banner
banner

सुनिता दनुवार र महिलाको अनुहार

अधिवक्ता गंगा दाहाल -
मानव तस्करको हातमा पुगेर बेचिएकी र भाग्य र हिम्मतका कारण फर्कन सफल भएकी महिला बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको जति प्रशंसा गरे पनि कम हुन्छ । सुनिता भन्छिन्– मानव बेचबिखन पहिले बम्बैमा हुन्थ्यो, अहिले संसारभर हुन्छ । उनको यो कथन यति गम्भीर छ, त्यो गम्भीरता जिम्मेवार बर्गमा देखिदैन । यो गैरजिम्मेवारीकै कारण आज देशमा मानव बेचबिखनको समस्या महामारी बन्दै गएको छ ।
सुनिता भन्छिन्– अहिले मानव बेचबिखनका रुप र आयामहरु फेरिएका छन् । पछिल्लो पटक भाँडाको कोख किन्ने, वच्चाचलाई दूध खुवाउने, विवाह गर्ने लगायत वैदेशिक रोजगारीका अन्य रुपमा पनि बेचबिखन हुने गरेको छ । यस्ता मानव बेचबिखनविरुद्धका अभियानमा सुनिता दनुवारले शक्ति समूह सञ्चालन गरिरहेकी छिन्, जुन तमाम महिलाहरुका लागि बरदान हो भन्न सकिन्छ ।
सबै सुनिता दनुवार हुनसक्दैनन् । सबैले हिम्मतका साथ कोठीबाट बाँचेर निस्कन र महिला जागरण अभियान चलाउन पनि सक्दैनन् । अहिले सुनिता मानव बेचबिखन गर्ने दलाललाई जेलमा कोच्न र सरकारलाई मानव बेचबिखन विरुद्ध कडा नीति अख्तियार गर्न दबाब दिइरहेकी छिन् । यही संस्थाको नाम हो शक्ति समूह । शक्ति समूहले उद्धार र संरक्षणको काम गरिरहेको छ ।
सुनिताको अनुभव छ– हिजोजस्तो आज मान्छे सजिलै बेचिदैन । तर अनेक रुपमा बेचिने क्रम रोकिएको छैन । हिजो युवतीहरुलाई बम्बैमा बेचिन्थ्यो, आज संसारभर बेचिने गरेको छ । पछिल्लो समय आएर राम्रै आर्थिक अवस्था भएका परिवारका चेलीहरु, पढेकैहरु पनि दलालका चगुंलमा परेका छन् । अर्को भनेको पितृसत्तात्मक सोच हो । मान्छे फ्रिडम चाहन्छ तर निस्कन खोज्दा फेरि पनि त्यहि दलालको फन्दामा त्यो महिला वा पुरुष परेको छ । पारिवारिक झगडाले बच्चाहरु घरबाहिर निस्किन्छन् र दलालको पासोमा पर्छन् । यसरी गरिवी र पारिवारिक हिंसाका कारण नै महिला र बालिका मात्र हैन अहिले बालक र पुरुषहरु पनि बेचिन थालेका छन् । वैदेशिक रोजगारीको नाममा युवा महिला बेचबिखनले धेरै भयावह स्वरुप लिइसकेको छ । राष्ट्र बदनाम भइरहेछ ।
अचम्मको खुलासा गरेकी छिन् सुनिताले । उनका अनुसार नेपाली युवतीका छाला राम्रो हुनेगरेकाले छाला सर्जरीका लागि पनि केटीहरु विदेश लगिन्छन् । महिलाहरु बेचबिखनमा पर्नु, विदेशीनु र नारकीय जीवन बिताउनुका अनेक कारणहरु छन् । ती कारणको खोजी र निराकरणको प्रयास नगर्ने हो भने महिलाहरु यसरी नै बर्बाद भइरहनेछन् । अशिक्षितमात्र होइन, शिक्षितहरु नै बैधानिक अवैधानिक रुपमा नै बेचिन रोकिने छैन । जुन अहिले भइरहेको छ ।
सुनिताको अध्ययनमा बेचविखन बम्बैदेखि अफ्रिकासम्ममा सिमित छैन, स्वदेशकै क्याविन रेष्टुराँ, मसाज सेन्टर र पार्लरहरुमा पनि महिला बेचेबिखन भइरहेको छ । अर्थात स्वदेशमा गरिखान नपाएकाहरु, विदेशमा अवसर खोज्नेहरु र लोभलालच र सुन्दर भविष्य खोज्नेहरुलाई दलालहरुले फसाइरहेका छन्, महिलाहरु फसिरहेका छन् र तिनको उद्धार कतै केही भइरहेको छैन ।
अहिले केपी ओलीको निर्वाचित सरकार बनेको छ । यो सरकारले मानव बेचबिखनका मामिलामा कडा कदम चाल्नेमात्र होइन, कुनै पनि विदेशी मुलुकमा नारकीय जीवन बिताउन बाध्य भएका, जेलमा कोचिएका महिलाहरुको बारेमा अनुसन्धान गर्न र तिनको उद्धार गर्नेतिर विशेष नीति ल्याउन जरुरी छ ।
र, अदालतले पनि मानव बेचबिखनका विषयका मुद्धामा कानुनको परिपालना र जनअपेक्षमा खरो उत्रन सक्नुपर्छ जसले गर्दा न्यायालयप्रतिको जनआस्था बढोस्, न्यायालयको आस्था बढ्नु भनेको कानुनी राज छ भन्ने प्रत्याभूति हो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper