banner
banner

राष्ट्रवादीहरुले अव कार्यगत एकतामा लाग्ने हो

स्वयम्भुनाथ कार्की -
राष्ट जनता, राजासंस्था अनि पारंपारिक गौरव अनुभूतिले आपसमा जोडिने भावनाको संयुक्त रुप हो । यसमा भुगोलले देखाएको देश पनि हुन्छ । अर्थात कुनै देश राष्ट्र बन्न यी सबै तत्वको आवश्यकता पर्दछ मात्र भुगोलले देश बन्छ तर राष्ट्र बन्दैन । त्यसैले राष्ट्रवाद भाषमा, पोशाकमा मात्र सिमित हुँदैन । राष्ट्र बन्ने यी सबै तत्वको आदर गर्ने र यसको निमित्त समर्पण गर्ने भावना राष्ट्रवाद हो । राष्ट्रवादको अधुरो बुझाई फैलाएर फलाना दलमा लाग्ने वा फलाना नेताको पिछलग्गु हुनेमात्र राष्ट्रवादी भन्ने भ्रम फैलाउन खोजिएको छ । कसैकसैले त हिन्दू राष्ट्रलाई राष्ट्रवादको पयार्यवाची पनि बनाएका छन । यो गलत बाटो हो ।
त्यसैले यहाँ हिन्दु अधिराज्य र गणतन्त्रको छनक दिने हिन्दु राष्ट्रको फरक वारेमा केही उल्लेख गर्नु वान्छनिय छ । अधिराज्यमा राजा एक निश्चित परंपरा बोकेर आउछन । परंपराको संरक्षण, जनता प्रति समान व्यवहारको चलन बोकेर आउने हुँदा हिन्दु अधिराज्यले सबैलाई समान व्यवहार गर्दछ । धर्मको मामिलामा राज्यसत्ताको नभई राजाको कर्तव्य र अधिकार रहन्छ । यसले राज्य सञ्चालन गर्ने राजनीतिमा धर्मनिरपेक्षता कायम गर्दछ । राजासंस्थाको कर्तव्य जो कोही र जस्तो भए पनि आफ्नो जनतालाई समान व्यवहार गर्नु हो । राम्रो कामको पुरस्कार र नराम्रो कामको दण्ड दिनु हो । त्यसैले व्यवस्था जे जसो भए पनि दण्ड र पुरस्कारलाई राजदण्ड अनि राजपुरस्कार भनिन्छ ।
यसको विपरित हिन्दु गणतन्त्रमा वैधानिक रुपमा हिन्दु राष्ट्र रहे पनि त्यसको संरक्षणको जिम्मा लिने कोही हुन्न । युगौदेखि एक भएका विभिन्न सम्प्रदायहरु बीच वैमनश्यता बढाई रहेको वर्तमान अवस्थामा वैधानिक बनाईए पनि गणतन्त्रमा हिन्दु राष्ट्रमा हिन्दुत्वको हैकम सन्त महन्त आदिको हातमा जानुपर्ने हुन्छ । यसरी भारतका धर्माचार्यको हातमा देश जाने निश्चित छ । त्यसैले गणतन्त्रको उपस्थितिमा हिन्दु राष्ट्र भनेको विस्तारवादको पक्ष पोषण हो । गणतान्त्रिक हिन्दुराज्य भनेको राष्ट्रवादको विरुद्धको अवस्था हो भने हिन्दु अधिराज्य राष्ट्रवादको उच्चतम अवस्था हो ।
को राष्ट्रवादी हो र को होईन भन्ने जाँच्ने अनि प्रमाणपत्र दिने कुनै निकाय छैन र हुनु पनि हुन्न । तर केही बर्ष यता कुनै दल बिषेश, त्यसको नेता बिषेश अनि त्यो नेताका पिछलग्गुहरुले आफुलाई त्यो निकाय ठानेका छन । यो आफ्नो हैसियत भन्दा बाहिर गएर गर्न खोजिएको अनाधिकार चेष्टा हो । यसले राष्ट्रवादी जोड्दैन बरु थप फुट्छन । किनभने धेरैमा निम्न भावना छन ।
वरिष्ट कनिष्टको भावना : धेरैमा मेरै पछि अरु लाग्नपर्छ , मेरो सोच नै सबैभन्दा उत्तम हो  म नै नेता हुँ भन्ने दम्भ छ । 
संगठन बनाएर त्यसको नेता बन्ने लोभ : जसले १०, २० जना जुटाएर एक संगठन खोल्न प्रेरित गरेको छ । यस्ता संगठनहरुमा विरोधीसंग संघर्ष गर्ने भन्दा समान प्रकृतिका अरु संगठनहरुको खोईरो खनेर आफु ठूलो हुन खोज्ने प्रवृति हावी छ ।
लक्ष भन्दा प्रचारमुखी : काम भन्दा कसरी छिटै आफ्नो वा आफ्नो समुह चर्चामा आउँछ भन्नेमा ध्यान जाँदा परिणाममुखी काम हुन सकेको छैन । कतै सभाको कार्यक्रम गर्नु र त्यहा भाषण गर्नु चाहे श्रोता १० जना पनि नहुन । संचारकर्मीहरुको चाकरी गरेर त्यस्ता ससाना कामको समाचार प्रसारण गराउनु । अनि आफ्नो यस्ता कामको सूची बोकेर अरुले सिन्को पनि नभाँचेको भन्दै हिडनु आम भएको छ ।
राजा र राजसंस्थाको नाम प्रयोग गर्नु : आफु राजाको नजिक भएको, राजसंस्थालाई आफुलेमात्र काँध हालेको जस्ता प्रचार गरेर ठूलो बन्न खोज्नु । यसमा स्वागतमा लामबन्द भएको फोटो , त्यहाबाट प्राप्त शुभकामना, निमन्त्रण जस्ता कुराको सकेसम्म प्रचार आदि पनि पर्दछन । हुँदाहुँदा आफ्ना भरौटेहरु मार्फत कठिन समयमा आफुले काँध थापेकोले अव राजसंस्थाले आफुलाई काँध थाप्नुपर्ने प्रचार पनि गराउन पछि पर्दैनन ।
राष्ट्रवादीहरु एकै दलमा अट्न सक्दैनन । त्यसैले धेरै कुरा नसमेटी सबैको साझा लक्षमा मात्र कार्यगत एकता गर्न आवश्यक छ । यस्तो एकतामा कसैको पनि अहंमा चोट नपुग्ने हुनुपर्दछ । कसैले पनि आफुलाई वेवास्ता गरिएको अनुभुति गर्न नसक्ने संरचना हुनु पर्दछ । यसको निमित्त अआफ्नो वर्तमान प्रतिष्ठा र अवस्था कायम राखेर आफुले गर्दै गरेको कामलाई पनि निरन्तरता दिदै जुट्न आवश्यक छ । त्यसैले यो अभियानमा कोही विलय हुने हैन , अर्को दलंको रुप लिने पनि हैन । 
केवल नेपाल अधिराज्यको गौरव फेरी प्राप्त गर्नका निमित्त मात्र सहयात्रा अभियानको धारणा हो । राष्ट्रवादीहरु बीच अनेकौ कुरामा मत भिन्नता हुनसक्छ । नेपाल अधिराज्य लक्ष भएकाहरुलाई पहिले त्यससम्म सहयात्रा गर्न कुनै आपत्ति हुन सक्दैन । लक्षमा सहयात्रा गर्ने भैसकेपछि त्यसको निमित्त के गर्न पर्दछ भन्ने कुराको निर्णय गरेर कार्यक्रम बनाउने आपसी सल्लाह र छलफलले हो । लक्ष अपरिवर्तनिय छ अरु सबै कुरा समय र परिस्थिति अनुसार परिवर्तन हुन सक्छन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper