banner
banner

ओलीको युगपुरुष बन्ने साइत

अधिवक्ता गंगा दाहाल -
यही दिनका लागि ओलीले १४ वर्ष जेल जीवन बिताए । यसमा पनि आधा समय त गोलघरमा । गोलघर जेलजीवनको सबैभन्दा कष्टमय यातना । त्यसरी एक्लो र कष्टप्रद जीवन धानेर आएका केपी ओलीले चुनाव जिताउन जनतालाई आह्वान गरेका थिए, जनताले हात्ती बनेर उनको बरण गरिदिएका छन् । अव ओलीले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता र जनताको आकांक्षाको संवोधन गर्नुपर्छ । यो समय केपी ओलीको जीवनमा जिम्मेवारी बहन गर्ने पहाड बनेर आएको छ । उनले यस्तै चुनौति खोजेका हुन्, जनताले अवसर दिएका छन् ।
अव बहाना चल्दैन । ओलीले काम गरेरै जनअपेक्षामा खरो उत्रिनु पर्छ । उनलाई जनादेशले सत्ताको बागडोर दिलाएको छ, सुशासन र आर्थिक सम्पन्नता मेरो लक्ष्य हो भन्ने ओलीले त्यो लक्ष्य प्राप्त गर्नुमा देशको, जनताको सम्मान त छ छ, एमाले पार्टीको भाग्य र भविष्यको निर्धारणसमेत निर्धारित हुनेछ ।
स्मरणरहोस्, जनदमनकारी रोबर्ट मुगावेलाई ९३ वर्षको उमेरमा ३० वर्षको् कठोर जेल सजाय भयो । निरंकूश नबनेको भए नेपालको राजतन्त्र यसरी किनारा लाग्नुपर्ने थिएन । पेरुका फुजीमोरी भागेर जापानमा शरणागत हुनुपथ्र्यो र ?
समय, सत्ता र यौवन स्थिर हुन्न । त्यसको समयावधि हुन्छ । एउटा नेताले आफूलाई जनताको कसीमा सुन सावित गर्नसक्यो भने इतिहासको पानामा अमर हुन्छ, आफ्नो गल्तीले नेताको नाम इतिहासमा कलंकित भएर अंकिन पनि हुन्छ । यो समयले दिएको सुनौलो अवसर हो, ओलीलाई समय थाहा छ, कर्तव्यवोध पनि छ, उनले आफूलाई एमाले नेताबाट प्रधानमन्त्री बनाउन त सफल भएका छन्, विश्वास छ, उनले आफूलाई राजनेताको दर्जामा पनि स्थापित गर्नेछन् ।
पुराना कुरा कोट्याएर देश बन्दैन । पुराना गफ हाँकेर पनि सम्पन्नता आउन सक्दैन । न त अर्को पार्टीलाई गाली गरेर सुशासन आउनसक्छ । देशको सबैभन्दा ठूलो आवश्यकता अनुशासन र कानुनको अनुशरण हो । विधिको शासन भाँडिएको अति राजनीतिकरणले हो । भागबण्डा र आपराधिक सेटिङ् मिलोमतोले हो । विधि स्थापित गर्नसके अनुशासन र सुशासन त आउँछ नै देशको सम्पन्नताको सुरुआत बिन्दु पनि त्यही हुनेछ । यसमा प्रधानमन्त्री केपी ओली सजग हुनुपर्छ ।
अव पैसाले संवैधानिक निकायको पद किन्ने, शक्तिशाली पदमा पुग्ने र कानुन मिच्ने छुट हुनुहुन्न । पहिला पहिलाका सरकारले जे गरे, ती गल्ती कमजोरीलाई सच्याएर एउटा लोकतान्त्रिक राजमार्गको निर्माण प्रधानमन्त्री ओलीको पहिलो प्राथमिकता हुनुपर्छ । लोभ, लालच, कमिशन, माफियागिरी यी सबको अन्त्य बिना राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक र अन्य कुनै पनि अनुशासन कायम हुनसक्दैन । हिजो जे भए भए, अव संविधानको कार्यान्वयन गर्न र विधिको शासन स्थापित गर्ने महत्वपूर्ण जिम्मेवारी जनादेशबाट प्राप्त भएको छ । अहिले पनि जनअपेक्षा छायाँमा पार्न खोजियो भने त्यो गम्भीर भूल हुनेछ ।
समाजमा बिभेद छ, निषेध छ । १२६ जातिको देशमा यी विभेद र निषेध, अन्धविश्वास र अन्याय हटाउन पहिलो ध्यान दिनसक्नुपर्छ । कमजोर बर्ग सधैं पीडित हुने र सत्ता, शक्तिमा बस्नेहरुको पहुँचका आधारमा तिनले कमजोरका हकाधिकार खोस्ने हो भने न्यायपूर्ण समाजको सिर्जना सम्भव छैन । जसरी ०५१ सालमा अल्पमतको सरकार चलाएर मनमोहन अधिकारी आजसम्म जनताको मन जित्न सकिरहेका छन्, अमर छन्, केपी ओलीका सामु त्योभन्दा सुन्दर मौका छ । उनले कमजोर र सिमान्तकृत बर्गको हितमा काम गर्न सके भने त्यसले ओलीको देशभक्तिमा चारचाँदको चमक ल्याउन सक्छ । यो मौका ओलीले आफै आर्जन गरेका हुन्, अव जनताको सम्मान आर्जन गर्नसक्नुपर्छ । शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper