banner
banner

सप्तकोशी उच्चबाँध नेपालको हित कि अहितमा ?

बरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल -
भारतले सीमा क्षेत्रमा बनाएका १८ बाँधले हरेक वर्षातमा नेपाललाई डुबानमा पार्छ र मलेरिया क्षेत्र बनाइरहेको छ । डेंगुको रोग पनि डुबानकै कारण आएको बताइएको छ । नेपालमा बाँध बनाएर नेपाललाई नै समस्यामा पारिरहने भारतको रणनीति र त्यही रणनीतिको साझेदार बन्ने सत्तारुढ नेताहरुका सोचका कारण कोशी उच्च बाँध बन्ने खतरा देखिन थालेको छ । कर्मचारीतन्त्र र राजनीति भारतकोपक्षमा उभिनाले पनि बाँध बन्ने खतरा बढेको हो ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा गएपछि कोशी उच्च बाँध बनाउन सहमति दिएपछि सुरु भएको विवाद अहिले झन चर्किएर गएको छ । खासगरी शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गए र यही विवादास्पद भारतीय योजनामा ‘सप्तकोसी उच्च बााध र सुनकोसी स्टोरेज र डाइभर्सन स्किमका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयलाई गति दिने’ भनेर सहमति गरेर आएपछि विवाद चुलिएको हो । निर्वाचित प्रतिनिधिहरुले यसमा निर्णय लिनैपर्ने स्थिति सिर्जना भइसकेको छ ।
यस सम्बन्धमा सरकारका प्रतिनिधि शीतलबाबु रेग्मी भन्छन्– म यसलाई विरोधाभासपूर्ण रूपमा हेर्दिन । एउटै विषयलाई विभिन्न किसिमले प्रस्तुत गरिएको मात्र हो । कोसी बाँधको अवधि सकिइसकेको छ । यसको विकल्प खोज्नुपर्ने भएपछि कोसी बाँध बन्नुभन्दा पनि धेरै पुरानो अवधारणा ल्याइएको हो । कोसी उच्चबाँधको अवधारणा हालको कोसी बाँधभन्दा पुरानो हो । अहिलेको बाँध त्यसको सहायक मात्र हो । उच्च बाँध बनाउन दुवैतिर अग्लाअग्ला पहाड पनि हुनुपर्छ । यो उच्च बाँध सुनसरीको बराह क्षेत्र आसपासमा बनाउने गरी अध्ययन भइरहेको छ । यसको निर्णय सरकारले छिटै लिनेछ ।
अरुणकुमार सुवेदी– म धेरै पहिलेदेखि उच्च बाँधको पक्षमा बोल्दै आएको छु । बराह क्षेत्र र उदयपुरको मैनामैनी डाँडा जोडिने ठाउँमा २६९ मिटर अग्लो बाँध बनाउँदा त्रिशुल आकारको पोखरी बन्छ, जसको पूर्वमा तमोरको, पश्चिममा सुनकोसीको र बीचमा अरुणको शुल बन्छ । यसको विरुद्धमा जेजति टिप्पणी र आलोचना आएका छन्, त्यसको विरोधमा जवाफ दिन म सक्षम छु ।
विकास थापा – कोसी बाँध क्षेत्रका वासिन्दाको बुझाइ र भोगाइ हामीले काठमाडौंमा बसेर राखेको बुझाइभन्दा फरक छ । उनीहरू अहिलेकै बाँध र तटबन्धप्रति नै आपत्ति जनाउँछन् । यसका केही कारण छन् । पहिलो त, बाँध बनाउँदाका मुआब्जा र पुनर्वास अझै पूरा भएको छैन । त्यस्तै साउनको अन्तिम सातामा परेको पानी कोसी बाँधकै कारण नदीमा मिसिन पाएन र डुबान भयो । भारतले बनाएका अन्य सहायक संरचनाले पनि त्यो भूमिका खेलेको हो । यसैले स्थानीय वासिन्दामा सिंगो कोसी बाँधको अवधारणाप्रति नै नकारात्मक छ । उच्च बाँधबारे त सन् २०१२ मा अध्ययन सुरु भएदेखि नै स्थानीयले विरोध गरिरहेका छन् । विरोधको कारण सन् १९५४ को कोसी सम्झौताको कारण र यो उच्च बाँधले गरेको डुबान हो । त्यस्तै भारतले गरेका वाचा पूरा नहुँदा पनि स्थानीय रुष्ट छन् । कोसी उच्च बाँधको विषय अहिले मात्र आएको होइन । भारतले सधैं उच्च प्राथमिकतामा राखेको विषय हो यो । लगभग सबैजसो प्रधानमन्त्री भ्रमणमा जाँदा भारतले कन्भिन्स गर्ने प्रयास गरिरहेको छ ।
 कोसी बाँधको परिकल्पना अंग्रेजले भारतमा शासन गर्दादेखिकै हो । कोसीलाई बिहारको दु:ख भनिन्थ्यो । भारतीय भूभागमा त बाँध बनाउन मिल्दैन । बाँध बनाउने नेपालमै हो । बाँध बनाएर कोसीलाई नियन्त्रण गर्न सकियो भने बाढी नियन्त्रण गर्न लाग्ने पुँजी पनि जोगिन्छ, अहिले बाढीले खाएको उर्वर भूमिको उपयोग पनि हुन्छ भन्ने भारतको सोच थियो । त्यसैले भारतलाई उच्च बाँधबाट धेरै फाइदा छ । नेपाल आंशकित छ किनभने भारतले एउटा बाँध बनाउँदाका वाचाहरू पनि पूरा गरेको छैन । यसले त तुम्लिङटारसम्मै डुबान गर्नेवाला छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper