banner
banner

बिखण्डनका बीउले चुनाव जित्लान् ?

धर्मरत्न श्रेष्ठ -
भारतले नाकाबन्दी गर्दा ठिक हो भनेर भारतको समर्थन गर्ने र सीके राउतले बहुल राष्ट्रवाद र मधेस नयाँ देश भनेर प्रचार गर्द उनकै समर्थनमा उभिएका दमननाथ ढुंगाना खाँटी कांग्रेस बनेर चुनावी मैदानमा छन् । भारतको दबाब झेल्न नसकेर एउटा होनहार कांग्रेसले पाउने चुनावी टिकट खोसेर दमननाथलाई उमेदवार बनाएर सभापति शेरबहादुर देउवाले । यिनलाई भोट हाल्न कांग्रेसी र कांग्रेस समर्थकहरु बाध्य हुने भएका छन् ।
दमननाथ ढुंगानाले चुनाव जित्नु भनेको संसदमा कांग्रेसलाई भारतमुखी बनाएर भारतको स्वार्थअनुकूल बोल्नु यिनको धर्म हुनेछ किनभने नेपालविरुद्ध नाकावन्दी गर्ने भारतको समर्थन गर्ने व्यक्तिले अरु के गर्ला ?
र, नेपाल टुक्रा पारेर मधेसलाई देश बनाउन खोज्ने सीके राउतहरु पनि जमजमाएर उठ्नेछन्, किनभने तिनका प्रवद्र्धक र संरक्षक दमननाथ ढुंगानाले चुनाव जित्नु भनेको बिखण्डनकारीहरुको जित पनि हुनेछ । दमन नाथ ढुंगाना पहिलेका सभामुख हुन् र उनले सभामुख हुँदा राम्रै काम गरेका पनि हुन् । पछि अधिकारकर्मी र नागरिक समाजको अगुवाका रुपमा उभिन थालेपछि यिनी भारतीय दूतावास निकट पुगे र सपना जपना नै भारतको मुखवीरी गर्नुमा यिनको दिनचर्या बितिरहेको देखिन्छ ।
संसदलाई नियन्त्रण र सन्तुलनको थलो बनाउनुपर्छ, यसैबाट विधियुक्त कार्यशैलीको संस्थापन हुँदै जान्छ भन्ने मान्यतालाई बिसाएर भारतीय दूतावासको ढोकामा समर्पण गर्न पुगेका दमन नाथ ढुंगानाले विश्वासका आधारमा होइन, भारतीय दूतावासको सिफारिसमा उमेदवारी दिएका हुन् । यो कुरा आजका जनतालाई थाहा छ र जनताले दिने निर्णय भारतका पक्षमा कसरी हुनसक्ला र ?
हुन त एनटीटीपी (हाल नेपाल पिस इन्स्टिच्यूट) भन्ने एनजीओ खोलेर भारु र डलर खेलाएर बसेका दमननाथ ढुंगानालइ पैसाको पीर छैन । भारतको समर्थन र पैसा भएपछि चुनाव जितिन्छ भन्ने उनमा भ्रम छ । माओवादीसँगको वार्ताका समयमा प्रचण्डसँग निकट हुनपुगेका ढुंगानाले माओवादी भोट पनि पाउने आशा राखेका हुनसक्छन् । तर वाममोर्चा बनेपछि ढुंगाना माइनस भइसकेका छन् ।
जो व्यक्ति पैसाका लागि नेपालको हुनसकेन र विदेशीको वकालत गर्नतिर उक्साहटमा लागे । तिनले चुनाव जितेर विदेशीकै इसारामा काम गर्ने पक्का छ । यस्ता व्यक्तिलाई चुनावमा जनताले जिताउनु भनेको मुर्खता पनि हुनेछ । ढुंगानाले नाकावन्दीका समयमा सीमामै पुगेर समर्थन गरेकोले दूतावासले यिनलाई विशेष सम्मान पनि दिएको छ । यस्ता व्यक्तिले टिकट त भक्तपुर २ बाट पाएर चुनावमा खडा त भएका छन् । यिनी खडामात्रै हुनेछन्, जित्न सक्दैनन् भन्ने अनुमान भक्तपुरमै गर्न थालिएको छ । भक्तपुरका लागि ढुंगाना टुरिष्ट उमेदवार पनि हुन् र टुरिष्टले चुनाव जित्नु भनेको ढुंगानाले ढुंगा चपाउने क्षमता राख्नु हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper