banner
banner

कहाँ छ विवेक र संयम ?

बरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल - 
पद्धति लोकतान्त्रिक अपनाउने, लोकतान्त्रिक हुँ भन्नेहरुले विवेक र संयम पटक्कै व्यवहारमा नउतार्ने ? यहीकारण हो लोकतन्त्र संस्थागत हुनसकेन, संविधान बन्यो कार्यान्वयन हुनसकेन र लोकतन्त्रप्रति जनतामा नैराश्यता छायो ।
जुनसुकै पद्धति अपनाए पनि नभई नहुने भनेको हरेक तह र तप्कामा विवेक र संयम हुनैपर्छ । विवेक र संयम भएन भने अराजकता बढ्छ । जसरी आज देशका सम्पूर्ण राज्यसञ्जालहरु विवेक र संयमविहीन हुनपुगेका छन् । यो साह्रै चिन्ताको विषय हो । चिन्ताले चिताको बाटो देखाउँछ भन्ने विवेक र संयम झन बढी हुनुपर्ने बर्गले किन बिर्सेका होलान् ? शासनमा बस्नेले विवेक र संयम भुले भने ती आफै असफल त हुन्छन् हुन्छन्, पद्धति पनि असफल हुन्छ ।
जनतालाई संयमित हुन आग्रह गरिरहेका सत्तामा आहाल बसेका नेतृत्व तहले किन बिर्सेका होलान्– विवेक र संयम शासितलाई भन्दा बढी शासक बर्गमा हुनुपर्छ । शासकले जतिसुकै दमन गरे पनि, शोषण गरे पनि जनताले संयमित भएर सहिरहनु लोकतन्त्र होइन । लोकतन्त्रमा जनताले आफ्ना पक्ष खुलस्त राख्न पाउनुपर्छ, तिनलाई आफ्ना पक्ष राख्न दिनुपर्छ र विवेकसम्मत भएर लोकमाथि शासन गर्नेले संवोधन गर्नुपर्छ । लोकको प्रश्न, लोकको अपेक्षामा शासन गर्ने उदासीन हुनु भनेको निरंकूशता हो । निरंकूशता यतिबेला देशमा व्याप्त हुँदै गएको छ । एउटा निरंकूशता फालियो, धेरै निरंकूशता भित्र्याइयो ।
कांग्रेस र माओवादी सत्तामा छन् र तिनलाई संविधान कार्यान्वयन गर्ने  नाममा एमालेले सघाइरहेको छ । अहिलेको निर्वाचन जो भइरहेको छ, यही दृष्टान्त हो । यद्यपि हिजोका दिनमा यी सबै ठूला दलले विवेक र संयम गुमाएकै हुन्, अराजकता र अस्थिरता बढाएकै हुन् । तथापि निर्वाचनपछि सुध्रिन्छ कि हालत भन्ने आशा भने सबैले गरेको अवस्था छ । भन्नलाई कतिपय नेताहरुले आफ्ना निर्णयलाई नमान्ने जनताले सडकमा आन्दोलन गर्न गए हुन्छ भनेर राज्यलाई निरंकूशतापूर्ण दमन गर्न पटक पटक उक्साएकै हुन् । यो सही होइन । जनताले आन्दोलन थालेका छन् भने निश्चय नै जनविरोधी सोचका विरुद्ध आन्दोलन भइरहेको छ । पूर्वराजाले म नेतृत्व लिन्छु भने किन ? यसमा पनि नेताहरुको कमजोरी र असफलता अन्तरनिहित छ । जनताले नचाहने काम भइरहेको छ । त्यसलाई विवेकसम्मत भएर संयमका साथ संवोधन गर्न छाडेर नेताहरु मनलागीतन्त्र चलाउनु भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो । सत्ताधारी र सहयोगी दलका नेताहरु मर्यादाविहीन र अलोकतान्त्रिक चरित्र देखाइरहेका छन् । जनादेश र जनअपेक्षकोको समेत घोर अपमान गरिरहेका छन् । पूर्वराजा अथवा कसैले पनि प्रश्न गर्न नसक्नेगरी नैतिक धरातलमा उभिनुपर्‍यो अनि जवाफ दिन पनि सहज हुनेछ । अन्यथा आलोचना बढ्दै जानेछ यसैगरी ।
दुई तिहाई बहुमत ल्याउँछु, ह्याकुल्लाले मिचेर संविधान कार्यान्वयन गराइन्छ, ५ वर्षे स्थिर सरकार दिइन्छ भनेर समाजमा उठेका आफैविरुद्धका आपत्तिहरुलाई मत्थर पार्न सकिन्न । जुन राजनीतिक, राष्ट्रिय विवादहरु उठेका छन्, तिनलाई दबाउनु भनेको अहंकारी राहु यिनको शीर चढेको भन्न सकिन्छ । काम राम्रो गरेर, देशभक्त बनेर जवाफ दिने तरिका अपनाउनु पर्छ, जुन आजका नेताहरुमा पटक्कै छैन । संविधान देश र जनताका लागि हो कि नेताहरुको आलोपालो सरकार बनाएर भागशान्ति चलाउन ? जारी भएको सवा दुईवर्षमा संविधान कार्यान्वयन भएन, चुनावपछि कार्यान्वयन हुन्छ कि हुन्न ? जनताले त्यो संविधानलाई आत्मसाथ गर्न र अमान्य गरिदिए भने कति दिन जबरजस्ती यो संविधानले शासन गर्न सकिएला ? स्मरणरहोस्, २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ठ भनिएको होइन, च्यातियो फाट्यो त ?
भूकम्पपछि राष्ट्रिय सरकारको गठन र पुनर्निर्माणका लागि जुट्ने अवसर दिलाएको हो, तर आलोपालो सरकारमात्र बन्यो । बिबाद बढ्यो । भूकम्प र बाढीपहिरो पीडितका नाममा राजनीतिकरण र भ्रष्टाचारिकरण धेरै भयो । यो अवसरलाई हडबडीमा गडबडी गर्नु भनेको फेरि पनि राजनीतिक असफलता नै हो । सत्ता र पुनर्निर्माणको ६ खर्ब ७० अर्वमा हिस्सेदारी खोजेर दलहरुले गर्नु नगर्नु आपत्तिजनक काम गरे । भागबण्डा मिलाउनमात्र संविधान सिमित भइदियो भने अर्को परिवर्तनलाई यिनले रोकेर रोकिनेछैन । सावधान हुनुपर्छ । हाम्रो सुझाव छ, भीर लडिएला, लडियो भने राम राम मात्र भन्न सकिन्छ ।
जनताले ज्यान दिए, रगत बगाए । दिनुसम्मको साथ दिए । तर दण्डहीनता अन्त गर्न र समानता र समानुपातिक धारणाको विकास गर्न दलहरुले सकेनन् । मुख्य कुरा विधि हो, कानुनको शासन होइन, भनसुन र पैसाको शासन चलाए ।  संघारमा आएको शान्ति प्रक्रिया, प्रगति र समानताको सपनालाई चकनाचूर पार्ने काम दलहरुबाटै भयो । संक्रमण कहिले समाप्त हुन्छ भन्न सकिन्न । जनयुद्ध र जनआन्दोलनपछिका दिनमा राजनीतिक दलहरुका मुखुण्डा उत्रिसकेका छन् । अव आफूलाई अकर्मण्य साबित नगरुन् । संविधान मूल कानुन हो, कानुनको शासन स्थापित गर्नतिर यिनलाई प्रेरणा मिलोस् । यिनीहरु सुध्रियुन । मुलुकभरि फैलिएको जनअसन्तोष पहिले संवोधन गर, अन्यथा दुर्घटना हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper