banner
banner

खरानी आगो छोप्छ, समाप्त हुँदैन

स्वयम्भुनाथ कार्की -
ज्ञानेश्वरको उकालोमा भएको एक घरको आँगनबाट आधारातमा कयौ भरिएका ट्रक निक्लिए । सिंहदरवारबाट पनि  त्यस्तै ट्रकहरु निक्लिए । ती ट्रकहरुमा किताप र कागजातहरु भरिएका थिए जो रातारात नष्ट गर्न अज्ञात स्थलतर्फ लागे । २०४६ चैत्र मसान्त र २०४७ बैसाख शुरुतिर यो घटना भएको चर्चा साउतीको रुपमा नेपालभरी फैलिएको थियो । ज्ञानेश्वरको त्यो घरमा ‘पञ्चायत नीति तथा जाँचबुझ केन्द्र’ थियो । पञ्चायत व्यवस्थाका प्रकाशनहरु, त्यसवेलाका तथ्यांकमा आधारित अनेकौ पुस्तिकाहरु र यस्तै कागजातहरु त्यहाँ थिए । सञ्चार मन्त्रालय, सूचना विभाग तथा अन्य कार्यालयहरुमा भएका यस्तै प्रकृतिका सजिलै हटाउन सकिने किताप, कागजातहरु रातारात हराए ।
त्यो समय पञ्च भनिएकाहरु लुक्ने अवस्था थियो । पञ्चायत हटेर बहुदल कायम भएको महिना दिन भित्रै भएको यो काम कसले गर्‍यो भनेर अट्कल गर्नुपर्ने कुनै आवश्यकता नै छैन । तर झण्डै तीस बर्षको अवधिमा भएका राम्रा वा नराम्रा कामहरु, त्यसका असरहरु कायम नै रहेकाले यसरी कागजात हटाएर मेटन खोज्नु त्यसवेला हास्यास्पद लागेको थियो । विस्तारै गाउँ पञ्चायतको बोर्ड गाउँ विकास समिति भयो, नगर पञ्चायत नगरपालिका भयो । अञ्चलाधीश खुम्चेर अंचल प्रशासक भए । वियर फ्याक्टीहरु खुल्नलागे, एक यस्ता फ्याक्ट्ररी खुल्दा कपडा कारखाना, कृषि औजार कारखाना, सिमेन्ट कारखाना आदि जस्ता कारखाना बन्द हुने क्रम सुरु भयो ।
रंगरोगन बदलेर अर्कै हो भनेर भ्रम दिन सकिने कुरा बाहेक अन्य कुराहरु भत्काउने काम भयो । दशक पछि वल्ल सोध्न थालियो पञ्चायतले के काम गरेको थियो ? त्यो काम देखाउन कागज खोज्दा बल्ल बुझियो किन कागजातहरु नष्ट गरिएको रहेछ । औद्योगिकरणको नाममा बहुराष्ट्रिय कम्पनीहरुको उद्योगमा ताली बजाएर मख्ख पर्नेहरुले देखे न बाँसवारी छाला जुत्ता कारखाना छ, न हेटौडा कपडा कारखाना । कृषिऔजार कारखानामा खिया लागिसकेको छ, शाही औषधि लिमिटेड विमारी भएको छ । ट्रली बसमा भंगेराहरुको गुँड बनेको छ । 
नेपालले निर्यातगर्ने गरेका उत्पादनहरु अब नेपाले नै आयात गर्दैछ । पहिले कृषि क्षेत्रमा आउने भारतीय मजदुरको साटो नेपालबाट पञ्जाव मजदुरी गर्न जाने चलन बसिसकेको छ । व्यापार कम्पनीहरु निर्यातको स्थानमा आयात गर्न थालिसकेका छन । नभन्दै ४६ पछि युवा भएकाहरुलाई नेपाल यस्तो थियो भनेर देखाउने कुराहरु दुर्लभप्राय: भैसकेका छन् । जुन कामको निमित्त आफ्नो गाउँ पञ्चायत कार्यालय प्रयाप्त थियो त्यसको निमित्त काठमाण्डौ धाउनै पर्ने वाध्यता शुरु भैसकेको छ । हुम्ला, जुम्ला जस्ता विकटमा शुरु गरिएका आयोजनाहरुको भव्य कार्यालयहरु बागवजार, डिल्लीबजार तिर भेटिने संस्कार बसेको छ । 
यसरी विगतका झण्डै तीन दशक पञ्चायतको आगोको फिलुङ्गो खरानीले छोप्यो । त्यो आगोको झरिलो फिलुङ्गगो नै थियो, त्यसले पोल्यो पनि र पकायो पनि । तर आफुलाई ठूलो देखाउने क्रममा त्यो आगोले पोलेको कुराको भने खुव प्रचार भयो, तर त्यो आगोको रापले पाकेको खाना लुकाईयो । त्यो उर्जाले चलेका अनेकौं राम्रा काम लुकाईयो । त्यसको ज्वालाले मुलुकमा फैलाएको उज्यालो अस्विकार गराईयो । बत्तीको उज्यालो गौण गरेर त्यो बत्तिको शिखासँग जोरी खोजेका पुतलीको थुप्रो देखाईयो ।
झरिलो फिलुङ्गगोमा लागेको फुल खरानीले त्यसको आभा लुकाउछ , तर हावाको झडका पाउने वित्तिकै फुल खरानी झर्छ । झण्डै तीस बर्ष पछि त्यही अवस्था आयो, भारतसंगको घनिष्टतामा नेपालमा रजाई गरेकाहरुलाई एकाएक धक्का लग्यो । भारतसंगको घनिष्टताको कुरा कुनै आरोप हैन, वर्तमानका सबै अगुवाहरुले सार्वजनिक मञ्चहरुमा गौरवले स्विकार गरेको कुराको आधारमा भनिएको हो । नेपालका सबै जातजातीहरु बीच कायम सद्भावना भडकाउनेलाई कुर्सीमा बसाउने काम भएको छ । यसले हरेक सर्वसाधारण नेपालीको मन डढेको छ । कुर्सी पाउन जति सक्यो नेपाली नेपाली बीच फटोल्याउनु पर्ने रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको अवस्था छ ।
यस्तो वेलामा भारतले नग्न हतक्षेप गर्‍यो भनेर कोलाहल मच्चिन पुगेको छ । हिजो त्यही घनिष्टतामा सत्तामा पुग्नेहरुका जमात नै आज भारत विरोधलाई राष्ट्रवाद देख्न पुगेको छन् । बहुदल स्थापना पछि लगातार राष्ट्रवादलाई भारतलाई गाली गर्ने भनेर होच्याउन खोज्नेहरु वर्तमानमा भारतलाई गाली गर्न उद्यत छन् । हिन्दु राजाले मात्र पाउने शास्त्रिय अधिकार मोदीको पाउमा चडाउनेहरु अहिले मोदी निन्दामा मोक्ष देख्छन् । उनीहरुलाई न पहिले राष्ट्रवादको अर्थ थाहा थियो न अहिले नै थाहा छ । तैपनि आफ्नो अहिलेसम्मको जीवनमा गाली बाहेक केही नगरेको राजा महेन्द्रको नाम आफुमा टाँसेर राष्ट्रवादी भनाईन खोज्छन् ।
खरानीले छोपे पनि आगो समाप्त हुँदैन, यो वचन अहिले चरितार्थ भएको छ । तीन हजार भन्दा ज्यादा स्थानिय निकाय हुँदा अत्यास लागेर हजार भन्दा कम स्थानिय निकाय राखेका छन् । पञ्चायतले त्यत्रो संख्यामा व्यवस्थापन गरेको स्थनिय संरचना जनसंख्यामा तीन गुणा वृद्धि हुँदा पनि पौने हजारमा सिमित गरेर कसरी तलसम्म अधिकार दिएको ढ्वाङ्ग फुक्छन्, तिनै जानुन् तर कागले मजुरको प्वाँख टाँस्दैमा मजुर बन्दैन । राजा महेन्द्रको नामले वैतरणी तर्ने अधिकार त्यसै प्राप्त हुँदैन, त्यसको निमित्त राष्ट्रवादको राँको मनमा बाल्नु पर्दछ । 
जनतालाई पहाडिया, मधेशी, मतवाली भनेर नेपाली नेपालीबीच विभेद गर्ने राष्ट्रवादी हुनै सक्दैन । नागरिकताको प्रमाणपत्र बोक्ने वित्तिकै कोही नेपाली हुँदैन ‘नेपाली हुन मन नेपाली’ चाहिन्छ । र त्यसले कसैलाई धोती, टोपी, दोक्चामा विभाजन गर्नु महापाप हो भन्ने बुझेको हुन्छ । मजुरको प्वाँख टाँसेर काग मजुर हुँदैन, जति नै खरानीले छोपिए पनि आगो समाप्त हुँदैन किनभने यो भित्र हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper