banner
banner

महिलामात्र किन प्रताडित हुन्छन् ?

अधिवक्ता गंगा दाहाल -
रथका दुई पाङ्ग्रा, जीवनका आधा आधा हिस्सा महिला र पुरुष । महिला पुरुष समाजका समान हकदार हुन, राष्ट्रको समग्र विकासमा महिलाको समान रुपमा सहभागिता हुनुपर्छ । महिलालाइ अधिकार सम्पन्न बनाइनु पर्दछ, महिला विरुद्धका जुनसुकै हिंसा उपर कडा कारवाही हुनुपर्छ । महिलालाई सामाजिक मर्यादामा जोडिनु पर्दछ भन्ने जस्ता महिलामुखी यस्ता आदर्श  र कानुनी कुराहरु व्यापक रुपमा हरेक नेता, प्रशासक, कानुनविद, नागरिक समाजका अगुवाहरु हरेक मञ्चमा बोल्छन्, कार्यक्रमका मुख्य विषयबस्तु बनाइन्छन् ।
तर व्यवहारमा महिलाले त्यो आदर्श, ती कानुनी र सामाजिक मान्यताहरुमा सम्मान किन पाइरहेका छैनन् ? आज पनि महिलाहरु बोक्सीका आरोपमा कुटिन्छन्, बोक्सी भनेर अपहेलनाका पात्र बन्छन् ? महिलामाथिको यो अत्याचारको श्रृंखला रोकिन्छ कहिले ? महिलाले आधा आकाशको हक पाउँछन् कहिले ?
राज्यका, समाजका जुनसुकै निकायमा महिलामाथि विभेद गरिन्छ । महिला नेतृत्व जतिसुकै सक्षम र इमान्दार भएता पनि समाजले यसलाई सहज रुपमा स्वीकार सकेको छैन । महिलामाथि सबैभन्दा बढी विभेद र दमन गर्ने पुरुष समाज नै हो, जो महिलालाई देवी ठान्छ र खुट्टाले कुल्चिन्छ ।
हो, महिला राष्ट्रपति छन्, महिला सभामुख पनि भइन् । महिला प्रधानन्यायाधशि पनि बनिन् । तर एउटा मुख्यमन्त्री महिला किन बन्न सकिनन् ? नगन्य रुपमा भएको उन्नति र प्रगतिलाई समग्र महिलाको उन्नति प्रगति भएको मान्न सकिदैन । हाम्रो समाज, हाम्रो राज्यसत्ता, हाम्रो सोच र व्यवहार सबै पितृ सत्तात्मक छ, यसमा परिबर्तन आउन सकेको छैन । ३३ प्रतिशत महिलालाई हरेक क्षेत्रमा प्रतिनिधित्व गराउने भन्नेहरुले सबै नीतिको मुख्य नीति राजनीतिमा नै लागू गराउन सकेनन्, अन्तको के कुरा गर्नु र ? त्यसमाथि जो संचेतन महिलाहरु छन्, उनीहरु पनि हुनुपर्ने जति सक्रिय र गर्नुपर्ने जति संगठित रुपमा महिला हक र हितका लागि संगठित हुनसकेका छैनन् । जो चुनाव जितेर अथवा समानुपातिक र मनोनित भएर गाउँपालिका, नगरपालिका, प्रदेश, राष्ट्रियसभा र प्रतिनिधिसभा पुगेका छन्, ती महिलाहरुको एउटै आवाजका रुपमा महिला हक र हित तथा बोक्सीजस्ता कुरीति, कुसंस्कार, अन्धविश्वास विरुद्ध उठ्न र जागरुकता ल्याउन प्रयत्नसमेत गरेका छैनन् । आश्चर्य, कैलालीमा राधामाथि जुन अन्याय भयो, बालिकादेखि बृद्धासम्म बलात्कार भइरहेका छन्, यस्ता उन्मत्त भैरव प्रवृत्ति न्यूनिकरण गर्न दण्डसजाय कडा हुनुपर्छ भनेरसमेत कसैले बोलेनन् । महिलाका यस्तै प्रवृत्तिले महिलामाथि अत्याचार बढाउन बल पुर्‍याएको छ ।
महिला जीवनको अभिन्न अङ्ग हो, यो सबैले मानेका छन् । तर यसो भन्नेहरुले महिलामाथि विश्वास गर्दैनन्, गर्न सकेका छैनन् । महिलालाई कमजोर ठान्ने प्रवृत्ति घटेको छैन । महिलाहरु पनि आफूलाई कमजोर मानसिकतामै सिमित गर्छन् जसले गर्दा आफूमाथि भएका हरेक प्रकारका पिडा र हिंसा बाहिर ल्याउन र देखाउन चाहदैनन । जुन घटनाहरु बाहिर आएका छन्, ती मुद्दाहरुलाई पनि निरुत्साहित गर्ने, डर, धाक, धम्की देखाएर मुद्धा फिर्ता लिन वा मेलमिलाप गराउन बाध्य पारिन्छन् । जति भयानक पीडा महिलाहरुले खपी खेपिरहेका छन्, ती बाहिर आउन्नन्, बाहिर आएका एकाध घटना नगण्यमात्र हुन् ।
जबसम्म प्रत्येक घरका महिलालाई महिला हक र अधिकारबारे संचेतन पारिन्न, अधिकारका बारेमा बुझाइन्न, महिलाका लागि कानुनको ढोका खुल्नेछैन । यो महिला पीडा खपेर बस्नुको कारण आर्थिक रुपमा कमजोर हुनु र कानुनी रुपमा पहुँच नपुग्नु पनि हो । जुन महिला हिम्मतका साथ आफूमाथि भएको अन्यायविरुद्ध लड्ने साहस गर्छन्, उनीहरुलाई समाजले उत्साहित होइन, अपमाननित गर्ने प्रचलनले पनि महिलामाथि दमन बढेर गएको हो ।
समाजको संरचना ठीक छ, सोच र व्यवहार फलाममा खिया लागेजस्तो छ । सोचमा लागेको खिया झारेर सन्तुलित विकासका लागि महिलालाई सवलीकरण जरुरी छ । यो सवलीकरण भाषणले हुन्न, कानुनले पनि हुन्न, पुरुष समाजको सोच नै बदल्नुपर्छ । यसका लागि देशका हिमाल, पहाडदेखि मधेससम्मका महिलालाई चेतनशिल पार्न जरुरी छ । यसको जिम्मेवारी संघीय शासन प्रणाली सञ्जालमा आवद्ध सबैले जिम्मेवार िकबुल गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper