banner
banner

योग्यताको आधार जनप्रियता

स्वयम्भुनाथ कार्की -
हिजोको व्यवस्थाले सबैलाई पञ्च मानेको थियो । समाज, देश र देशवाशीको काम गर्न कुनै विशेष योग्यताको आवश्यकता नै थिएन, आफ्नो ल्याकत र वर्कतलाई अरुले पत्याई दिए पुग्थ्यो । काम गर्नसक्ने वा नसक्ने योग्यताको प्रमाणपत्र मतदाताले दिन्थे । जसलाई मतदाताले जुनस्तरको मान्थ्यो उ त्यही स्तरमा हुन्थ्यो । यो नयाँ कुरा पनि थिएन, अझै पनि राजनीतिले प्रदुषित गर्न नभ्याएको क्षेत्रमा यहि पद्धती कायम छ । 
निजी क्षेत्रका त्यस्तै कामले नाफा आर्जन गरिरहेको अवस्थामा सार्वजनिक वा सरकारी क्षेत्र त्यही कामले घाटा खानुको यहीमात्र कारण हो । निजी क्षेत्रले आफुलाई चाहिनेको योग्यता आफै हेर्छ भने सरकारी क्षेत्रमा यो योग्यता दलका महन्तहरुले हेर्छन । जनमत संग्रह पछि राजा वीरेन्द्रले यहि कुरा भने ‘सबै नेपाली पञ्च’ । वर्तमानमा पञ्चायत व्यवस्था ढाल्न योगदान दिएको ‘भत्ता’ पाउदै गरेका त्यस वेलाका मुर्धन्य पत्रकारहरुले  यो भनाईको खिसी गर्ने कुनै मौका छोडेनन् ।राजाको यो भनाई सबैको वैचारिक भिन्नता समाप्त गरेर एक विचारमात्र हुनु पर्दछ भन्ने थिएशन । 
आफ्नो अलग परिचय, विषेशता र अस्तित्व सहित नेपालीको रुपमा सबैको समान हक, कर्तव्य छ भन्ने थियो । यहि अलग परिचय, विषेशता र अस्तित्वको संयुक्त नाम अहिले भनिने गरेको ‘पहिचान’ हो । अहिले भनिने गरेको सहमति र सहकार्य भने व्यवहारमा आफ्नो पहिचान विसर्जन गरेर अरुकोमा विलिन हुन जानु हो । सहमति र सहकार्य अलग पहिचान बोकेर पनि संभव भने छ तर त्यसको निम्ति सबैले सबैको पहिचानको अस्तित्व स्विकार्नु पर्छ र सम्मान गर्नु पर्छ । ‘सबै नेपाली पञ्च’ को अर्थ यही थियो ।
पञ्चायतमा जसको प्रतिनिधित्व गर्ने हो उसैले आफ्नो काम गर्न को योग्य छ भनेर छान्ने भएकाले योग्यता कार्यसम्पादनमा निर्भर थियो । पञ्चायतमा भाषण कला, ठूला नेताहरुसंगको अन्तरंग सम्वन्ध वा छिमेकी मुलुकको कृपापात्र हुनुले खासै अर्थ थिएन । व्यवस्थामा जनप्रतिनिधि भएर काम गर्ने वा काम गर्न चाहानेलाई नेता हैन पदमा भए जनप्रतिनिधि नभए कार्यकर्ता भनिन्थ्यो । हो ३६ साल पछि पत्रकारहरुले यस्ता कार्यकर्ता, जनप्रतिनिधि र व्यवस्थाप्रति आस्थावान जनतालाई एक साझा नाम दिएका थिए ‘पञ्च’ । पछि ‘पञ्च’ र महापञ्च भनिन लाग्यो र यसलाई महापञ्च भनिएकाहरुले अपनाए पनि । विकृतिको प्रवेश यसरी नै भयो । 
४ हजार २३ गाउँ पञ्चायत हरेकमा ९ वडा र हरेक वडामा ५ जनप्रतिनिधि । त्यसै गरेर २९ नगर पञ्चायत ११ देखि ३१ वडा र हरेक वडामा ५ जनप्रतिनिधि । थपमा वर्गिय संगठनहरु र त्यसका तल्लास्तरका प्रतिनिधिहरु । यसले पदमा भएका जनप्रतिनिधिहरुको विशाल आकार देखाउछ । अझ यसमा विकल्पमा हामी पनि छौ भन्ने निर्वाचनमा असफल भएर अर्कोपल्ट सफल हुन प्रयत्नरत कार्यकर्ताहरुको संख्या पनि लिँदा लाखौ हुन आउँछ । जो स्थानिय स्तरमा जनताको र आफ्नो स्थानको भलोको निमित्त सोच्ने वा काम गर्ने गर्दथे । यस्तो समुहमा केही हजार नराम्रा व्यक्तिहरु पनि हुनु न अनौठो हो न अस्वभाविक नै । 
विना कुनै आग्रह पुर्वाग्रह नियमित रुपमा जनताले आफ्नो प्रतिनिधि चयन गर्ने भएकोले नराम्रा पछि पर्दै जाने स्वचालित प्रक्रिया थियो । त्यसैले मात्र भाषण कलामा निपूर्ण भएर र शिर्ष नेता रिझाएर टिक्न संभव पनि थिएन । त्यसैले केही अपवाद छोडेर कार्यकर्ताहरुलाई भाषण गर्न आउदैन थियो । त्यसै गरेर केही अपवाद छोडेर सबैलाई काम गर्न भने आउथ्यो । जनता जसरी भए पनि नरिझाई नहुने त्यो व्यवस्थामा अहिले आफुले पटक्कै मन नपराएको व्यक्तिलाई पनि पार्टीको ‘टिकट’ पाएको कारणले वोकेर हिंडनु पर्ने अवस्था संभव नै थिएन । 
जनप्रतिनिधि हुने वा हुन चाहनेको ज्यादा समय वास आफ्नो क्षेत्रमा हुन र उनीहरुको सुखदुख अनुभव हुन नितान्त आवश्यक थियो । सदरमुकाममा ज्यादा समय बास र क्षेत्रमा पनि सर्वसाधारणलाई दर्शन वाहेक संवाद दुर्लभ हुने गरेर दौडाहा अयोग्यता हुनसक्ने तर्फ चनाखो हुनै पर्दथ्यो । काम किन पुरा भएन भनेर जनताले सिधा गरेको प्रश्नमा जसरी भए पनि चित्त नबुझाउनै पर्ने विवशता थियो । चित्त नबुझाए अर्को पल्ट ‘माथिका’ जो कोही दाहिना भए पनि ‘पत्तासाफ’ गर्ने जनताको हैसियत थियो । कि योग्य हुनै पर्‍यो कि योग्य भएको भ्रममा राख्न सक्नै पर्‍यो भाषण र माथि नचल्ने भएकोले पञ्चायतमा योग्यताको आधार कार्यसम्पादन र जनप्रियता थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper