banner
banner

जनता मतदान गर्ने मेसिनमात्र होइनन्

स्वयम्भुनाथ कार्की -
हुन त ‘संघे शक्ति कलियुगे’ भनिन्छ, यो कुरा ठिक पनि हो । तर पञ्चायत पछि जस्ता किसिमका संघ संगठनहरु सामुन्ने आएका छन्, तिनीहरु सर्वसाधारण जनताको शक्ति बढाउने किसिमका भएनन् । हुनत हरेक जसो धार्मिक, आर्थिक, समाजिक, राजनैतिक आदि स्वरुपका संगठनहरुले उदेश्यमा सर्वसाधारणको भलोको कुरा राखेको भए पनि व्यवहारमा त्यसो भएन  । यस्ता संगठनहरु नेता उत्पादन कारखानाको रुपमा नै देखिए, केही टाठाबाठाहरुको प्रभाव प्रवद्र्धन गर्ने औजार । सबैभन्दा दुर्भाग्यपूर्ण कुरा त के रह्यो भने हरेक संगठनहरु कुनै न कुनै राजनैतिक दलका प्रत्यक्ष वा परोक्ष भातृ संगठनमा रुपान्तरण भए ।
२०६२ पछि झन अनेकौ प्रकारका यस्ता समुहहरु जन्मे । कोही हिन्दूत्वको नारा दिएर, कोही राष्ट्रियताको । सर्वसाधारणले सक्दो सहयोग गरे, समय दिए, धन दिए, ज्यानै पनि दिए, तर नतिजा ? कसैको घर बन्यो, कसैको व्यापार फस्टायो, कोही नेता बने कोही सत्तामा गए । जनताको दुख कष्टले भन्दा बागमतीमा बग्दै गरेको प्लाष्टिकले महत्व पायो । संचारमाध्यममा आउन र नाम चिनाउन अनेक नारा र काम भए । सर्वसाधारणको लगानीको योभन्दा ठूलो दुरुपयोग अरु के हुन सक्छ र ? 
कोही ‘नयाँ शक्ति’को जपमा लागे, कोही युवा संगठन गर्न । राष्ट्रप्रेम र राष्ट्रहितको काम टिसर्टमा नारा लेखेर बाँड्नमा सिमित भयो । लाखौ करोडौको चन्दा मुलुकको भलोको नाममा उठाइदैछ , केवल धर्मको नाममा मात्र विगतका बर्षहरुमा उठेका चन्दा अरवौ नाघेको छ । यसले केही धार्मिक नेता जन्मायो, केही व्यक्तिको नाम र उसको नेतृत्व चम्कायो । राष्ट्रहित भनेर खोलिएका संगठनले विदेशमा दुख गरेर कमाएकोबाट लिएको चन्दाले खेल आयोजन गर्दैछ । यो भन्दा शरममर्दो कुरा अरु हुन सक्दैन ।
जनता सर्वोच्च, जनता शक्तिमान भन्दै जनतालाई नै निरिह ठान्ने अनि त्यही जनताको ढाडमा टेकेर टाउकोमा हान्ने यो प्रवृतिको अव अन्त हुनु पर्दछ । यो अन्त गर्न कुनै देवदुतको प्रतिक्षा गर्न आवश्यक छैन, कुनै युगनायकको पनि आवश्यक छैन । किनकि युगनायक बन्ने ल्याकत कसैमा देखिएको छैन । केवल जनताले आफ्नो शक्ति महशुस गरेर त्यसको प्रयोग गर्नु नै प्रयाप्त हुन्छ । जनता भनेको आवधिकरुपमा निर्वाचनमा मत हाल्ने मेसिन मात्र होईनन्, तर बनाइए । यस्ता निर्वाचनबाट जनताले आफ्नो मालिक हैन सेवक रोज्ने हो । यो कुराको चेतना जति प्रसार भयो त्यति बाटो सरल हुन्छ । जनता आफै संचेतन हुनुपर्‍यो ।
एक हैन अनेक सानासाना समुहमा जनताले कमसे कम हप्तामा एक घण्टा छलफल गर्नु पर्दछ । सबैको समान अतित्व, समान मान स्विकार गरेर बनाईएका यस्ता छलफल समुहहरु एक अर्कासंग समन्वय राखेर वा नराखी पनि काम गर्न सक्छन् । समन्वय राख्नु पर्ने अवस्थामा कुनै ‘माथी’को निर्देशनमा आएको समन्वयकर्ता नभई आफुहरुले नियुक्त गरेको समन्वयकर्ता मार्फत काम गरिनु पर्दछ । यस्ता समुहहरुलाई एक अर्कासंगको नाता कायम गर्न केही अपरिवर्तनिय आधार आवश्यकता पर्दछ । यस्ता आधार बाहेक आफुलाई के चाहिन्छ वा के गर्नुपर्दछ भन्ने कुरा आफैबाट तय गरिनु पर्दछ ।
नागरिकताको प्रमाण पत्र, छालाको रंग, जन्मस्थान , समुदाय आदिले फरक नगरिएको केवल मन वचन र कर्मले नेपाली भएको नेपालीहरुका यस्ता समुहले मात्र देशलाई निकाश दिन सक्छन् । ससाना समुहमा एकले अर्कालाई राम्ररी चिनेको हुन्छ त्यसैले को वास्तविक नेपाली हो वा होईन भन्ने कुरा जान्न त्यहाँ सरकारले दिएको नागरिकता भन्दा आफुसंग भएको जानकारी ज्यादा आधिकारिक हुन्छ । उद्देश्यबाट विमुख नहुन त्यस्ता समुहहरुले आधारको निमित्त यी ८ बुँदा अपनाउन् ।
१.पहिलो र मुख्य परिचय नेपाली हुनुपर्छ ।
२. नेपाली नेपाली बीच कुनै प्रकारको विभेद हुनुहुदैन ।
३.नेपालको हित सदैव पहिलो स्थानमा रहनु पर्दछ ।
४. व्यक्तिपुजा हैन सामुहिक निर्णय अपनाउनु पर्छ ।
५. शिप, कौशल, ज्ञान र नेतृत्व निरन्तर हस्तान्तरण गरिनु पर्छ ।
६. नेतृत्वका सकेसम्म धेरै उत्तराधिकारी तैयार गरिनु पर्छ ।
७. यी मान्यताहरु आफ्नो दैनिक जीवनमा समाहित गरिनु पर्छ ।
८.राष्ट्रसेवा भनेको आफ्नो सेवा हो त्यसैले अरुले गरे गरेनन भन्दा पनि आफैले गर्ने बानी विकास गरिनु पर्दछ ।
लक्ष कठिन हुन सक्छ तर असंभव भने विल्कुलै छैन । आफ्नो समस्या आफुले नै सबैभन्दा धेरै र राम्रोसंग बुझेको हुन्छ । त्यसको समाधानको उपाय पनि आफुहरुबाटै निस्कन्छ, त्यसैले यस्ता समूहहरु र त्यसमा लगानी गरेको समय, साधन र श्रोत भनेको आफ्नो निमित्त गरेको लगानी सरह हो । अरुले यो लगानी गर्दा फाईदा पनि उसैले लैजान्छ । आजैदेखि अहिल्यैदेखि यस्ता समूहहरु गठन गरेर सल्लाह थालीहाल्ने हो भने त्यसको नतिजा चमत्कारिक नै हुन्छ । यसमा कसैले शंका नगरे हुन्छ । जनता आफै संठित हुने एकमात्र विकल्प यही हो, यतैतिर जनता लागिहाल्नु उचित ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper