banner
banner

राजावादीको जोश महात्माहरुको फलिफाप

स्वयम्भुनाथ कार्की-
बडामहाराजाले मुसलमानलाई अपनाएर सेनाको कम्पनी बनाए । शक्तिपिठहरुका मगर पुजारीको हातबाट देवीको प्रसाद लिए । जीवित देवी कुमारीसंग खड्ग साटे, उनको पुजा गरे । चाँगुनारायणको झण्डालाई अपनाए । अर्थात नेपालमा एकिकृत भएका सबै सम्प्रदाय परम्पराआदलाई एके रुप दिए । भने ‘मेरा साना दुषले अज्र्याको मुलुक होईन, सबै जातको फुलबारी हो । सबैलाई चेतना भया । यो फुलबारीको छोटा बडा चारै जात छत्तीसै बर्नले सम्हार गरे’ । उनले भनेका चार जात हिन्दुका ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र हुन् भने छत्तीस बर्न भनेका ती जातले नसमेटिनेहरु हुन्, जो आजकल आफुलाई  अहिन्दु भन्ने गर्दछन् ।
सिन्दु नदी पारीकाले हिन्दु भनिएकाहरु जो वास्तवमा सनातनी हुन उनीहरुको नेपालमा बाहुल्यता छ । यो सही कुरा हो । हिन्दु भनाइनेहरुको सबै शास्त्रहरु मध्ये कुनैमा पनि हिन्दु शव्द नै छैन । हिन्दु भनिने यही सनातनको पनि वैदिक हाँगोले भन्छ ‘वसुधैव कुटुम्वकं’ । अर्थात सम्पूर्ण ब्रम्हाण्ड नै कुटुम्व हो । हिन्दु भनिएको सनातन सर्वधर्म समभावको आधारमा रहेको छ । अर्थात ‘कुकुरले खुट्टा टोक्यो भने कुकुरको खुट्टा टोक्ने’ तर्क हिन्दुहरुमा सर्वथा अमान्य छ । आधुनिक नेपालमा यसका निर्माताहरुले अआफ्नो कुलधर्म मानेका छन । साथसाथै अन्य सबैलाई समान व्यवहार पनि गरेका छन ।
पृथ्वीनारायण शाहले केपुचीन पदारीलाई घर्मको कारणले भन्दा घर्मको आडमा मुलुक हडप्ने षडयन्त्र गरेको कारणले देश निकाला गरेका थिए । नेपाल इसाईहरुको निमित्त निषेधित कहिल्यै भएन, इसाई मात्र हैन कुनै पनि सम्प्रदायको निमित्त निषेधित भएन । कुनै जातजातिको निमित्त निषेधित पनि भएन । यसै कारणले आजको नेपालमा संसारका सबै धर्मसम्प्रदायका अनुयायी भेटिन्छन् । एकल जातको हालीमुहाली भनेर जति फलाके पनि सवासय भन्दा धेरै जातिको आफ्नो परिचय कायम छ । नेपालमा जजिया कर समान कुनै कर लागेन । बरु इश्लामीहरुलाई मक्का मदिना दर्शनमा निरन्तर साथ दियो । पञ्चायतकालमा पनि चर्च अनि मिसनहरुले नेपालका कुनाकाप्चामा अस्तित्व देखाए । निषेध केवल कसैले पनि आफ्नो कुलधर्म परिवर्तन गर्नमा वा गराउनमा हो । 
यो नेपालको परम्परा हो, यो शाहवंशको उत्ताराधिकार हो, स्वभाव हो । नेपाल जति हिन्दु भनिने सनातनीका चार जातको हो त्यति नै अहिन्दु भनिने छत्तिस बर्णको पनि हो । आधुनिक नेपाल बनाउन जति मुर्तिपुजक, प्रकृतिपुजक, पुर्खा पुजकको योगदान छ त्यो भन्दा कम नमाजीहरुको छैन । त्यसैले शाहवंशले हमेशा नेपाल भनेको नेपालको भुगोल मात्र मानेन यसका समग्र जनतालाई पनि नेपाल नै मान्यो । यो कुरा पाखा लगाईएका राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट पनि हमेशा प्रकट भएको छ । नेपालको खण्डिकरण भनेको भूगोलको खण्डिकरण मात्र हैन नेपाली मनहरुको खण्डिकरण पनि हो । यो कुराको राजगद्दीमा बसेदेखि हालसम्मका हरेक अभिव्यक्तिमा आएका छन् । प्रतिविम्बित भएका छन् ।
राजसंस्थाप्रति समर्पित भन्नेहरु राजावादी नै हुन् । यसमा संशय गर्नुपर्ने कुनै कारण छैन । हो उनीहरु अहिले कुहिराको काग भएका छन् । उनीहरुको अतिजोश कहिले सडकमा पोखिन्छ, कहिले भाषणमा । अरुलाई जति गाली गर्‍यो त्यति भक्ति प्रकट हुने ठान्छन् । हिन्दुधर्मका ठेकेदारहरुको विना मूल्यको कर्मचारी हुन कर्तव्य ठान्छन् । यो सबै राजसंस्था पुर्नस्थापना गर्न उनीहरुले गरेको मेहेनत तथा लगन हो । हिन्दुधर्मका ठेकेदार पनि यो अवसरलाई आफ्नो अनुकुल प्रयोग गर्दछन् । जव केही हासिल गर्दछन्, भन्दछन् ‘मलाई राजा चाहिएको हैन, त्यो त हुनै हुँदैन । मैलेत केवल हिन्दुराज्य भनेको हो ’।  अनि हिजो उनीहरुको निमित्त अहोरात्र खट्नेहरु कोही गाली गर्न थाल्छन् त कोही गुरुले यसो त पक्कै भनेको हैन भनेर वचावट गर्न थाल्छन् । यो क्रममा मूल कुरा भाँडिन्छ, कुना लगाईएका राजा देशको निमित्त गर्नुपर्ने शक्ति अलमलिएकोमा दु:खी हुन्छन् । यसरी एक चक्र पुरा हुन्छ, केही समय पछि अर्को चक्र शुरु हुन्छ । यो अनन्तसम्मको गोल चक्करको हरेक चक्रमा नेपालको साप्रदायिक सदभाव चर्किन्छ, नेपाली नेपाली बीच थप दुरी बढ्छ । एकले अर्कोलाई गर्ने गालीका शव्दावलीमा केही थपिन्छन् । राष्ट्र विखण्डन तिर एक पाईला बढ्छ । को को छ त यसमा दोषी ? विदेशी र उनीहरुका मतियार त हुने नै भए । तर के राजा, राजावादी अनि राष्ट्रवादी दोषी चोखा छन् त ? राष्ट्रवादी या राजावादी शक्तिलाई कुहिराको काग हुन दिनु के मुलुकको भलो गर्नु हो त ? पक्कै होईन, यो दोष भोलीले त्यसलाई पनि दिन्छ जसले यो शक्ति नियन्त्रण गर्न सक्ने थियो तर गरेन । भन्न आवश्यक नहोला त्यो केन्द्र भनेको पूर्वराजा नै हुन् । भीष्म चुप लागेर बस्दा महाभारत रोकिएन । राजन मुलुक बचाउने हो चुप बसेर हुन्न । अहिले नउठे कहिले उठ्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper