banner
banner

प्रवुद्ध समूहले के गर्ला कुन्नी ?

बरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल -
हो, नेपालमा यही सत्य चलनचल्तीमा छ । नेताका छोराछोरी विशिष्ट हुन्, जनताका छोराछोरी निकम्मा । यसकारण नेताका छोराछोरीले पाउनुसम्म सुविधा पाएका छन्, जनताका छोराछोरी गाँस, बास, कपास, अवसरका लागि सधैं युद्ध लडेजस्तो लडिरहेका छन् । आखिर किन ?
यही हो ह्याभ र ह्याभनटवीचको द्वन्द्व भनेको । यो द्वन्द्वलाई जातीय द्वन्द्वतिर फर्काएर कम्युनिष्ट शक्तिले देशलाई अर्को महाभारतको सम्भावित आगोको मुस्लोमा होमिदिएका छन् । जुन राजनीतिक अपराध हो । त्यो अपराध बढ्दै छ ।
जनताका छोराछोरीले ४० लाख तिरेर डाक्टर पढ्न सक्दैनन् । प्राविधिक शिक्षा महगो छ, त्यो पनि आर्जन गर्न सक्दैनन् । साँचो कुरो त के छ भने छोरा ठूलो भएपछि कमाउन विदेश जान्छ, किन पढ्नुपर्‍यो । छोरी हुर्केपछि अर्काको घरमा जाने हो किन पढाउनु पर्‍यो ? यही मानसिकता विकास भएको छ, हाम्रो देशमा । अझ डोल्पाका गाउँ गाउँमा समेत गर्भमा छोरा छ कि छोरी छ भनेर जचाउँने हुइया पुगिसकेछ । छोरी भए गर्भ तुहाइदिने, फालिदिने र छोरा भए जन्माउने लहर चलिसकेछ । यस्तै खबर आएको छ एक अध्ययनबाट । राजधानीमा गर्भजाँच अनैतिक हो भने पनि गोप्य रुपमा त्यो चलिरहेको छ । गाउँतिरका स्वास्थ्यसंस्था अथवा मोफसलका ठूला सहरमा खुलेआम गर्भजाँच निर्वाध चलिरहेको छ । किन भनेर सोध्दा छोरीलाई विहे गर्दा दाइजो दिन सकिन्न भनेर गर्भ तुहाएको रे । नेपालमा यस्ता विकृति र विसंगति कति छन् कति ?
समाज नैतिकपतनतिर लाग्यो । पश्चिमाहरु यो नैतिकपतनलाई विकास भनिरहेका छन्, सभ्यता भनिरहेका छन् । हाम्रो देशमा छोरी मार्ने यो आधुनिक विज्ञान महामारीको रुपमा फैलियो, रोक्ने हिम्मतवाला कोही जन्मेन ।
पैसा नै आचारसंहित, सम्मान बन्यो । पैसा भएपछि मान, सम्मान, इमान र ठूलो मान्छे हुनपाइन्छ भन्ने रोग पस्यो । गरिवका छोराछोरी भनेको विदेशमा जानु र श्रमिक हुनु नै हो । जोसँग ल्याकत र क्षमता छ, ती पनि राजनीतिक र प्रशासनिक भ्रष्टाचारको सिकार भएर अवसरविहीन भइरहेका छन् ।
नेपालमा कार्यरत विदेशी दूतावासहरुले पनि उनीहरुको स्वार्थअनुकूल सूचना लिन र निर्णय गराउनका लागि नेपालीका नाममा नेता र प्रशासक, पहुँचवालाहरुकै नातेदारहरुलाई छात्रवृत्ति, अन्य अवसरहरु जुटाइरहेका देखिन्छन् । ओठे भाषामा भन्ने हो भने नेपालमा जति पनि कूटनीतिक नियोगहरु छन्, ती सबै कूटनीतिक भ्रष्टाचार बढाइरहेका छन् । उनीहरु आफ्नो स्वार्थशिद्ध गर्न नेता, प्रशासक र तिनका आसेपासेहरुलाई लाभ दिएर गरिब, सिमान्तकृत बर्ग, समुदायको दुरुपयोग गरिरहेका छन् भन्द फरक पर्दैन ।
२०७२ वैशाख १२ मा भूकम्प गयो, भूकम्प गएपछि चीनले भूकम्प पीडित युवाहरुलाई कसरी पुननिर्माणमा जुट्ने, साहस बढाउने, आत्मनिर्भरतातिर लाग्ने भनेर चीनका भूकम्पपीडित क्षेत्र र जनतासँग अन्तरक्रिया गराउनका लागि सय जनालाई चीन लाने निम्तो दियो । तर, गए एमाओवादीका ठूला नेता, तिनका छोराछोरी, श्रीमतीसम्मले चीन भ्रमण गरेर फर्किए । यति सानो चित्त भएका नेताहरु छन् नेपालमा । यिनले आमनागरिकको शोषण र दोहन कुन हदसम्म गरेका होलान् ? प्रचण्डका पुत्र प्रकाश दाहाललाई हिमाल चढ्नसमेत २ करोड राज्यकोष दिइएको थियो । उनी छैनन् तर दिनेवाला बाबुराम जिउँदैछन् । बाबुरामपुत्री मानुषिलाई भारतले छात्रबृत्ति दियो । अमिक शेरचनका छोराहरु छात्रबृत्तिमै पाइलट कोर्ष पूरा गरे । अमेरिकामा काम गरिरहेका छन् । छोरी बेलायतमा छिन् । कृष्णबहादुर महराका दुई छारा र दुई छोरी पनि शिक्षित छन् । टोपबहादुर र वर्षमान पुनका छोराछोरीहरु महँगा र प्रतिष्ठित स्कूलमा पढ्न पाए । भन्नुको मतलव एमाओवादीका मात्र होइनन्, कांग्रेस, एमाले र अरु पार्टीका नेताका छोराछोरीलाई भारत र अन्य मुलुकले छात्रबृत्ति दिएर पढ्ने अवसर दिएको छ । नेताका सन्तानभन्दा जनताका सन्तान कुनै क्षेत्रमा पनि प्रतिभावान छन् तर जनताका छोराछोरी कमैलाई मात्र यस्तो शौभाग्य प्राप्त हुनेगरेको छ । किन ? यसको अर्थ कूटनीतिक भ्रष्टाचार नभए के हुनसक्छ ? कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, शेरवहादुर देउवा र कृष्णप्रसाद सिटौला अथवा अरु । सबैका सन्तान सबैले विदेशमा अथवा महँगा शैक्षिक संस्थामा अध्ययन गर्ने अवसर पाएका छन् । माधव नेपालका सन्तानलाई पाकिस्तानले छात्रवृत्ति दिएको थियो, भारतीय दूतावासले क्यान्सिल गराउन लगाएर घरमै छात्रबृत्ति पुर्‍याइदियो । झलनाथ खनालका छोरा त अमेरिकाको ग्रिनकार्ड होल्डर बनिसकेका छन् । राष्ट्रपति विद्या भण्डारीकी एउटी छोरीले भारतमा छात्रवृत्ति पाइन् भने अर्की नेपालमै डाक्टर बनेकी छिन् । वामदेव गौतमले सहिदका सन्तानलाई दिने कोटा आफ्ना छोरालाई दिलाएर चीनमा पढाए । तिनै कम्युनिष्ट सर्वहारावादी हुँ भनेर नाक फुलाउने गर्छन् । एमालेका महासचिव ईश्वर पोखरेलका दुई छोरा अमेरिकामै छात्रबृत्तिमा पढ्न पाए । भन्नुको अर्थ विदेशीहरु नेपाली राजनीतिमा छात्रबृत्तिको चारो हालेर नेपालमा चलखेल बढाइरहेका छन् । कूटनीतिमा केही पनि सित्तैमा दिइदैन, पाइदैन भनिन्छ । नेपालको सामरिक महत्वको स्थितिमा विदेशी खेलिरहेका छन् ।
नेपालमा सबैभन्दा बढी छात्रबृत्ति दिने मुलुक भारत हो । भारतले वर्षेनी २ हजारभन्दा बढी छात्रबृत्ति दिन्छ र धेरैजसो राजनीतिक, प्रशासनिक र नागरिक समाजका प्रतिनिधिका सिफारिसमा बितरण गर्छ भने कतिपय एजेन्टलाई कोटा दिएर बेच्ने गरेको छ । भारतीय दूतावासको शिक्षा विभागलाई भन्सार त्यसै भनिएको होइन । पाकिस्तान र बंगलादेशका छात्रबृत्ति शिक्षा मन्त्रालयले लिएको छ, चीन र अन्य देशले पनि एकाध छात्रवृत्ति दिने गरेका छन् । तर छात्रवृत्ति कूटनीतिभित्र राजनीति गर्ने मुलुक भारत एकछत्र छाएको छ ।
भारतीय हस्तक्षेपले सीमा नाघिसक्दा पनि नेपाल सरकार, नेपालका नेताहरु र नागरिक समाजका अगुवासमेत भारतसँग सम्हालिएर बोल्छन् । यिनै नेताहरु स्वाभिमान र स्वाधीनताका भाषण पनि गर्छन् । मन्त्रिपरिषदले गरेको निर्णय तात्तातै भारतीय दूतावासमा पुग्नु र नेपाली राजनीति गरुडको छायाँ परेजस्तो हुनुमा पनि भारतीय छात्रवृत्ति र उसले दिने पेन्सन, गाडी र खर्चपानी पनि एक हो । नून खाएपछि मुख त बन्द हुन्छ हुन्छ । यस्ता देशले गठन गरेको प्रवुद्ध समूहले के लछार्ला कुन्नी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper