banner
banner

ओलीप्रति जोलीको प्रशंसा किन ?

धर्मरत्न श्रेष्ठ -
प्रधानमन्त्री केपी ओलीलाई भारतले अर्को महिना भारत भ्रमण गर्ने निम्तो दिएको थाहा पाइयो । अचम्म लाग्नेगरी पाकिस्तानका प्रधानमन्त्री नेपाल आएर आफैले बधाई दिए, पाकिस्तान भ्रमणको कुरा गरे र सार्क शिखर सम्मेलन पाकिस्तानमा गर्ने वातावरण बनाउन आग्रह पनि गरेर गए ।
अव चीनका प्रधानमन्त्री र उनले वातावरण निर्माण गरेपछि चीनका राष्ट्रपति सी जिनपिङ नै नेपाल आउने कुरा जोडतोडले उठेका छन् र चीनले व्यापक रुपमा नेपालमा लगानी पनि बढाइरहेको छ । यसबाट भारत आत्तिएको छ र भाजपाका नेता विजय जोली यही हप्ता नेपाल आए । उनले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नेपालले सम्पन्नता हासिल गर्ने ठोकुवासमेत गरिदिए । भारत खुशी रहेको र नेपालको कुनै पनि सहयोग गर्न भारत तैयार रहेको खुलासा पनि गरिदिए । 
सुनिदैछ, ओली सरकारले नेपाली सेनाद्वारा निर्माण थालिएको फास्ट ट्य्राक भारतलाई दिन र निजगडको अन्तर्राष्ट्रिय विमान स्थल निर्माण रोक्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तत्काल नेपाल आउन तैयार छन् । भारतले ठूलो आर्थिक विकासको प्याकेज दिने समेतको पेसकस थालेको छ । यही कामका लागि भाजपा का नेता विजय जोली भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई सहयोग गर्न नेपाल आएका हुन् । भारतले हुलाकी राजमार्ग र पूर्वपश्चिम रेलमार्ग निर्माणमा सघाउने कुरा पनि अघि सारेको छ । यतिमात्र होइन, केपी ओलीको हिन्दमहासागरमा नेपाली झण्डा फरफराएर नेपालको पानीजहाज चलाउने सपना भारतले पूरा गरिदिने प्रस्ताव समेत आइसकेको छ । के प्रधानमन्त्री केपी ओली भारतले दिएको हाजमोला खाएर जे खायो, पचायो गर्न सक्लान् त ? केही दिनमै थाहा हुनेछ ।
२०७२ असोज २५ गते देखि २०७३ साउन १९ सम्मको पहिलो कार्यकालमा नाकावन्दी गरेर ओलीलाई र्‍याखर्‍याख्ती पार्ने र नेपाल र नेपालीलाई थाल खाउँ कि भात खाउँ पार्ने तिनै नरेन्द्र मोदी थिए । ओली त्यतिबेला चट्टान बनेर उभिए र राष्ट्रवादको जगबाट हल्लिएनन् । जसको परिणति यतिबेला केपी ओली दुई तिहार्यका साथ इतिहासमै जंगबहादुरभन्दा बलियो प्रधानमन्त्री बनेका छन् । अब हेर्नुछ, जंगबहादुरको शैलीमा काम गर्ने हुन् कि जनताको अपेक्षाअनुसार । यस्तो ओलीलाई मोदीले पठाएका दूतले मुक्त कण्ठले गरेको प्रशंसाले भुलाउन सक्ला कि नसक्ला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper