banner
banner

विधिको शासन : बिगतको शासन

स्वयम्भुनाथ कार्की -
हुनत विरोधीहरुले पञ्चायतलाई लगाउने प्रमुख आरोप नै राजाको सकृय नेतृत्व रहेकोले पञ्चायतलाई विधीको शासन हैन भन्ने नै हो । जनमत संग्रह पछि सुधारिएको पञ्चायती व्यवस्थाले पनि केही मात्रामा भए पनि विरोधीको त्यो आरोप अनुसार विधिको शासनवाट हटने प्रयत्न भने गरेको थियो । जो त्यो व्यवस्थाको मुल ढाँचाको विपरित थियो । यसै कारणले नै त्यस पछिको आन्दोलन थेग्न सकेन । सबै नागरिक एक समान हुन र सबै पञ्च कार्यकर्ता आफैमा स्वतन्त्र ईकाई हुन भन्ने मान्यतालाई लत्याउदै केही आफैलाई महापञ्चको रुपमा उभ्याउन सफल भए । दलमा जस्तो पञ्चभेला गराएर आफु अनुकुल निर्णय गराउने प्रयत्न नै राजा महेन्दको पञ्चायती दर्शनको विपरित थियो । यो यथार्थ हो ।
विधिको शासनको प्रत्याभूतिको निमित्त विधी के हो भन्ने कुरामा जनता सुसुचित हुनु पर्दछ । यसरी सुसुचित जनताको उपस्थितिमा विधि मिच्न कठिन हुन्छ । कुनै किसिमको शक्तिको दम्भले मिचिहाले पनि त्यो शक्ति छिटै प्रतिस्थापन हुन्छ । पञ्चायतकालमा स्कुलदेखि नै पञ्चायत विषय पढाइन्थ्यो । त्यसमा सबैको के कर्तव्य हो अधिकार के हुन्छ तथा कार्यपद्धति के हो भन्ने कुरा तह अनुसार पाठ्यक्रममा थियो । एस एल सी सम्ममा आफ्नो मुलुकको साथै विश्वमा प्रचलित प्रणालीहरुको वारेमा जानकारी दिई सकिएको हुन्थ्यो । पञ्चवर्षिय योजनाहरुमा के के छ , कुनवेला यी योजनाहरुको कार्यन्वयन के कस्तो भयो भन्ने जानकारी हुन्थ्यो ।
त्यसवाहेक नेपालका विधि पक्षहरु, जातजातीहरुको रहनसहन रितिरिवाज आदिको वारेमा पनि प्रारंभिक जानकारी सामेल थियो । कलेजमा यही विषयलाई नेपाल परिचय नामले निरन्तरता दिईएको थियो । जुन विषयमा उच्चशिक्षा हासिल गरेपनि आफ्नो मुलुक चिन्न र विश्वको वारेमा पनि केही जानकारी भएकाले कहाँ कसले कुन तहमा विधी मिच्दैछ भन्ने जानकारी भएको चेतनशिल र जागरुक शिक्षित समुह थियो । नागरिकलाई उसको आधारभूत कुरामा हस्तक्षेप हुँदैन भन्ने प्रत्याभुति दिने प्रणालीले काम गरिरहेको वेला सुधारिएको पञ्चायतमा केही प्रभावशालीले आफ्नो मनमानी गर्न खोजेको कुरा प्रत्युत्पादक भने भएकै हो ।
विधीको शासन भनिए पनि वर्तमानमा विधि केहो भन्ने कुरामा सबै अन्यौलमा रहेका छन । कुनै कोठामा केही सिमित व्यीक्रको सहमती वा असहमतिलाई मुलुकको व्यवस्थापिका पारित गर्न वाध्य छ । कुनै विधि वा कानुन किन पारित गरियो वा किन पारित गरिएन भन्ने कुरामा सर्वसाभारणको त कुरै भएन स्वयं परित गर्नेहरु नै अनभिज्ञ हुन्छन । त्यसमाथि पारित विधी नाघेर काईते बुँदाले काम भएको पनि विधी मानेको भनेर भन्न पर्ने अवस्थामालाई विधिको शासन भन्न मिल्दैन ।
दि पिपल्स अफ नेपाल लेखेवापत डोर वहादुर विष्टलाई राज्य विद्रोहको मुद्धा लगाउने प्रयत्न राजा महेन्द्रले असफल गरिदिएको कुरा वर्तमानमा समाचारहरुका शिर्षक बनेका छन । कति मुद्धाहरु यस्ता छन जो अहिले निरंकुश भनिएको पञ्चायती व्यवस्थाको प्रतिकुल फैसला भएर त्यो फैसलाको सम्मान भएको छ । यो त्यो व्यवस्थाको विधिको पालन प्रतिको प्रतिवद्धता नै थियो । नत्र भने आफ्नो विपरित फैसला आउँदा त्यसलाई अमान्य गरेका अनेकौ घटनाहरु पञ्चायत पछि भएका छन् । चाहे त्यो फैसलाको विरुद्धमा सहकमा कार्यकर्ताको उग्र प्रदर्शन होस् वा फैसला अटेर गरेर अदालतलाई चुनौति दिएर छाती खोलेर हिड्ने काम होस् । यो सबै पञ्चायतमा संभव नै थिएन न्यायलयको उच्च सम्मान थियो ।पञ्चायत कालमा त्यो व्यवस्थाले गरेको कुनै कामको विरुद्ध मुद्धा हालेर अदालतबाट जितेका वकिलहरुको स्मरणहरु पनि पत्रपत्रिकामा पढन पाईएको छ । न त्यस्तो फैसलाको अनादानर भएको कुनै घटना भेटिन्छ न त्यो फैसला वापत वकिल तथा न्यायधिशप्रति प्रतिशोधात्मक कारवाही भएको कुनै उदाहरण छ । यदि यसलाई विधिको शासनको उदाहरण नमान्ने हो भने विधीको शासन भनेको कस्तो हुन्छ भनेर प्रश्न गर्नु पर्ने हुन्छ । पञ्चायतमा त्यो व्यवस्थाको विधी पाठ्यक्रममा राखेर पढाइने गरेकोमा वर्तमानमा कुन विधि कहिले आउने हो र कुन विधि कहिले खारेज हुने हो त्यो नै केही व्यक्तिहरुको आपसी सल्लाहमा हुने गरेको छ । 
जनताले विधी नै थाहा नपाउने अवस्थामा जेलाई पनि विधि भन्नपर्ने वाध्यता हुन्छ । कानुन व्यवस्था कायम राख्नुपर्ने अंगले ठिकसंग काम गर्ने अवसर नै नपाउने अवस्थामा रहेको वेला विधीको शासन छ भन्न मिल्दैन । आफ्नो प्रत्यक्ष शासनकालमा आफुले गठन गरेको ‘शाही आयोग’ गैर संवैधानिक भनेर अदालतले भन्दा त्यो फैसला सम्मानपूर्वक मान्ने राजा ज्ञानेन्द्रले विधि मानेको ठहर्छ कि कुनै कुरामा अदालतले सोध्दा यो अदालतको क्षेत्र हैन भनेर ओठे जवाफ फकाउनु विधि मानेको ठहर्छ ? यो प्रश्नको उत्तर आफैले पुर्वाग्रह विना खोज्ने हो भने विधिको सम्मान गर्ने र विधिलाई अटेर गर्ने को पहिचान गर्न कुनै कठिन हुँदैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper