banner
banner

राजनीति फेरि मन्त्रिपरिषदको बिस्तारतिर

शाश्वत शर्मा -
केही दिन सर्वोच्च अदालत र गोपाल प्रसाद पराजुलीतिर मोडिएको नेपालको राजनीति फेरि मन्त्रिपरिषदको बिस्तारतिर मोडिएको छ । आफू प्रधानमन्त्री भइसकेपछि तीनपटक मन्त्रिपरिषदको विस्तार गरिसकेका प्रम केपी शर्मा ओलीले अझै दुई तिहाई बहुमत पुर्‍याउन सकेका छैनन् ।
राजपा, संघीय समाजवादी फोरमलाई समेत मिलाएर दुई तिहाई पुर्‍याउँदै मधेसवादी दलहरुले भनेझैं संविधान संशोधन गर्ने विचारमा रहेका भनिएका प्रम ओलीलाई घरी रेशम चौधरीको केशले त घरी राम्रा मन्त्रालय पाउनपर्ने माँगको झन्झटले अझैसम्म छोडेको देखिदैन ।
अझ सत्तामा जान आतुर भनिएका राजपा र संघीय समाजवादी फोरमभित्रै पनि मन्त्री हुन लालायितहरुको रामकहानी त अझै कहालीलाग्दो नै छ । आफ्नै पार्टीभित्रको साथीहरुको विरुद्धमा प्रचारवादीमा समेत लागेका पो देखिन्छ राजपा र फोरमभित्रका क्रियाकलापहरु ।र
अव यता यस्तो हालत छ भने उता एमालेकै गुट, उपगुटलाई र संघीयताका सम्बन्धमा सन्तुलनमा मिलाएर  मन्त्री बनाउन नसकेको आरोप प्रम ओलीलाई लागेको छ । अझ अर्थमन्त्रालयमा र्‍याल चुहाएर बसेका तर भद्रकालीतिर रहेको आफ्नै कार्यालयको मन्त्री बनाइएका भनिएका ईश्वर पोखरेल त मन्त्रालयमा बसेर दिनभरि प्रम ओलीलाई सराप्ने गरेको सुसमाचार पनि पढ्न पाइएकै छ । 
यतिमात्र कहाँ हो र ? विशुद्ध गैरइण्डियन र गैर बेस्टर्न देखाउन खोज्ने आफूलाई प्रम ओलीले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको मान्छे भनेर प्रचारित प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्री अनि पश्चिमाहरुको चलखेल गर्न सजिलो होस भनी खोलिएको एउटा आइएनजीओमा कार्यरत एकजना महिलाकी श्रीमानलाई पर्यटनमन्त्री (रवीन्द्र अधिकारी) मा छानेपछि प्रम ओली पनि अव विस्तार विस्तार मुखुण्डो उतार्दै छन्, असलियत देखिदैछ भनेर चर्चा गर्ने पनि धेरै नै भैटिएका छन् ।
अघि प्रधानमन्त्री हुँदा भारतीय नाकावन्दीलाई झेलेरै पनि चीनसँग ऐतिहासिक सम्झौता गरेका प्रधानमन्त्री ओलीको यो पटकको कार्यकाल त्यो जस्तो सुखद नहुने तर्फ पनि एकथरिको रहेको छ । खासगरी मधेसी दलहरुको माँग पूरा गर्नकै लागि दुई तिहाई पुर्‍याउन जसरी मरिहत्ते गरिदैछ, त्यसलाई एमालेकै कतिपय उपल्लो दर्जाका नेताहरुले अमीलो मान्दै मन पराएका छैनन् ।
त्यसो त भित्र शक्तिशाली रहेका ओली, सरकारमा पनि शक्तिशाली (दुई तिहाई बहुमत) बन्न खोज्नु एमालेभित्रको ओली बिरोधी गुटलाई पक्कै पनि असजिलो भएको छ । राष्ट्रवादको नाराले, भ्रष्टाचारविरोधी नाराले, अनि सुशासनका नाराले दिनानुदिन आफ्नो कद बढाइरहेका ओलीमा अव अघिल्लो चरणमा सरकार सञ्चालन गरेजस्तो जोशजाँगर पनि नहोला । किनभने यो पटक उनलाई आफ्नैहरु बाट समस्या सिर्जना हुनसक्ने र असहयोगको खतरा रहेको छ ।
अघिल्लो पटक जस्तो राप्रपाजस्ता पार्टीलाई पनि समेट्नु यो पटक जरुरी छैन । साथै यो पटक ढुक्कले ५ वर्षसम्म चलाउन पाउने हैसियत पनि छ । यदि गोप्य रुपमा प्रचण्डसँग आधा आधा कार्यकालको गोप्य सम्झौता भएको छैन भने । पहिले जस्तो आज कि भोलि वा शर्त सहितको सत्ताको नेतृत्व अहिले छैन । त्यसकारण राष्ट्रवाद, भ्रष्टाचार विरोधी, सुशासनको पक्षपातीजस्ता मुखौटा तत्कालका लागि हो । हेर्दै गए हुन्छ, आउँदा दिनहरुमा यो ओली सरकार निरंकूश, भ्रष्टाचारको दलदलमा लिप्त, अनि जुनसुकै बेला जस्तोसुकै सन्धि सम्झौता गर्न पनि तैयार हुने नेपालका अघिल्ला प्रधानमन्त्रीहरुजस्तै यी केपी ओली पनि त्यस्तै हुनेछन्् । पहिला ओलीलाई देखाउनु थियो, त्यसपछि जनताले पत्याउनु थियो... त्यो दुबै पूरा भइसक्यो । अव जनता र देशका लागि होइन, उनी आफ्नै लागि निरंकूशताको जंगे घोडा दौडाउने छन् । त्यसका संकेतहरु देखिन थालिसके ।
शासन गर्ने तरिका यही हो ?
अव मौका पाउँदा पाउँदै, खतरा मोलेर भोलि बाम एकता फुटाउने, एमाले चोइटाउने, मधेसीलाई  चिढाउने आदि खतरायुक्त काम अव ओलीले गर्ने छैनन् । अव त, नेपालमा हावी भइरहेको इण्डियन, वेस्टर्न शक्तिलाई मिलाएर लैजान्छन् । यसैमा उनको हाई हाई हुनेछ । त्यसका लागि पक्कै पनि राष्ट्रवादलाई तिलाञ्जली दिनुपर्ने हुन्छ । भ्रष्टाचारलाई बढावा दिनुपर्ने हुन्छ । कमिशनखोरहरुलाई खुशी पार्नुपर्ने हुन्छ । भद्रगोलको स्थितिमा मुलुकलाई पुर्‍याउन पर्ने हुन्छ । तवमात्र विदेशीले शान्तिसँग काम गर्न देलान् । ओलीले आँखा चिम्लन्छन् भन्नेहरुको ठूलै भीड उत्साहित देखिन्छ ।
त्यसैले नेपालीहरुले अघिल्लो भारतसँग मुकाविला गर्न तम्सिने ओलीको सपना नदेखे हुन्छ यो पटक । ओलीले शान्ति, सुशासन र समृद्धिको जुन सपना देखाइरहेका छन्, त्यो कोरा साबित हुनेवाला छ । बिहानीले आउने दिनको छनक दिन्छ भनेझैं, मन्त्रिपरिषदको विस्तारका प्रकृयादेखि लिएर संवैधानिक निकायहरुमा खासगरी न्यायालयमा हस्तक्षेप गरेर उत्पन्न गराइएको अस्थिरता र अराजकताले समेत त्यस्तो खतरा देखाइसकेको छ । फेरि पनि भनौं हिजो अन्य समयमा नेपाली जनताको ध्यान आकृष्ट गराउनु थियो, ..त्यो काम भइसक्यो । अव अरु खतरा नमोलेर ढुक्कसँग ५ वर्ष चलाउने तिर ओलीको ध्यान गएजस्तो छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper