banner
banner

ओलीमाथि देउवाको प्रश्नचिन्ह

शाश्वत शर्मा -
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने कुरा छ । कतिपय आलोचकहरुले नेपालद्वारा नरुचाइएको भ्रमण भनेर भनेता पनि चीन भ्रमण गरे लगत्तै नेपाल भ्रमण गर्नुलाई नरेन्द्र मोद्यीको खास रणनीति भन्ने पनि बताइदैछ । त्यसो त, चिनियाँ खेमामा गएको भनी कतिपय भारतीय मिडियाहरुको आरोपलाई नेपालका वर्तमान प्रधानमन्त्री केपी ओललिे भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बेला त्यस आरोपमा सुधार गर्न नखोजेको होइन । कोशी उच्च बाँध, भारतीय रेलहरु, चिनियाँ खेमामा गएको भनी आएको आरोपको बदलामा भएको सुधारसमेत भनी एकथरि चिन्तकहरुले भन्दै आएका छन् । त्यसो त खाली आलोचना मात्र गरेर पनि हुँदैन । क्षिमेकी बदल्न सकिदैन । मित्रवत व्यवहार गर्दै जानु पर्छ पनि । केही हदसम्म सही हो । तर कतिञ्जे र कतिसम्म सहने थिचोमिचो ? भन्ने पनि सँगै जोडिएर आउँछ । सडकमा हुँदा राष्ट्रवादी नारा दिने राजनीतिक दलहरु सत्तामा पुगेपछि त्वम्शरणम् को अवस्थामा पुग्छन् भन्ने पनि देखिदै आएको हो ।
पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले भारतीय नाकावन्दी झेलेर राष्ट्रवादी अडान पेश गरेकाकोमा अहिले भारत भ्रमणमा जाँदा लम्पसारवादतिर लम्किएको शेरबहादुर देउवाजस्ताले समेत आरोप लगाएका छन् । अर्थात यहाँ सबै नक्कली देखिदैछन् । यहाँ अडान खाली मोलमोलाईका लागि लिइने गरिएको छ । त्यसो त, भारतीय पक्षलाई हुनेगरी गरिने सन्धि सम्झौता र सहमति नेपालका सर्वसाधारणहरुले समेत सामान्यरुपमा लिने गरिसकेका छन् । भारतीय स्वार्थशिद्ध हुनेगरी गरिउका असंख्य सन्धि सम्झौताहरु अव नेपाली जनतालई दुख्न छाडिसकेको देखिन्छ ।
टनकपुर सन्धि हुँदा सडकमा ओर्लिएका जनता त्यसपछिका सन्धि, सम्झौतामा यस्तै हो भन्दै चूपचाप बस्न थालेको देखिन्छ । अरु त अरु, भारतीय पक्षले सीमा मिच्दा, सीमामा नेपालीको ज्यानै लिदासमेत सम्बन्धित क्षेत्रका जनतामा कराउने, उफ्रने गरेका छन् । तर काठमाडौंलाई त्यो दुख्दै दुखेन । सिरियाको नरसंहारमा माइतीघर मण्डलामा मैनवत्ती बाल्ने राजधानीवासी नेपालीहरु कञ्चनपुरदेखि पर्सा, मेची सम्मका ३६ हजार हेक्टर जमिन भारतले मिचिसक्दा पनि चुँइक्क बोल्दैनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । प्रदेश २ को राजधानी जनकपुरमा छुट्टै नागरिक अभिनन्दन गरिदैछ । थाहा भएकै कुरा हो, प्रदेश २ का नेपाली नागरिकताधारी सत्ताका सञ्चालकहरुले कतिसम्म गिरेर काठमाडौं र पहाडियालाई गाली गर्दै श्रीमान नरेन्द्र मोदी र भारतको चाकडी गर्ने हुन् ? त्यो सम्झिदा समेत कन्सिरीको रौं तातिएर आउँछ । एकथरि बुद्धिजीवीहरु चाहिं नागरिक अभिनन्दन जनकपुरमा किन ? अभिनन्दन सातै प्रदेशमा गरे पनि हुन्छ । मात्र नेपालका सीमाबारे, समस्याबारे, हस्तक्षेपबारे कुरा उठ्नुपर्‍यो, त्यसो नगर भनेर नेपाली माटोमा उभिएर भन्नसक्नुपर्‍यो ।
पञ्चायतकालमा पनि नागरिक अभिनन्दन गर्ने र नगरको साँचो नै दिने परम्परा बसालिएको थियो । त्यो काम राजधानीमा हुन्थ्यो र यसको लगत्तै भारतीय हस्तक्षेप सुरु भइहाल्थ्यो । अहिले त प्रदेश प्रदेशमा अभिनन्दन गर्ने र नेपाली नेता कमारा बन्ने अभिनय गर्नेवाला छन् । यसपटकको जनकपुर अभिनन्दन नेपालमा बहुल राष्ट्रवाद छ, मधेस अलग हो भन्ने सन्देश दिन खोजिएको अर्थमा पनि हेरिएको छ । जुन सबैभन्दा बढी आपत्तिजनक छ । संविधानले मुलुकको अस्तित्वमा कसैले पनि प्रश्न उठाउन नपाउने भनिएको छ । तर प्रदेश २ ले भाषाभेषमा विभेद झिकिसकेको छ र अभिनन्दन हिन्दीमा भाषामा गर्ने भनिदैछ । मुलुकको स्वाभिमान, स्वनिर्णय गर्ने अधिकार रक्षाका लागि संविधानकै उल्लंघन गरिने ? नेपाली फुटाउने र बिखण्डनको बीउ रोप्ने तैयारीको एक अंश अभिनन्दन हुनगयो भने कसैले नबोल्ने ? सरकारले तमासा हेर्ने ? संविधानको पालनामा नेपाल सरकारको कर्तव्य के हो ?स्वयम् भारतका सर्बशक्तिमान प्रधानमन्त्री नेपाल आउँदैछन् भने किन सीमा अतिक्रमण नगर नभन्ने ? यति महत्वपूर्ण घडीमा नेपालका पीडा, भारतले दिएका दु:ख, नेपालका अधिकारका बारेमा कुरा नउठाउए कहिले उठाउने ? प्रम ओली भारत गएर चुप्पी साधेर सम्बन्ध सुधार भयो भन्ने हल्ला गर्दै आए, महिनादिनभित्रै भारतीय प्रधानमन्त्री थप सुधार गर्न आउन लागेका हुन् कि नेपालका थप स्वाधीनतालाई निचोर्न आउन लागेका हुन् ? मुलुक किन कसैलाई दुख्दैन ?
नेपालका मिचिएका भूमिका कुरा उठाउ, सुगौली सन्धिमा मिचिएका भूभागबारे कुरा उठाउ, सीमामा भारतले बनाएका राजमार्ग, बाँध, पुलपुलेसा, बस्तीका बारेमा कुरा उठाउ भनेर एकथरि आक्रोसित हुनथालेका छन् । पहिले मुलुक हुनुपर्‍यो, त्यसपछि व्यापार, उद्यम, लगानी, उत्पादन र निकासीका कुरा आउने हुन् । पहिलो सवाल नेपालको सार्वभौमिकताको रक्षा हो । नेपाल नै नरहे के का अरु कुरा ? बिस्तार बिस्तार नेपालजति भारत भइसकेपछि केको व्यापार ? 
हालैका दिनमा पश्चिमका पुनर्वास नगरपालिकामा नेपाली भूभागमै आएर भारतीय सीमा सुरक्षा बलले नेपालको हुर्मत लिने काम गरेको छ । कतिपय सीमा स्तम्भ उखेलेर फालेका छन् । योभन्दा गम्भीर विषय भारतले नेपालको विकासमा ससानो सहयोगको हुनसक्दैन । एकचिम्टी दिएर दुबै हातले नेपाल सोहोर्ने बानी परेको छ भारतलाई । भारतको यो बानीमा रोक लगाउन नसके केपी ओलीको राष्ट्रवादमाथि देउवाले उठाएको प्रश्नचिन्ह जायज हुनपुग्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper