banner
banner

सीमा पुननिर्माण हेर्ने कसले ?

शिवप्रसाद सिग्देल -
भारतले ६० हजार हेक्टर भन्दा बढी नेपालीभूमि अतिक्रमण गरीसकेको छ र ७१ ठाउँमा सीमा विवाद छ । यो बाहेक अन्तर्राष्ट्रिय कानुन मिचेर भारतले सीमा क्षेत्रमा बाँध, पुल, पुलेसा, राजमार्ग, बस्ती निर्माणसमेत गरेका अनेक घटनाहरु छन् । यसबारेमा हालै प्रधानमन्त्री ओली भारत भ्रमणमा गए, कुराको उठान नै गरेनन् ।
अव भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मे ११ मा नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । उनी जनकपुर, लुम्बिनीलगायतका तीर्थयात्रामा पनि जाने भनिएको छ । तीर्थयात्रा गरुन्, सम्बन्ध सुधार पनि हुनुपर्छ । प्रश्न के हो भने नेपाल भारतवीचका सीमा र सीमामा हुने गरेका ज्यादति, १९५० को सन्धिको समसामयिक सुधार वा नयाँ सन्धि नभएसम्म भारतका प्रति नेपाली सशंकित भइरहनेछन् र नेपालीमा बढेको घृणाभावमा कमी आउने छैन । भारतले बुझ्नुपर्छ, नेपालले बुझाउन सक्नुपर्छ ।
यति नै बेला कञ्चनपुरको पुनर्वास नगरपालिकाको सीमा क्षेत्रमा मुख्य सीमा स्तम्भ नेपाल भारत संयुक्त टिमले पुनर्निर्माण गर्न थालेको खबर छ ।
त्यो पुननिर्माणमा राज्यको आँखा परेको छ कि छैन । कर्मचारी खटाउने र कर्मचारीलाई भारतीय पक्षले लोभलालचमा पारेर नेपालमाथि अन्याय गरेका अनेक बिगतका उदाहरणहरु छन्, त्यसैले भएका विवादमा सुल्झाउने कुरा छँदैछ, नयाँ विवाद नआउने गरी सीमा स्तम्भ ठीक ठाउँमा निर्माण गर्न नेपालले विशेष ध्यान दिन जरुरी छ । पुराना विवादमा नयाँ विवाद नथपियोस्, काविल र माटोप्रति कर्मचारीको मायाँ कम भएका दृष्टान्तले यति लेख्न बाध्य भएको हो । जति पनि सीमा स्तम्भ नयाँ बनाइए, त्यसमा जंगे पिलरभन्दा नेपालतिर धेरै गाडिएकाले नेपाली भूभाग भारततिर परेको सीमाविदहरुको ठहर छ ।
यही क्षेत्रमा हो गोविन्द गौतम मारिएको । भारतीयले सीमा अतिक्रमण गर्न खोज्दा गर्न नदिने भनेर अड्डी लिएका गोविन्द गौतमलाई भारतीयले मारिदिए, नेपालले किन भनेर प्रश्नसम्म सोध्न सकेन, मात्र १० लाख लगेर दियो । यसरी सीमा समस्या समाधान हुनसक्देन, पैसाले सीमा मिच्न दिने हो भने नेपाल सरकार किन चाहियो ?
मुख्य आधार भनेकै जंगे पिलर हो । भारतीयले जंगे पिलर उखेल्ने, फाल्ने, नेपालतिर अतिक्रमण गर्ने गरेकाले सीमा समस्या बढेर गएको हो । पुराना समस्यालाई नापीका पुराना नक्साबाट हल गर्ने र नयाँ समस्या आउन नदिन विशेष ध्यान दिन जरुरी छ ।
पुनर्निर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा यहाँको डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ (७५३) नयाँ निर्माण प्रारम्भ गरिएको नापी सर्वेक्षक पूर्णबहादुर खड्काले बताएका छन् । यसअघि पनि सोही सीमा स्तम्भ नजिकै रहेको सहायक स्तम्भ ७५२/२ को निर्माण भइसक्यो भनिएको छ । ती सीमा स्तम्भ सही छन् कि नेपालतिर मिचिएको छ, केन्द्रले निरीक्षण गर्नुपर्ने होइन र ?
नेपाली प्राविधिकको नेतृत्व क्याम्प अफिसर सुदर्शन धामीले गरेका छन् भने भारतीय टोलीको नेतृत्व क्याम्प अफिसर आरबी भट्टले गरेका छन्, धामीका अनुसार अतिक्रमण हुन दिइएको छैन, हुँदैन ।
यतिमात्र होइन, यस क्षेत्रका जीर्ण भएका अन्य स्तम्भहरु पनि पुनर्निमार्ण गर्दै जाने योजना छ । यो कार्यलाई नेपाल प्रहरी, सशस्त्रले सहयोग गरेको छ भने भारतीय सीमा बलले पनि सुरक्षा दिएको छ । तर, प्रश्न सुरक्षा दिएको भन्दा पनि गलत ठाउँमा, नेपाली भूभाग मिचिनेगरी सीमा स्तम्भ नसारियोस् भन्नेमा चनाखो हुन जरुरी छ । १८१६ को सुगौली सन्धिपछि जति भूभाग गुमायो, त्यसपछि १९५० पछि निरन्तर भारतले बचेको नेपाली भूभागमा पनि अतिक्रमण गर्दै लगैको छ, यो आपत्तिजनक छ । सरकारले सीमारक्षामा विशेष हेर्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper