banner
banner

बादी जाति : यी पनि नेपाली हुन्

बरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल -
आफ्नो आवाज सुनाउन, हामी पनि नेपाली हौं, हामीलाई पनि हक र अधिकार चाहियो, हाम्रो बादीजातिको संरक्षण र सुधार होस् भनेर वादीजातिहरु आन्दोलन गर्दै यसरी सिंहदरवारको ढोका उक्लन आइपुगेका थिए ।
हामी नांगियुँ कि हामीलाई राज्यले हेर्छ भनेर बादीहरुले यसरी नांगिन थालेपछि सरकारले यिनको आवाज सुन्न थाल्यो । तर अहिले पनि यौन पेशाले पेट पाल्न बाध्य छन् धेरै वादीहरु । केही वादी समुदायलाई सामाजिकीकरण गर्न सुरुआत त गरियो, तर यिनलाई राज्यसम्मको पहुँच र समानता र समानुपातिक अधिकार दिलाउन कुनै पनि पार्टि सरकारले ध्यान दिएन । अहिलेको निर्वाचनमा पनि बादी समुदाय छायाँमै छ, तिनको वजन र इज्जत कसैले देखेनन् ।
सर्बेसर्वा, शक्तिकेन्द्र बनेको सिंहदरवार मोफसललाई नेपाल ठान्दैन, मोफसलका कुरा पनि सुन्दैन । लाग्छ, काठमाडौंमात्र नेपाल हो, उच्चजाति र पहुँचवालामात्र नेपाली हुन्, उपत्यका बाहिरका बादीजस्ता सिमान्तकृत नेपाली होइनन् ।
बादीजातिले राजधानीमै आएर सिंहदरवारको बारमा चढेर ‘पेटिकोट’ समेत खोलेर नाङ्गिन तैयार भएपछि झसङ्ग भएको सिंहदरवार त्यसपछिका दिनमा यिनलाई वास्ता गर्न छाडेको छ । वर्षौं अघि सिंहदरवारले भनेकै हो– बादी जाति पनि नेपाली नै हुन्, तिनको माग संवोधन गर्न सरकार तैयार छ ।
त्यसपछि सरकार बने, सरकार बिघटन भए, फेरि सरकार बने । बादीजातिले कुनै हक, अधिकार अथवा तिनको पुनस्र्थापनाका कुनै योजना देख्न पाएनन् । कांग्रेस, कम्युनिष्टका सरकार बने, प्रधानन्यायाधीशको नेतृत्वको सरकार पनि बन्यो र चुनावपछि अव कसको बनने हो ? कुनै पार्टीको घोषणापत्रमा बादीहरुको आँखाबाट बगेको आँसु पुछ्ने प्रतिवद्धता पढ्न पाइएन । कस्तो दुर्भाग्य ?
दाङ्देखि सुदूरपश्चिम नेपालसम्म झण्डै ७० हजार बादी समुदाय छन् । तिनको पानी चल्दैन, समाजले तिनलाई हेला गर्छ । तर सरकारी कर्मचारीदेखि उपल्लाजातिसम्म सबैले तिनलाई भोग गर्छन्, तिनको शरीर चाहिं चल्छ । पानी नचल्ने निच जाति भनेर अपहेलाना गरेका बादी जाति अहिले पनि अधिकांश यौन बेचेर पेट पाल्न बाद्य छन् । केहीमा सुधार आएको छ । तिनका घर छैनन्, जग्गा जमिन छैन, जवानी बेच्दा बेच्दा जन्मेका बिना बाउका बालबालिकालाई राज्यले सहर्ष स्वीकार गरेको छैन । कतिले नागरिकता पनि पाउन सकेका छैनन् । बादी जाति, प्रत्येक महिलाको समस्या हो । समाज र देशको समस्या हो तर, बादी जातिलाई आश्वासन दिने र तिनको भोगमात्र गर्ने सिंहदरवारले कहिले पनि बादी जाति पनि नेपाली हो, तिनको सुरक्षा, स्वास्थ्य, शिक्षाका बारेमा राज्यले उच्च महत्व दिनुपर्छ भनेर हेरेन । त्यस्तो कर्तव्य कहिले सम्झेन । आज पनि बादी जाति रोग, भोक र शोकमा डुबेका छन् । पार्टीहरु किन मौन ?
सिंहदरवार तस्कर, माफियाको आवाज सुन्छ र भ्रष्टाचारमा सुन्निएर मोटाइरहेको छ । पार्टीनेताहरु सिमेन्टको जंगल र वातानुकुलित कोठामा रमाइरहेको छ । आफूलाई सभ्य ठान्ने काठमाडौं देशको राजधानी हो तर जनताको राजधानी बन्न सकेन । जनताको आँसु, डाहा, छटपटी नदेख्ने पनि राजधानी हुन्छ र ? चुनावमा होमिएका, कुनै पार्टी वा कुनै नेताले बादीका समस्या बोलेका छैनन् । मानौं बादी भनेका थाङ्ना हुन्, यिनलाई ओछ्यायो, छाडिदियो, सकियो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper