banner
banner

जब आलोचना आलोचककै हुन्छ

स्वयम्भुनाथ कार्की -
सामान्यतया आलोचकहरु ‘पानी माथिको ओभानो’ झै हुने गर्दछन । यस्ता मौका धेरै कम आउने गर्दछन जब आलोचकलाई उनिहरुले नै स्थापना गरेको मापदण्डले मूल्यांकन गर्ने गरिन्छ । त्यसैले आलोचना गर्ने काम सबैभन्दा सजिलो र सहुलियत पूर्ण हुन्छ । विषेश गरेर सत्ता र शक्तिमा भएकाको आलोचना छिटो प्रख्यात हुने अनि तुरन्त फैलिने बिषय हो । मान्छे भित्र रहेको हिनग्रन्थीले आफुभन्दा शक्तिशालीको खोइरो खन्नेलाई केहि सम्मान दिने नै गर्दछ । धेरथोर यो प्रवृति सबैमा हुने गर्दछ तर मुखर भने कममा नै हुन्छ । उदाहरणको निमित्त सडकमा घटनसक्ने सामान्य घटना लिन सकिन्छ । यदि कुनै निजी कारले कसैलाई धक्का दियो भने सबैको पहिलो धारणा नै यसमा कार चालकको नै गल्ती छ भन्ने हुन्छ । कुनै दर्शकको हात छिटो छ भने संभवत पुरा घटना बुझ्नुभन्दा पहिले नै चालकले एकदुई थप्पड पनि पाईसक्न बेर छैन ।
दुइ अढाई दशकदेखि आलोचनाले आलोचकलाई निरन्तर प्रशिद्धि दिदै आएको छ । पछिल्ला दशकमा त आलोचना राम्रो कमाईको साधन भएको छ । सजिलो नाम र दाम कमाउन कुनै बेलामा युवाहरुको सपना भएको बम्बैया अभिनेता बन्ने काम वास्तवमा सोचे जस्तो सजिलो काम थिएन । अहिलेको प्रतिस्पर्धाको युगमा त यो झन कठिन छ , मौका पाएर पनि असफल हुनेहरुको संख्याको सामुन्ने सफल हुनेको संख्या नागन्य छ । तर आलोचना गर्ने बाटो समातेकाहरु असफल भएको धेरै कम पाइन्छ । जति तिखो आलोचना गर्न सक्यो त्यति नै स्वदेशी विदेशी गैर सरकारी संस्थाको ध्यान तानिन्छ , संचार जगतको ध्यान तानिन्छ । अनि नाम र दामको जोहो हुन थाल्छ । 
आलोचनामा उठाइएका कुराहरुको प्रमाण दिनु पर्ने आवश्यकता नै हुदैन । अझ झन सामाजिक संजाल, अनलाईन खवर आदिको माध्यम निरन्तर निगरानी नहुने र यस्तामा उठाईएका कुरामा संवन्धितले आपत्ति जनाउने बाटो सहज नपाउनाले पनि आलोचना भन्दा अश्लिल गालि गलौजको मात्रा  बढ्दै गएको छ । आफ्नो कुन्ठा अभिव्यक्त गर्ने बलियो माध्यम हुदैछन यी असरदार नेटसंचार । जो संग प्रत्यक्ष भेट फलामको च्यूरा हुन्छ त्यस्ता राजनीतिकर्मीहरु पनि यस्ता संजालमा आफ्नो कुरा राखिरहेका हुन्छन । त्यसै ठाउँमा उसले राखेको कुरासंग असंवन्धित नै भए पनि गाली लेखेर आफ्नो कुन्ठा व्यक्त गर्ने चलनले अब धेरैलाई पोल्न थालेको पनि छ । सहि गलत जे भए पनि यस्ता कुन्ठाहरु जीवन वीक, सूर्यबहादुर थापा , डा. गोविन्द केसी आदिका मामलामा प्रसस्त पोखिएका छन र यस्ता कुराले असर पनि गरेका छन । डा. केसीको अभियानको सफलतामा सामाजिक संजालको भुमिका अग्रणी छ ।
चाहे भाषाको स्तर जे होस अब केहि दशक पहिलेका आलोचना नायकहरु पनि आलोचनाको तारो बन्न थालेका छन । युवाहरुको ठूलो भाग जो सामाजिक संजालमा आबद्ध छ त्यो विगतका नागरिक अगुवा, अधिकारकर्मी, लेखक, विचारक, विज्ञ आदि पदद्वारा विभुषितहरुलाई उनिहरुले कायम गरेकै मापदण्डले मूल्यांकन गर्न थालेको छ । स्वदेशमा छाक टार्न पुग्ने कमाउन नसकेर विदेश भासिन परेका लाखौ युवा यस्ता अगुवा, नेताहरुको आफ्नो संस्था वा दल बाहेक अन्य कमाई हुने काम नगर्दा पनि सम्पन्न जीवन देखेर प्रश्न तेस्र्याउन थालका छन । हिजोका दिनमा अरुलाई अनैतिक कमाई गरेको आरोप लगाउदा उत्याउनेहरु अहिले हिजोका तिनै आलोचकहरुलाई त्यहि मापदण्डमा नाप्दैछन । यो देखेर केहि यस्ता अगुवाहरु तर्सिन पनि थालेका छन । हल्लाका भरमा, प्रमाणित आधारको अभावमा हिजो कसैलाई आरोप लगाएर नायक बन्दा उनिहरुले आरोप लगाएकाहरु र तीनका समर्थकहरुले प्रत्याक्रमणको आरोप लगाएनन् । सत्यकुरा कुनै न कुनै दिन प्रकट हुन्छ भन्ने अटल विश्वासमा भविष्यले आफुलाई चोख्याउछ भनेर शान्त बसे । तर जब आलोचकहरु कै आलोचना हुनेक्रम शुरु भयो, ती आलोचकहरु वा तिनका समर्थकहरुलाई भने यो पचाउन साह्रै कठिन हुँदै गएको छ ।
हिजो आफ्नो कुरा पुराण सुने झै सुन्ने श्रोता आज कुरोको चुरोमा पुग्न खोज्दैछ । सबैभन्दा भयंकर कुरा त के भएको छ भने विगत करिव एक दशकदेखि उपलब्धी भन्दै आएको कुरा उपलब्धी हो वा हैन भनेर प्रश्न उठ्न थालेको छ । अहिले आएर त्यो उपलब्धी हो भनेर सावित गर्न आफ्नो तर्क भण्डार खोल्नु परेको छ । तर त्यो पनि बेअसर हुँदै गएको छ, किनभने जनता उपलब्धी तर्कले सावित गरेर मान्न तैयार छैन । यस अवस्थामा उपलब्धी दिलाउने जस बोकेका ठेकेदार भएका नागरिक अगुवाहरुसँग मुख लुकाएर बस्नु भन्दा अर्कौ विकल्प छैन । त्यसैले यो सत्यले पोल्छ र कसैले यो औल्यायो भने त्यससंग रिस उट्छ । यो रिस स्वभाविक नै हो, जव कमजोर बनिन्छ तव रिस नै उठ्छ , सामथ्र्य भए त सामना गर्न सकिन्छ रिसाउनु पो किन पर्‍यो । त्यसैले जव आलोचना आलोचककै हुन्छ तब रिस उठ्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper