन प्रहरी तातेको छ, यस्तै सक्रियता राजधानीदेखि देशभरि देखिन जरुरी छ ।
मन्त्री अपराधविरुद्ध भण्डाफोर अभियान ल्याउन निर्देशन दिने, प्रहरी त्यही निर्देशनको पालनामा जुटेको देखिनुले अपराधीहरुको सातो जान थालेको छ । लहरो तान्दा पहरो गर्जने स्थितिलाई प्रहरीले सामान्य रुपमा लिन सक्यो भने अपराधको जरो उखेलिन सक्छ, हेरौं प्रहरीको यो सक्रियता कतिसम्म अघि बढ्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper