banner
banner

फेरि सन्देश आयो पूर्वराजाको

धर्मरत्न श्रेष्ठ -
जब पूर्वराजा कतै जान्छन्, राजनीतिमा तरङ्ग आउँछ । पूर्वराजा मन्दिर जाउन् कि विदेश, राजनीति चलमलाउँछ । पूर्वराजाले केही बोलिहाले भने पनि राजनीतिमा हडकम्प मच्चिन्छ तर परिवर्तन केही पनि हुन्न । किन ?
किनभने गठेमंगलमा हानेजस्तो घुयत्रोले ढुंगामूढा हान्नुपर्छ, सडकमा टायर बालेर जुलुस निकाल्नुपर्छ, विदेशीको घूसपैठ र स्वदेशी उफ्रनु उफार्नुपर्छ अनिमात्र यो देशमा राजनीतिक परिवर्तन हुन्छ । पूर्वराजा बोल्छन्, बोलेर कसले सुन्ने ?
देशको नेतृत्व लिन तैयार छु भनेको कसैले सुनेनन् । २०६३ साल वैशाख ११ गते गरेको राजनीतिक सम्झौता खौई भनेर सोध्दा कुनै नेता बोल्दैनन् । सबैलाई पाएको सत्ता प्यारो, अवसर जाति । नैतिकता र जिम्मेवारीको भो कुरा नगरौं ।
नयाँ वर्ष २०७५ को उपलक्ष्यमा पूर्वराजाले शुभकामना सन्देश दिए । सन्देशमा भनिएको छ– ‘नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, विक्रम सम्वत् २०७५ को शुभागमनको उपलक्ष्यमा आदर्श र अठोटबाट प्रेरित यो मुलुकको एकीकरण गरी जीवन्त राख्ने ती महान् व्यक्तित्वहरूको स्मरण गर्दै म स्वदेश तथा विदेशमा रहे बसेका समस्त नेपालीमा सुख, शान्ति तथा समुन्नतिको लागि शुभकामना प्रदान गर्दछु ।’ सन्देशले पनि तरङ्ग उठायो । पूर्वराजाले दलका नेताहरुले नेपाली जनतालाई शव्द जालहरुको भुलभुलैयामा राखेर ठूलो गल्ती गरेको आरोप लगाएका छन् । मौलिक धर्म, संस्कृति र परम्परा विरुद्ध खडा गरिएका चुनौतिहरु अझै शिथिल भइ नसकेको स्पष्ट पारेका छन् ।
यतिमात्र होइन सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले ‘सबै नेपालीहरूको सपना, स्वाभिमान र आत्मसम्मान सहितको संवृद्ध नेपाल हो, विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचरिहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकांक्षाराख्नु स्वभाविकै हो । तर यहाँ शब्द जालहरूको भुलभुलैयामा राखेर अन्तत: राष्ट्रिय अस्तित्व नै क्षत विक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महशुस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो। राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशीलता प्रणातत्व पनि हो ।’ भनेका छन् । पूर्वराजाले जहिले बोल्छन्, राम्रा कुरा र देशहितका कुरा बोल्छन् तर समय यस्तो छ कि पूर्वराजाको कुरा सुन्न कुनै ठूला दल तैयार देखिदैनन् । उनको अनुभव र उमेरको समेत मान गरिएन ।
पूर्वराजा जता जान्छन्, त्यतै जनताको भीड लाग्छ । जनता जयजयकार पनि गर्छ । तिनै जनता चुनावमा मतदान गर्न जान्छन्, पार्टीका जुलुसमा सहभागी हुन्छन् र त्यता पनि जयजयकार गर्छन् । जनता बुझेर जान्छन्, बुझेर जयजयकार गर्छन् कि नबुझेर ? प्रश्न यसकारण पनि जटिल छ कि पूर्वराजा जनसमर्थनको शिखरमा छन्, तर राजसंस्था चाहिन्छ भनेर आमनागरिक आन्दोलन गर्न तैयार देखिदैनन् अथवा तैयार भएर पनि नेतृत्वको प्रतिक्षा गरिरहेका छन् । अचम्मको राजनीतिक माहोल छ देशमा । हिन्दुत्व र राजसंस्था राष्ट्रिय मुद्दा छन् तर वामले यी दुबै मुद्दालाई थिचथाच पारे, कांग्रेस पराजीत भो र हेरिरहेछ खाली ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper