banner
banner

निराश, कुण्ठित र आक्रोसित युवा

स्वयम्भुनाथ कार्की -
युवामा असंतोष छ, कारणहरु सबैका अलग अलग छन् । यो निराशाको सम्वोधन गर्न नेतृत्व चुकेको त छैन तर सम्वोधनको तरिकाले निराशा कम हुनुको साटो झन बढ्दो छ । विस्तारै विस्तारै यो निराशा कुन्ठामा परिणत हुँदैछ । कुन्ठा पछिको अर्को तह आक्रोश हो । तर परिस्थिति त्यहाँसम्म भने पुगेको छैन, र पुग्न दिईनु पनि हुँदैन । यदि आक्रोशमा पुग्न रोक्न सकिएन भने अवस्था कतिबसम्म डरलाग्दो हुन्छ  भन्ने कुरा समकालिन विश्वका अनेकौ स्थानमा भएका विप्लवहरुले देखाएका छन् ।
संचारको तिव्र विकाशले विश्व र मानवको जीवन प्रणालीमा धेरै परिवर्तन आई सकेको छ । अहिले प्रौढ हुँदै गरेको पिंढीले सुचना प्राप्त गर्न गर्नु परेको अत्याधिक श्रम अहिले कल्पना गर्न पनि सकिन्न । ७० को दशकमा ‘सिबी रेडियो’ भनिने सिमित रेडियो संचारको अनुमति प्रक्रिया सरल गरेर जनतामा ल्याउदा संयुक्त राज्य अमेरिकाले युगान्तकारी काम गरेको थियो । केही बर्ष पहिलेको रेडियो या टिभी राख्न अनुमतिपत्र लिनुपर्ने र त्यसको सालवसाली नविकरण गर्नु पर्ने कानुन व्यवहारत अहिले लागु नभए पनि खारेज भएको छैन ।
आज हातहातमा मोवाईल र सामाजिक सञ्जालले जोडिएको युवा पुस्तालाई केही दशक पहिलेको त्यो अवस्था ढुंगे युग झै लाग्छ । तर समाजको नेतृत्व गरिरहेको वर्गले संचारको यो सर्वसुलभताको  शक्ति र असरको अनुमान गर्न नसकेको देखिन्छ । सुचना र त्यसको प्रशोधनको जिम्मा अव विद्वत वर्गको हातमा छैन । समाजका विभिन्न तहका समुहहरु आआफ्नो ज्ञान र विवेकको आधारमा आफै अर्थ लगाउछन । यसको आधारमा व्यक्त गरेको प्रतिक्रिा निमेष भरमै सबैतिर प्रसार हुन्छ । नेपालको बारेमा प्रसार भईरहेका कुराहरुमा सकारात्मक कम नै भेटिन्छ । यसले जनताले आफ्नो भविष्य अध्यारो देख्न थालेका छन् ।
सबैको चेतन वा अर्धचेतनले एक युगनायक खोजिगरिरहेको छ । यसको प्रत्यक्ष लक्षण कसैले पनि अलिकति आशा जगाईदियो भने त्यसको प्रसंशामा सबै लाग्नु हो । यसरी आशा जगाउनेहरु अधिकांश मौका पाउँदा असफल हुने गरेका छन । यो न उनिहरुको गल्ती हो न योग्यताको कमी नै । अब जनमानसले मेधावी खोज्दैछैन चमत्कारी माग्दैछ । त्यसैले एकएक गरेर नेतृत्व दुधको उमाल जस्तो ह्वात्तै शिखरमा पुग्दै त्यही गतिमा तलझर्दै छन । लामो समय आस्थाको केन्द्र हुन सकेका छैनन । जति जनताको आस्था कायम राख्न समर्थकहरु बोलीको, लेखाईको सहारा लिन्छन त्यति नै आस्था कम हुन्छ । जनता कर्मले आफुमा विश्वास जगोस भन्ने सोचमा छन ।
यसरी एकएक पात्र असफल हुँदै जाने हो भने जनताको कुन्ठा आक्रोसमा परिणत हुन्छ । त्यो आक्रोसले विप्लव जन्माउन थाल्यो भने त्यसको कुनै अनुहार हुनेछैन । नेपालमा एक अनुहार विहिन विद्रोहको पृष्ठभूभि तैयार हुँदैछ । यस्तो अनुहार विहिन विद्रोहको न कुनै नेतृत्व हुन्छ, न कुनै विषेश माग । दावानल जस्तो जता सल्किन सक्यो त्यतै सल्किने गर्दछ । यसले कसैको भलो गर्दैन , मुलुकको विनाश भने पक्कै गर्दछ । त्यसैले यो अवस्था तर्फ मुलुकलाई जान दिईनु हुँदैन ।
जेजस्तो भएपनि नेपालका विगतका सबै परिवर्तनहरु अनुहार विहिन क्रान्तिका उपज थिएनन । चाहे आदरले होस वा डरले कुनै न कुनै अनुहार थियो । चाहे भिमसेन थापा हुन वा जंगबहादुर एक सवल पात्रको रुपमा उदाएका थिए । सात सालमा वीपी प्रतिको विश्वासले काम गरेको थियो भने सत्रसालमा राजा महेन्द्र सवल थिए । चाहे समर्थक हुन वा विरोधी सबै यी पात्रलाई सक्षम ठान्थे । उनिहरुले गरेका कामका समर्थक पनि थिए र विरोधी पनि । यस्ता कुराले केही फरक परेको थिएन किन भने उनिहरुको दृढ निश्चय थियो, विरोधीलाई दोषरोपण गर्नुभन्दा आफ्नो सोचलाई कार्यरुप दिन ध्यान दिन्थे ।
छयालिस सालमा अनुहार गणेशमान थिए । दुई विपरित ध्रुवका राजनैतिक विचारधाराका दल जोड्न सफल भए । कृष्णप्रसाद भट्टराई, गीरिजा कोईराला, मनमोहन अधिकारी , मदन भण्डारी जस्ता व्यक्तित्वहरुमा समन्वय भयो । अनुहार विहिन आन्दोलन भएन । यस्तै ६३ को परिवर्तनमा पनि प्रचण्डको भूमिगत नाम र गीरिजा कोईरालाको अन्तराष्ट्रिय साखले काम गर्‍यो । तर छिटै यी नामहरु स्खलित भए , उनिहरुको नामले जनतामा कमाएको डर वा आस्थाको पुँजि सकियो । निर्णय लिन नसक्ने र निर्णय लिए पनि त्यसमा अडिग रहन नसक्ने नेतृत्वमा परिणत हुनु दुर्भाग्यपूर्ण भयो ।
त्यसपछि त चिठ्ठा परेजस्तो जो कोही पनि नेता हुन थाल्यो । आज शिखरमा र भोली जमिनमा हुनेहरुको बाहुल्यता बढ्यो । जनताले मान्न नसकेको व्यक्तिलाई एकाएक नेता बनाउँदा उच्च नेताहरुले आफ्नो साख गुमाएको  पत्तै पाएनन । ठूलाठूला सपनाहरु देखाईए, जो पुरा हुन संभव भएन । यो संभव नभएको कुराका अनेकौ बहाना बनाईए । हरेक बहानाले जनतामा नैराश्यता थप्दैछ । अव फाट्टफुट्ट सैनिक शासनको माग सुनिन थालेको छ । कतै कतै तानाशाह नै भए पनि हुन्छ भन्ने आवाज आउदैछन । पाखा लगाइएका राजा तर्फ आशाले हेर्ने जमात पनि छन । 
अनुहार विहिन विप्लवको संभावना रोक्ने सक्ने पात्र भनेका दलहरु लगायत जनताले आशापूर्ण तरिकाले हेरेका शक्तिहरु हुन । यदि यी विकल्पहरु पनि भएन भने मुलुकमा पक्कै अनुहार विहिन विप्लव हुनसक्छ । मुलुक विखण्डन तर्फ जान सक्छ । नेपालको करिव पौने तीन शताव्दिमा युगनायकको अत्यन्त आवश्यकता परेको कालखण्ड यहि नै हो । यदि यो भएन र मुलुकमा अनुहार विहिन विप्लव भयो भने यी पात्रहरु त दोषी हुन्छन नै तर समाजमा आशाको दियो बाल्न नसकेको अपराधबाट कुनैपनि आफुलाई चेतनशिल ठान्ने नागरिक बच्न सक्द्रैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper