banner
banner

बिसे नगर्चीको प्रसङ्गले गरेको संकेत शक्तिको श्रोत जनता

स्वयम्भुनाथ कार्की -
जती खेर बाईसे चौबीसे राज्यहरु लगायत तीन शहरका शासकहरु मोजमस्ती तथा भोग विलासमा मस्त थिए त्यही समयमा बीस बर्षे गोरखाली ठिटो राजा भए पछि निरन्तर जनताको सल्लाह सुझव र सहयोगको निमित्त भौतारिरहेको थियो । बीसे नगर्चीको सल्लाह अनुसार जनताबाट सहयोग र साथको आकांक्षा लिएर भौतारिएको राजालाई जनताले निरास बनाएनन्, बरु शक्ति थपिदिए र नै आधुनिक नेपालका एकिकरण कर्ताको रुपमा श्री ५ पृथ्वी नारायण शाहको नाम कायम भयो । तुलनात्मकरुपमा कमजोर तथा सानो राज्य गोरखाले आफु भन्दा शक्तिशाली र ठुला राज्यलाई नेपालमा मिलाउन सफल हुनुमा जनताबाट उनलाई प्राप्त शक्तिको भुमिका छ । जो शक्ति मृत्यु पर्यान्त यानी आगामी बाह्र बर्षसम्म उनले निरन्तर पाई रहे । उनका छोरा प्रतापसिह शाहको छोटो कार्यकालमा पनि जनता शक्तिका श्रोत हुन भन्ने सत्य स्विकार गरियो ।
प्रताप सिंह शाह पछि नेपालमा दुई बर्षको उमेरमा पहिलो शिशुराजा भए जसको नायबीको कलहमा शक्तिको श्रोत जनतामा हुन्छ भन्ने सत्य नकारियो र भारदार वा कुलिन वर्गको गुट र उपगुटहरुमा शक्तिको श्रोत हुन्छ भन्ने गलत मान्यताले जरो गाड्यो । यसको असर त हुनु नै थियो भयो, कहिले थापा कहिले पाण्डेको कलहमा फसेर सर्वसाधारण जनता समेतका पुर्षाको रगत पसिनाले बनेको मुलुकमा राजाहरु सय सवासय बर्ष खोपीमा थुनिन बाध्य भए । राजा राज्यच्यूत भएर आफ्नो छोराको वैधानिक सत्तामा पनि जेलमा थुनिन बाध्य भए । यदी राजेन्द्र विक्रम शाहले सर्वसाधारण जनता शक्तिका श्रोत हुन भन्ने तथ्य स्विकारेका भए राजा सुरेन्द्रका नाममा जंग बहादुरले उनलाई जीवनको उत्तरार्धमा जेल हाल्न सक्ने थिएनन् । अझ राजेन्द्र लक्ष्मी र बहादुर शाहकोवीचमा मनोमालिन्य नभएको भए थापा र पाण्डे खलकको खुनी जुवारी चल्ने थिएन र नेपालले विकासतर्फ पाईला बढाउने थियो ।
त्यतिवेला राणाहरुले खोपीमा थुनेर राखेका राजालाई त्यस कैदबाट बाहिर निकल्न सर्वसाधारण जनता नै लाग्नु पर्‍यो बरु यो गरे वापत ती वीर नेपाली सपुतले आफ्नो ज्यान नै गुमाउनु पर्‍यो । नेपालीले प्रात स्मरण गर्ने गरेका पहिला चार शहिदका रुपमा आफ्नो नाम लेखाएर नेपाली जनताले आफ्नो कर्तव्य पुरा गर्‍यो । जनता शक्तिका श्रोत हुन भन्ने कुरा पुन स्थापित भए पनि जनतासम्म निरन्तर पुग्न कोही तैयार भएनन् । यस काल खण्डदेखि मुलुकमा राजाले शासन गर्छन् भन्ने मान्यताको बदला जनताले चुनेका प्रतिनिधिले शासन गर्छन् भन्ने मान्यता शुरु भएकाले जनता शक्तिश्रोत हुन् भन्ने कुरा राजाले भन्दा नेताहरुले मान्नुपर्ने थियो । यो कुरा माने पनि जनतालाई भागबण्डा लगाउने परिपाटी सुरु भयो । यी हाम्रा जनता यी विरोधीका जनता भनेर जनतालाई टुक्रा पार्ने त्यतिखेर शुरु भएको अपराध अहिलेसम्म कायम नै छ ।
दलहरुलाई आआफ्नो धुनमा मस्त रहन छोडेर फेरी युग पछि राजा महेन्द्र सर्वसाधारण जनतासँग शक्ति प्राप्त गर्न जनताको घर दैलोमा पुग्न थाले । जनताको शक्तिका श्रोत हुन भन्ने सत्य बोध भएका उनले अत्याधिक बहुमत प्राप्त सरकारको ठाउमा आफैले सत्ता संचालन गर्ने हिम्मत गर्न सके । पछिल्ला एघार बर्ष उनको कार्यकालमा जनता जनतावीच भिन्नता हैन एकता ल्याउने प्रयत्न गरे । जनतासंग प्रत्यक्ष सम्वन्ध कायम गर्ने कामलाई महत्व दिएका कारण उनको त्यो एघार बर्षको कार्यकालमा कुनै ठुलो विरोध खेप्नु परेन । तर यो अबस्था उनी पछि भने कायम रहन सकेन, भाई भारदार नातेदार वा प्रभवाशाली मानिएकाहरुले बनाएको घेरा राजतन्त्रले चिन्न सकेन । राजा र जनताको प्रत्यक्ष सम्पर्कको कुरो त परै जाओस् सामान्य दर्शनभेटमा पनि पोशाक, दरवारिया भाषा जस्ता व्यबधान खडा गरेर राजा र जनता विचको पर्खाल झन मजबुत बन्दै गयो । 
अन्तत: सर्वसाधारण जनताबाट टाढा भएको परिवार पारिवारिक कलह कै कारण मृत्यु बरण गर्न पुग्यो । यो तथ्यमा कसैले आरोपको रुपमा अगाडी सारेको पात्र होस् वा छानविन समितिको प्रतिवेदन होस् दुवैले परिवार भित्रवाट नै हत्याकाण्ड मच्चिएको तर्फ औल्याउछन् । त्यसैले जनताबाट टाढा भएर आफै र आफ्ना सिमित घेरामा बाँधिएको राजपरिवारले विभत्स रक्तपातको शिकार भयो भन्ने तथ्य हो । त्यसपछि राजाका रुपमा आएका राजाले घेरा तोड्ने प्रयत्न गरेजस्तो त महशुस भएको हो, तर घेरा चर्काउन पनि नसकेको भन्न कठिन छैन । घेरा तोड्ने सामथ्र्य नभएको भन्दा पनि बलियो ईच्छा नभएको जस्तो उनको करिव सात वर्षको गद्दी अवधिमा देखिएको कुरा हो । 
नारायणहिटीबाट विदाई लिने वेलामा हाम्रा तर्फबाट बोली दिने कोही भएनन् भन्ने गुनासोले पर्खाल वारीका जनताको मन छोयो । पाखा लगाईएका उनलाई यदी जनताको शक्ति स्विकार गर्ने भएमा हामी साथ छौ भनेर जनाउ दिन जनता उनीतर्फ ओईरिदै छन् ।  अब यो ओईराई कत्तिको स्थायी हुन्छ त्यो भने जनताको हातमा भन्दा स्वयं पाखा लगाईएका राजामा नै निर्भर गर्दछ । सर्वसाघारण जनताले भने विगत केही बर्षमा वीचको त्यो पर्खाल कमजोर भएको महशुस गरे पनि हालका केही समयदेखि त्यो पर्खाल फेरी मजवुत र अझ अग्लो हुँदै गएको महशुस गर्दैछन् । नेपालको आजको अबस्थामा धेरैले उनलाई उज्यालोको किरणको रुपमा हेरेका छन । जनताबाट शक्ति लिन आफु र जनताको विच अबरोध हुनुहुदैन भन्ने तथ्य कुनै राजाको जीवनमा आईपर्ने सबैभन्दा कठिन र पिडादायक अनुभव बटुलेका राजा ज्ञानेन्द्रलाई थाहा छैन होला भनेर मान्न कोही तैयार छैन । आफ्ना पुर्षा पृथ्वी नारायण शाह, पिता महेन्द्रलाई सम्झेर राष्ट्र र जनताको भलो गर्न कुनै पनि रुपमा प्रकट हुनु उनको कर्तव्य पनि हुन आउँछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper