banner
banner

अव त्यो दिन आउँछ,चाँडै आउँछ

शाश्वत शर्मा -
पटक पटक र पालैपालो सत्तामा बसेर पनि जो असफल शिद्ध भए अहिले तिनै चुनावी मैदानमा गठबन्धन बनाएर उभिएका छन् । जनतालाई थाहा छ, यिनीहरुको बिकल्प छैन र यिनले चुनाव जितेपछि गर्ने पनि केही होइन । खाली सत्ताको खेल हो, सत्ता यिनको ध्येय हो, उद्देश्य हो । यिनको दृष्टिमा न देश छ, न आमनागरिक छन् ।
मानौं यिनलाई सत्तापक्ष र प्रमुख प्रतिपक्षको भूमिकाको त कुरै छाडौं, आफ्नै पार्टी चलाउन पनि आउँदैन कि जस्तो लाग्न थालिसक्यो । प्रष्ट भन्ने हो भने माओवादी, कांग्रेस, एमाले, राजपासहितका मधेसी दलहरुका कार्यकर्ताहरु आफ्ना नेताहरुसँग यति धेरै ‘फ्रस्टेड’ छन् कि पार्टीमा बिद्रोहको सुरुवात त भएको छ तर अगुवा नपाएर यिनीहरु पनि मरीच चाउरिएझैं चाउरिएका छन् । आमनागरिक त अन्यमनस्क भएर के गर्ने, के नगर्ने मनस्थितिमा पुगेका छन् । देश बिस्फोट अघिको बारुद भरेको बम बनेको छ ।
देशको यस्तो दयनीय अवस्था देखेपछि पूर्वराजाले सबैको सहमति हुन्छ भने म देशको नेतृत्व लिन तैयार छु भने । जसलाई कांग्रेसबाहेकका कम्युनिष्ट शक्तिले नकारेका छन् । कम्युनिष्टको त जातै जमदार, केपी ओली र माओवादीका नेताहरुले मदन भण्डारीकै भाषा बोली हाले ।
कुर्सीतिरमात्र यिनको ध्यान नभएको भए, जनताप्रतिको जिम्मेवारी निर्वाह गरेको भए पूर्वराजाले बोलिरहन जरुरी थिएन । आमजनताले पनि राजालाई गुहार लगाउन र राजाले त्यो गुहार सुन्नुपर्ने थिएन । हामी सम्हाल्छौं भनेर देशको जिम्मेवारी लिए, गैरजिम्मेवार बनेर १२ वर्ष लोकतन्त्रलाई लुटतन्त्र बनाउन तल्लीन रहे ।
स्पष्ट शव्दमा भन्नुपर्दा फेरि एकपटक भुइचालो जानसक्छ । त्यो भूइचालो जनताबाटै उठ्नेछ र जनताप्रति शोषण गर्ने र देशको दोहन गर्नेहरुविरुद्ध केन्द्रित हुनेछ । यसरी सपना बाँडेर र जनताको चरम शोषण गर्नेतन्त्र लोकतन्त्रको जामा पहिरीरहन सक्दैन । यथार्थ लोकतन्त्रका लागि पूर्वराजा अघि सर्नैपर्छ ।
राजनीतिक र नैतिक मूल्य, मान्यता, सिद्धान्त, नीति आदि सबैलाई ताकमा राखेर खाली कुर्सीतिर मात्र ध्यान दिने, आफू र आफ्नो परिवारका लागिमात्र सोच्ने नेतागणका विरुद्ध आवाज उठाउन सक्ने मात्रै होइन कि भिड्न सक्ने एउटामात्र भए पनि गतिलो र बलियो नेता अगाडि आउनु पर्‍यो । नआए पूर्वराजाले नेतृत्व लिनैपर्‍यो । गर्नलाई सबैले देश र जनताको कुरा गरिरहेका छन्, काम पटक्कै गर्दैनन् । खाली शोषण र दोहन यिनको एकमात्र लक्ष्य देखियो ।
सबै नेताहरुको ध्यान खाली कुर्सीमा मात्र केन्द्रित छ । जनजिविकाको, जनतन्त्रको र समाजवादीहरुले माखो मार्न सकेनन्, खाली आफू र आफन्तहरुको लागि भने सात पुस्तालाई पुग्ने सम्पत्तिको जोरजाम गर्न भने सफल भए ।
एउटा नेता पनि राजनेता बनेर उभिएनन् । सबै परालखुट्टेहरु, विदेशीका सामु लम्पसार पर्ने र ठूला कुरा गर्ने, स्वदेशी मरिरहुन् वास्तै नगर्ने । यसरी पनि लोकतन्त्र चल्छ ?
धेरै दिन चल्दैन यस्तो भोरजूवा, अव जनताले बोल्ने र दबाब दिने काम गर्नुपर्छ । कि त यी सच्चिनु पर्छ, कि पूर्वराजाले नेतृत्व हातमा लिएर एकता र विकास, समानता र विधिको शासनको मौलो हुनुपर्छ ।
यसकारण भन्न सकिन्छ, अव लामो समय छैन, त्यो दिन आउन । जनताले चाहेजस्तो, राष्ट्रले खोजेजस्तो, त्यो दिन चाँडै आउँछ । पूर्वराजा तातिसके, तातेका नेताहरु सेलाइसके । बिड तातेको अवस्था सकियो, अव पिँध तातेको छ र परिवर्तन आउनेवाला छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper