banner
banner

सुरक्षाकर्मीलाई कमारो नबनाउ

धर्मरत्न श्रेष्ठ -
विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा अधिकारीले सुरक्षाकर्मीलाई कमारो बनाएरराखेको चाल पाएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा ७ दिनभित्र अर्दली, सहायकका रुपमा हाकिमका घरघरमा काम गरिरहेका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देश जारी गरेका छन् । सात दिन पुग्नलाग्दासमेत अझै ७ हजार सुरक्षाकर्मी सहायक, अर्दलीका रुपमा हाकिमका घरमै सफाइ गरिरहेका छन् ।
गत बुधबार सिंहदरबारमा भएको मुख्यमन्त्रीसहितको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले घरायसी काममा खटाइएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै कर्मचारीलाई सात दिनभित्र फिर्ता गरिसक्न आदेश दिएका हुन् । उनको आदेश आजसम्म पूरा भइसक्नुपर्ने हो, होलाजस्तो स्थिति देखिदैन । 
गृह मन्त्रालयसँग कति नेपाल प्रहरी, सशस्त्र र सेनाका व्यक्तिहरु हाकिमको अर्दली, सहायक, सुरक्षामा खटिएका छन् भन्ने यकिन तथ्यांक नै छैन । करिव १५ हजार व्यक्तिहरु खटिएको हुनसक्ने अनुमान गरिएको छ । जो विशिष्ट श्रेणीमा पुग्छ, उसले सुरक्षा चाहियो भन्दै पिएसओ, अर्दली, सहायक लैजाने गरेको छ, राष्ट्रको शक्तिको दुरुपयोग गर्ने यो परम्परागत जालो तोडिएला त ?
शक्तिको आडमा, पहुँच र प्रभाव देखाएर यसरी खटिएका पिउसाहरुलाई श्रीमतीको लुगा धुन, हाकिमको जुत्ता पालिस गराउन, तरकारी किन्न, ड्राइबरका रुपमा, पालेका कुकुरको दिशापिसाव सफागर्न, घर सफाइमा समेत दुरुपयोग गर्ने गरिएको छ । निर्णय भएका र तोकिएका बाहेकका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गरिसक्ने आदेश त भयो, आदेशको पालना होला कि नहोला भन्न सकिन्न । 
संवैधानिक निकायका एकपटक आयुक्त भएकाहरुले समेत अर्दली माँग गरेर राख्ने गरेका छन् । यतिमात्र होइन, वर्तमान मुख्य सचिवले त पहिले गृहसचिव भएकै आधारमा १४ जना हतियारधारी सुरक्षाकर्मीको दुरुपयोग गरिरहेको खबर छ । यसप्रकारको दुरुपयोग रोक्न सकियो भने सुरक्षा निकायमा सुधार नै हुनेथियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper