banner
banner

प्रचण्डका ज्वाईंलाई मोरङ उपहार

वाशुदेव वाग्ले -
मोरङमा प्रचण्डका ज्वाईँलाई चुनावी टिकट दिलाउन प्रचण्ड सफल भएका छन् । वाम तालमेलबाट प्राप्त सिटमध्ये भरतपुर आफूलाई, मोरङ ज्वाईंलाई र गोरखा आफ्ना मनपरेका नारायणकाजीलाई दिलाएर प्रचण्डले पार्टीभित्र झन झन अलोकप्रिय हुने निर्णय गरेका छन् । यद्यपि एमाले यसबारे मौन छ ।
मोरङबाट सर्वसम्मत सिफारिस भएका व्यक्तिको नाम काटेर प्रचण्डले ज्वाईको नाम लेखेका हुन् । असन्तुष्टहरुलाई चुप लाग्न आदेश दिदै सबैको कदर हुने आश्वासन बाँडेर ज्वाईंलाई जिताउने कसरतमा प्रचण्ड लागेका छन् ।
प्रचण्ड स्वयम् भरतपुर २ बाट उमेदवार बनेका छन् र उनको उमेदवारीलाई जितको जयजयकार गराउने जिम्मा पार्टी अध्यक्ष ओलीले देवी ज्ञवालीलाई घरमै बोलाएर दिएका छन् । यतिमात्र होइन, प्रचण्ड र प्रचण्डपुत्रका साथमा देवीको फोटो सेसन गरेर सार्वजनिकसमेत गराइदिएका छन् । यसबाट के पनि थाहा हुन्छ भने राजनीतिमा स्थायी शत्रु र मित्रु कोही नहुने रहेछ ।
त्यसो त तालमेलबाट अघि बढेर चुनावपछि पार्टी एकीकरण नै गर्ने भनिएको छ तर एकीकरण नहुने दावी एमालेका केही शीर्ष नेता भन्छन् । यो त ओलीको बहुमत ल्याएर ५ वर्षे शासन गर्ने महत्वाकांक्षा र प्रचण्डको साख समाप्त होला भनेर पहिचान र इज्जत बचाउने रणनीतिको घीउ बेचुवा र तरवार बेचुवावीचको साझेदारीमात्र हो । चुनावपछि कतै घात, अन्तरघात र प्रतिघातका आवाजहरु उठ्ने छन् र यो तालमेल, एकतातिर होइन, फेरि बिभाजनतिर जानसक्नेछ ।
क्षेत्र नम्बर २ का इन्चार्ज छन् लालबहादुर सुस्लिङ । उनलाई पार्टी अध्यक्षको आदेश दुरुस्त लागू गराउन हम्मे हम्मे परेको छ । आफ्नो सिफारिसविपरित आदेश आएकाले आदेशको पालना गर्न गराउन उनी कम्मर कसेर लागेका छन् तर बिद्रोही उमेदवारी दिने खतराले उनको रातको निद हराएको छ ।
जता जे भए पनि प्रचण्डका कान्छा ज्वाईँ जीवन आचार्यलाई छानेकै क्षेत्रमा उमेदवार बनाउनु प्रचण्डको बाध्यता पनि भएको छ । ससुरा पार्टी अध्यक्ष भएका बेलामा ज्वाईँले भनेको एक सिटमा चुनाव उठ्न नपाउनु अन्याय पनि त हो भनेर पार्टीभित्र खिसीट्यूरी व्यापक रुपमा फैलिदै गएको छ । यद्यपि प्रचण्डलाई पनि कतै छोरीलाई मेयर बनाउनु पर्ने, कतै ज्वाईँलाई टिकट दिएर कार्यकर्ताको नाम काट्नुपर्ने र कतै आफैलाई चुनावी क्षेत्र सुरक्षित पार्नुपर्ने चटारोले पिरोलेको छ, अव हेर्नुछ प्रचण्डको रणनीतिले उनलाई फेरि नेपाली राजनीतिको किङपिनका रुपमा खडा गर्छ कि लछारपछार पारेर किनारा लगाउँछ । तर विशेषज्ञहरु भन्छन्– सूर्यचिन्ह लिएर एमालेको छाता ओढेर चुनावमा जाने भएकाले र प्रचण्डको चुनावी नैया पार लाग्छ  ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper