banner
banner

यी बेपत्ताका परिवारलाई राज्यले कहिले हेर्छ कुन्नी ?

बरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल -
लोकतन्त्रमा सरकार भनेको गैंडाको छाला होइन, संवेदनहीन । सरकार भनेको लोकआवाजप्रति संवेदनशील हुनैपर्छ, तव न लोकतन्त्र हुन्छ ।
संवेदना हुदो हो त यी बेपत्ताका परिवारजनले यसरी सडकमा धर्ना दिएर आफन्त कहाँ छन् भनेर सोधिरहनु पर्ने थिएन । यसको अर्थ सरकार त छ, बेपत्ता परिवार अथवा हिंसापीडित, द्वन्द्वपीडितका लागि सरकार छैन ।
नन्दप्रसादको लाश अस्पतालको फ्रिजमा राखेको २ वर्ष भइसक्यो, अधिकारकर्मीसमेत चुप लागेर बसेका छन् । गंगामायाँ मेरो छोराको हत्यारालाई कारवाही गर भनेर अनसनमै छिन् । अनसन कोही देखिरहेको छैन । योभन्दा अलोकतान्त्रिक व्यवस्था अरु कुन होला ? तैपनि हाम्रा नेताहरु लोकतन्त्रको झ्याली पिट्छन्, संविधान कार्यान्वयन गर्छु भन्छन् । कानुन कार्यान्वयन किन हुन सकेन ? यो प्रश्नको जवाफ सरकारले पहिले यी बेपत्ताका परिवारलाई दिनसक्नुपर्छ ।
लोकतन्त्रमा जनताले यसैगरी न्यायका लागि गुहार मागिरहनुपर्छ ? लज्जा छ लोकनेताहरुलाई भने तिनले आफ्नो अनुहार ऐनामा हेर्नु जरुरी छ । किनभने अनुहार जस्तो छ, छायाँचित्र त्यस्तै देखिन्छ । भन्नुको अर्थ यी नेताहरुमा लज्जा छैन, लोकतन्त्रका गरिमा र महिमाको सम्मान गर्ने औकात पनि छैन । जो इमानमा बस्न सक्दैन, उसले लोकतन्त्रको कुरा गर्नु भनेको झूठको खेती हो ।
नेपालमा झूठो लोकतन्त्र चलिरहेको छ । झूठ बोल्ने नेता शासन गरिरहेका छन् । यही कारण हो भ्रष्टाचार र अनैतिकता वनमारा झारझैं बढेको ।
जनता सास्ती खेपिरहने, नेता जनताको टाउमा घिरिङ खेलिरहने ? जनताप्रति जिम्मेवारी, देशप्रतिको मायाँ र पद्धतिप्रतिको नैतिक दायित्व लिन नसक्नेले लोकतन्त्र चलाउन सक्दैन । लोकतन्त्र यतिखेर लुटतन्त्र बनिरहेको छ । बनाइएको छ । सिण्डिकेटतन्त्रमा हुने मनपरी हो, जो निरन्तर चलिरहेको छ ।
ठूला दलले जुनसुकै विषयमा भागबण्डा गर्ने रे ? लुटेको धन अथवा लुटाहहरुकोमात्र  भागबण्डा हुन्छ । लोकतन्त्रमा क्षमता, योग्यता, लोकअपेक्षाको कदर हुन्छ । समानताको महत्व रहन्छ । लोकतन्त्रमा बिधि हुन्छ र बिधिमा फिट हुनेको इज्जत हुन्छ । हाम्रो लोकतन्त्र त नेताको नजरमा फिट हुनेको मात्र इज्जत हुनथाल्यो । जो फौजदारी अभियोगमा डामिएका छन्, जसमाथि अदालतले दण्डजरिबाना गरेको छ अथवा लोकनजरमा दोषी ठहरिएका छन्, तिनीहरु शासनमा छन्, सत्तामा छन् र जनताका मालिक बनेका छन् । कस्तो दुर्भाग्य ?
यही कारण हो जनयुद्धकालीन समयमा राज्य र बिद्रोहीले बेपत्ता पारेका र मारेकाको परिवारजन यतिखेर सडकमा न्याय कुरिरहेका छन् । न्याय मागिरहेका छन् । न्याय दिने, कानुन बनाउने ठाउँमा अपराधीहरु बसेका छन् र तिनले कसरी न्याय देलान् ? जो जेलनेल हुनुपथ्र्यो, उनीहरु जननेताको पगरी गुथेर बसेका छन् । जसको आवाज सुनिनुपथ्र्यो, जसले न्याय पाउनुपथ्र्यो तिनीहरु सडकमा रोएर बसेका छन् । तिनलाई हेर्ने कसले ? लोकतन्त्रमा जनताको यस्तो पीडा ?
अचानोको पीडा खुकुरीलाई थाहा हुन्न । खुकुरीको काम काट्नु हो । जनयुद्धकारी र सत्तापक्षले जनताका अभिभावक, छोराछोरी काटे । मारे । बेपत्ता पारे । तिनै हुन् खुकुरी । त्यही चोटको पीडा सहन गर्न नसकेर  रुँदै यी आमा, दिदीबहिनी, छोराछोरीहरु न्यायको गुहार लगाइरहेका छन् । न्याय दिन नसक्नेहरु राज्य चलाइरहेका छन् । शासक बनेका छन् । यो अर्को दुर्भाग्य हो देशको ।
अबेर गरेर दिएको न्याय पनि अन्याय नै हो । लोकतन्त्र र लोककल्याणकारी राज्य हो भने न्याय समयमै दिनुपर्छ । हुन त बेपत्ता र मेलमिलाप आयोग पनि गठन भएको छ, ती आयोग घाम तापेर बसेका छन् । आयोगमा बस्ने राजनीतिक नियुक्तिमा आएका पार्टीका कार्यकर्ता न ठहरिए । तिनले के निर्णय अथवा प्रक्रिया थाल्न सक्थे र ? कस्तो लुटाहाको देश बन्यो गाँठे ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper