banner
banner

झरिलो आस्था ओइलाउँदो उत्साह राजावादी

स्वयम्भुनाथ कार्की -
सुचना विभागबाट प्रकाशित ‘नेपाल परिचय’ अनुसार २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त भएको घोषणा भयो । यस अनुसार २०७५ जेठ १५ गते राजतन्त्र अन्त भएको घोषणाको १० बर्ष पुरा भएर ११ बर्ष शुरु हुन्छ । नेपालको परापुर्वकालदेखि कायम राजतन्त्र विसाइएको छ । तर यी बर्षहरुमा पनि राजाप्रति आस्थावान र राजाको बीचमा सहज सम्वन्ध हुने अवस्था पैदा भएको छैन, न त्यो अवस्था आउने कुनै लक्षण नै छ । तर नेपालका राजावादीको आस्था भने अझै झरिलो छ । एक झलक पाउन , एक फुलको थुँगा अर्पण गर्न घन्टौ प्रतिक्षा गर्ने उर्जा कायम छ ।
यसको निमित्त राजावादीलाई टन्टलापुर घामले रोक्न सक्दैन, दर्कने पानीले निथ्रुक्क पार्दा पनि हटाउन सक्दैन । हुरी बतासको, रातविरात या साँझ विहान महत्व राख्दैनन, न भोक प्यास नै लाग्छ । यत्रो लामो समयसम्म पनि राजावादीको आस्था झरिलो नै छ । यो आस्था यसरी झरिलो रहने कारण के हो त्यो संभवत राजाले सोचेका छैनन । या राजावादीको यो आस्था प्रदर्शनले उनलाई अव आफुसंग राजदण्ड नभएको कुरा भुलाई रहेको छ । यो कुरा कि त राजालाई नै थाहा होला कि राष्ट्रदेव पशुपतिनाथलाई नै । हुनत पशुपतीनाथ पनि आफ्ना कंगाल भक्तलाई रोक्ने र आफ्नो नाममा टिकट लगाएर धनी सम्पन्नहरुलाई मात्र आउन दिने गणतन्त्रको चोट खप्दैछन् ।
आस्था जति नै झरिलो भए पनि अव विस्तारै राजावादीहरुको उत्साह भने ओईलाउँदैछ । पर्व, दिवसमा आउने आश्वासन युक्त सम्वोधन वा विज्ञप्तीको चर्चा गर्न जाँगर मर्दै गएको छ । कुनै वेलामा देश विदेशमा पाखा लगाईएका भए पनि तरंग ल्याउने राजाका भनाईहरुले गणतन्त्रको थरथरी हुन्थ्यो । आफ्नो कमजोरी लुकाउन गणतन्त्रका ठेकेदारहरु अन्टसन्ट बक्न थाल्थे । राजावादीहरु उत्साहले टम्म भरिन्थे । अव यस्ता कुराहरुको चर्चा विस्तारै घटदैछ । देश विदेश त परै जाओस हिजो थरहरी हुने गणतन्त्रका ठेकेदार आज ती विज्ञप्तीहरुलाई उल्लेख गर्न योग्य ठान्न छोडेका छन् । राजावादीलाई ती विज्ञप्तहरुले उत्साह दिन छोडेका छन्, तर झरिलो आस्थाले गर्दा कर्मकाण्डी रुपले त्यसको स्वागत भने गर्दछन ।
हिजोका दिनमा स्तुती गायन गरेर विना तैयारी जोखिम मोल्न उक्साउने ‘हजुरिया माननिय’हरु , ‘हजुरिया नेता’हरु अक्षम सावित भएका नै हुन । जोखिम मोल्न लगाएर काम गर्ने बेलामा ‘सरकार जो हुकुम’ गर्नाले २०६५ जेठ १५ त्यो रुपमा आएको हो । मुलुक , जनताको साथमा राजमुकुटले जे गुमाउनु पर्‍यो त्यसको कारण यीनै हजुरिया नेताहरुको अकर्मण्यता हो । यीनमा कोही बिसे नगर्ची छैन , योगी नरहरीनाथ छैन । कालुपाण्डे हुने त संभावना नै भएन । भानु कुलानन्द जस्ता क्षमतावान त हुने कुरै भएन ।
१७ साल भन्दा पहिले आफ्नो ‘टिम’ बनाउन देश विदेशबाट योग्यता क्षमता खोजिएको थियो । आफैले खडा गरेको पर्खाल कति हानीकारक हुँदो रहेछ भन्ने कुरा आस्थावानहरु बहिर चिच्याएको थाहा नभई एक्लै भएको महशुस हुँदा पक्कै ज्ञात भएको छ । तर हजारौ बिसे नगर्ची, कालुपाण्डेहरुलाई सामुन्ने पर्न नदिने हो भने विस्तारै गणतन्त्रले फैलाएको ‘मिडप्याक’को हल्लाले उत्साह घटदै जानेछ । निराशाले ग्रस्त हुँदै जानेछन तैपनि आस्था चाँही झरिलो नै रहने छ । यो आस्थालाई सम्पत्तीमा परिणत गर्ने हो वा हैन त्यो अरुले भन्ने कुरा होईन ।
संस्कृतको योग र क्षेम शव्दको जोडी छ । योग भनेको प्राप्ती हो क्षेम भनेको त्यसको संरक्षण । दुई पल्ट गद्धिमा बस्ने संयोग राजालाई जुरेकै हो, तर दुवै पल्ट त्यो गद्धि संरक्षण भएन । हुनसक्छ तेश्रो पल्ट पनि गद्धि जुरोस, यो संभावनालाई गणतन्त्रका ठेकेदारहरुले पनि अस्विकार गरेका छैनन । तर ढुक्क छन अर्को पल्टको योग पनि क्षेम हुने छैन । प्राप्ती भन्दा त्यसको निरन्तरता महत्वपुर्ण हो । त्यो निरन्तरता हजुरिया नेताबाट हुन्न । जनताबाट बिसे नगर्ची ,कालुपाण्डे, भानु, कुलानन्द खोजिनु पर्छ , र यो आफैले खोज्नु पर्छ । सरुमाता जस्ताको विज्ञापनको मोडेल नभएकै वेश , नत्र फट्यांग्राले पनि लात्ती चलाउलान् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper