banner
banner

कांग्रेस प्रचण्डपथमा दुर्घटनाग्रस्त

शाश्वत शर्मा -
निर्वाचनको परिणाम आइरहदा नेपाली कांग्रेसलाई वाममोर्चाले लतारेको दृश्यले नेपालको राजनीति अव राताम्मे हुनपुगेको छ ।
जनयुद्धमा माओवादीले लतार्दा देशै रगताम्मे भएको थियो, त्यसपछि कांग्रेसले प्रचण्डपथमा विश्वास गरेर वीपीवादलाई लत्याइदियो । वीपीवादलाई लत्याउँदा केही समयको सत्तासुख त मिल्यो कांग्रेसलाई तर निर्वाचन परिणामले कांग्रेस अस्तित्वको संकटमा पुगेको छ । नेपालमा लोकतन्त्र खतरनाक मोडमा पुर्‍याउने जिम्मेवार स्वयम् कांग्रेस हुनपुगेको छ ।
१० वर्षे जनयुद्धबाट लोकमार्गमा माओवादीलाई ल्याएको दम्भ पाल्दा पाल्दै कांग्रेसलाई पहिले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति भनेर थाङ्नामा सुताउने माओवादी यतिबेला एमालेसँग वाममोर्चा बनाएर कांग्रेसलाई कलमी गर्न सफल भएको छ ।
हो, कांग्रेस रुखबाट ठूटोमा परिणत हुनपुगेको छ । निर्वाचनको परिणामहरु जति जति सार्वजनिक भइरहेका छन्, कांग्रेसका दिग्गज नेताहरुलाई वाम मोर्चाका नयाँ रङरुटहरुले धुलो चटाइरहेका दृश्यले कांग्रेसलाई ऐना हेर्न बाध्य पारिदिएको छ । नेपाली कांग्रेसजस्तो पार्टीको यसरी पराजय हुनेछ भन्ने कसैले सोचेकै थिएनन् ।
स्वयम् सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गर्जदै थिए– म सात पल्ट प्रधानमन्त्री हुन्छु, १५ दिनपछि निर्वाचन परिणाम आइसक्छ र फेरि पनि मै हुँ प्रधानमन्त्री । तर देउवाको दुर्भाग्य, उनले खाइरहेको प्रधानमन्त्री पद कम्युनिष्टको हातमा बुझाउनु पर्नेदिन आउन लाग्यो  कांग्रेस प्रचण्डका सामु चुक्यो, अहिले निर्वाचनमा जनताले चुकेको कांग्रेसलाई चुनावी मैदानमा नाङ्गेझार पारेर सुताइदिए ।
प्रजातन्त्रमा जनता कति सबल हुन्छ, अन्तिम फैसला जनताले गर्छ भन्ने विश्वास फेरि एकपटक शिद्ध भएको छ । जनतालाई कमजोर ठान्ने, बाढीपहिरो, भूकम्पपीडितलाई राहत नदिने र जनतालाई कमिल सम्झेर कुल्चने कांग्रेसलाई यतिबेला आफूले गरेका गल्तीको अनुभूति भइरहेको होला ।
जनतालाई कमजोर सम्झने र सत्ता र शक्तिलाई महत्व दिनेको हालत यस्तै हुन्छ राजनीतिमा । जुन गल्ती प्रचण्डले सरकारमा हुँदा गरेका थिए, माओवादीको त्यो स्थिति दोश्रो संविधानसभामा रहेन । संविधान जारी गर्ने कांग्रेसले संविधान कार्यान्वयनमा गल्ती गर्‍यो र पीडित जनतालाई राहत दिने विषयमा ध्यान दिएन, यहाँसम्म कि जनताका नाममा विदेशीले दिएको दान दातव्य, राहतमा समेत र्‍याल काढ्यो, त्यसको नतिजा संसद र प्रदेशको निर्वाचन परिणामबाट भोग्यो । जनतालाई जनार्दन सम्झन सकेको भए कांग्रेसको यतिसम्मको दयनीय स्थिति पक्कै हुनेथिएन । बरिष्ठ पार्टीबाट कनिष्टमात्र होइन, राष्ट्रिय पार्टी बन्न धौ धौ स्थितिमा समेत देखियो । कांग्रेसले अव आफ्ना गल्ती कमजोरीमात्र होइन, नेतृत्व र नीतिमा समेत पुनरावलोकन गर्न जरुरी छ र आफ्ना भ्रष्ट शैलीमा समेत सुधार नगर्ने हो भने ७ दशक पुरानो पार्टी मटियामेट हुन बेर छैन ।
किनभने कम्युनिष्ट त्यो शक्ति मानिन्छ, जसले सत्ता प्राप्त गर्न र सत्तामा टिकिरहन अनेक नाटक गर्न क्षमताको प्रदर्शन गरिरहनेछ । त्यसमाथि माओवादी र एमाले एकीकरण नै भइदियो भने ओलीले भनेझैं ५० वर्ष शासन गर्छौं भन्ने सावित हुनसक्छ । राजनीतिमा कांग्रेस सकिन्छ । हुनसक्छ कांग्रेसले आफ्नो वीपीवादी सोच र नीतिलाई छिटो अख्तियार गरेर अघि बढेन भने ओलीको चेतावनी शिद्ध नहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper