banner
banner

के देख्छन् होला यिनले ?

अधिवक्ता गंगा दाहाल -
यी व्यक्ति आम नेपाली हुन् । आम नेपाली यस्तै नियतिमा छन् । यिनी भविष्य हेर्दैछन्, सुखको कामना गरिरहेका छन्, दु:ख हटोस् भन्ने इच्छा राख्छन् तर यिनको भविष्य यति अन्धकार छ कि यिनले कालो बादलमा कतै चाँदीको घेरा देखेका छन् भनेर कसैले विश्वास गर्न सक्दैन । किनभने नेपाली आमनागरिकको नियति भ्रममा बाँच्नु हो, आश्वासन र सपना साँच्नु हो । सरल छन्, सहज छन् र छोटो स्मरणशक्ति छ नेपालीहरुको । यसकारण जतिसुकै अपराध गरे पनि केही समय बित्नासाथ बिर्सन्छन् र यसैगरी आफ्नो भविष्य अन्धकारमा नियाल्छन् ।
जनप्रतिनिधिहरु पाइला पाइलामा अपराध गर्छन् । अनियमितता र नियत खोटो छ यिनको । यिनको नियत खराव हुँदा आममानिस र राष्ट्रको समेत अवमूल्यन भइरहेको छ दिनदिनै । निष्ठा, नैतिकता र सिद्धान्तमा कुनै नेता पनि खरो उत्रन सकेनन् । भन्नलाई नयाँ नेपाल बनाउने भन्छन्, तर यति मीठो भाषण गर्ने व्यक्तिहरु नाचघरको कलाकारजस्ता लाग्छन् किनभने यिनले बोलेका कुरा कथामा बर्णित र मञ्चमा मञ्चन गर्ने विषयमा सिमित छ, व्यवहारमा आनका तान भिन्नता, लोकाचारसमेतको ख्याल गर्दैनन् जनप्रतिनिधहरु ।
यही मारमा परेका छन् कर्मचारी बर्ग र नेताका पाइलामा पाइला मिलाएर हिड्दा पाइला पाइलामा राष्ट्रघात र देशघात भइरहेको छ । यही घात हो कूशासन । आवश्यकता छ सुशासनको, कुरा सुशासनको गरिन्छ र सुशासनका मार्फत नयाँ नेपाल बनाउने भन्छन् तर जो आफै फोहरको दलदलमा यसरी भासिएका छन् कि यिनले सफाइको कुरा गर्नु, निर्माणको कुरा गर्नु अनौठो लाग्छ ।
निर्माण गर्न नियत ठीक हुनुपर्छ, इमान बलियो हुनुपर्छ र ससाना स्वार्थले पगाल्न नसक्ने अडान हुनुपर्छ । जब केही गर्छु भन्ने इच्छाशक्ति नै छैन, उसले के को नयाँ नेपाल बनाउँछ । भएको घर बिगारिरहेको छ, छाना भत्काएर र बालेर खरानी समेत बेच्दै मुनाफा कमाउने फौबञ्जार कसरी राष्ट्रनिर्माण, सुशासनको प्रत्याभूत गर्नसक्ने ल्याकत र ताकत राख्न सक्छ र ?
राजनेताको कमी खड्किएको छ । राजनेता नभएकाले अगुवा कोही छैनन्, परिवर्तन त भयो, परिवर्तन संस्थागत हुनैसकेन । परिवर्तनलाई गति र दिशा दिने नेतृत्वको विकास नै हुनसकेन । सबै स्वार्थका लम्पट बनेका छन्, विदेशीका सामु लम्पसार परिरहेको देखिन्छ । पहिचान र देशभक्तिबिना देश बन्दैन, पछति ठूलो कुरा होइन । कुनै पनि पद्धति आफैमा राम्रो नराम्रो हुँदैन, नराम्रो भए पनि सुधार गरेर अघि बढ्न सकिन्छ । पित्तल पहेंलै हुन्छ, सुन हुनसक्दैन नि ।
२०६३ सालमा परिवर्तन भयो । २०६५ साला त गणतन्त्र नै कार्यान्वयन भयो तर संविधान लेख्न २०७२ साल कुर्नुपर्‍यो । संविधान लेखियो, अझै कार्यान्वयन भएको छैन । स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनसमेत सकियो । अव निर्वाचित सरकार बन्नेवाला छ । तैपनि संघीयता सफल होला कि नहोला, धर्मनिरपेक्षता र राजतन्त्र, संसद नमान्नेहरुको असन्तोषको व्यवस्थापन कसरी गर्ने, संक्रमणकालीन न्याय व्यवस्थापन गर्ने चुनौतीको सामना हुनसक्ला कि नसक्ला, संघीय नामाकरण देखि २ नम्बर प्रदेशमा राष्ट्रिय पोसाकको विवादले ठूलै रुप लिएकाले त्यसमा के हुने हो ? आदि आदि प्रश्नहरुको चुनौती खडा छ ।
यी चुनौती अहिलेसम्मका नेताहरुको क्रियाकलाप र चरित्रले सामना गर्नसक्ला जस्तो लाग्दैन । नेताहरुले आफूलाई राजनेताका रुपमा ढाल्न सके भनेमात्र लोकतान्त्रिक गणतन्त्रले साकार रुप लेला र परिवर्तन संस्थागत हुनसक्ला अन्यथा जुन परिवर्तन छ, यो बाँदरको हातमा नरिवल पनि हुनसक्छ । चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper