banner
banner

मधेसको राष्ट्रवाद : देवनारायण

धर्मरत्न श्रेष्ठ -
एनआरएनएको अध्यक्षमा भवन भट्टले जित हासिल गरे । उनलाई बधाई छ ।
तर एनआरएनएका प्रत्यासी भवन भट्टले ठूला चारै दलहरु कांग्रेस, माओवादी, एमाले र राप्रपाको समेत समर्थन पाएको देखियो । यसको अर्थ एनआरएनए राजनीतिबाट अलग छैन, हरेक राजनीतिक दलको ढोका ढकढक्याएर भवन भट्टले जित हासिल गरेका छन् । राजनीतिक पार्टीको आशीर्वाद हासिल गरेर भिजन २०२० यिनले पूरा गर्छन् भनेर कसरी र कसलाई मात्र विश्वास होला, कुन्नी ?
किनभने यी चारै ठूला पार्टी नेपाली राजनीतिमा असफल पार्टीहरु हुन् । परिवर्तनकालदेखि अहिलेसम्म यिनीहरु नै सत्तामा छन्, शक्ति यिनीहरुकै हातमा छ तर त्यो सत्ता र शक्तिको सदुपयोग हुनसकेन । परिवर्तनपछिका १३ वर्ष देश रोइह्यो, जनता रोइरहे । यी पार्टीहरु मह काढेर हात चाटिरहेको देखियो । जो देशको, जनताको हुनसकेन, स्वार्थमा सिमित रह्यो, त्यस्तोका समर्थनले जितेका भवन भट्टले नेपालमा कति काम गर्न सक्लान् ? यद्यपि उनले सपना अनेक देखाएका छन्, यो त्यो सबै मेरो अभियान हो भनेर लाप्राकको बस्ती निर्माणमा समेत आफ्नै सोच बताएका छन् । रित्तो घ्याम्पो बढी बज्छ भन्छन्, भवन भट्ट हेर्दा चट्ट छन्, चट्ट भवन भट्ट कार्य निष्पट्ट नबनुन् ।
स्वयम् शेरबहादुर देउवाले आफ्ना प्रवासी संगठनहरुलाई भट्टका पक्षमा लाग्न निर्देशन जारी गरेका थिए । माओवादीका प्रचण्ड र राप्रपाले त उनलाई आफ्नै उमेदवारजसरी प्रचार गरिदियो । माधव नेपालले त यिनी र एमालेसम्वद्धहरुसँग २ सय डलरका दरले पार्टीका लागि चन्दा मागेको प्रसङ्ग पनि आयो र केपी ओलीले खण्डनसमेत गर्नुपर्‍यो । जेहोस्, पार्टीले यिनलाई बोक्यो, यिनले एनआरएनएलाई भिजन २०२० मा बोकेर पुर्‍याउलान् कि नपुर्‍याउलान् ।
हाम्रा पार्टीहरुले घोषणापत्र जारी गर्छन्, निर्वाचनभरि त्यही घोषणापत्रलाई कण्ठे बुटी बनाएर भिर्छन् । जब चुनाव सकिन्छ, त्यो बुटी झिकेर मिल्काइदिन्छन्, त्यस्ता पार्टीको समर्थनमा एनआरएनएको चुनाव जितेका भवन भट्ट र उनको पंक्तिले भिजन २०२० लाई आत्मसात गर्ला कि नगर्ला ?
दोहोरो नागरिकताका लागि अहिले पनि एनआरएनए मरिहत्ते गरिरहेको छ । जब एनआरएनए गठन भएको थियो, त्यसपछिका हरेक अधिवेशनहरुमा यो मुद्दा उठिरहेको छ । तर हरके पटक एनआरएनएका पदाधिकारीहरुले नेपालमा रोजगारीमूलक उद्योग धन्दा सञ्चालन गर्ने, ठूलो लगानी भित्र्याएर ठूला परियोजनाहरु सञ्चालन गर्ने भनिए पनि त्यसको जरोबुटो केही देखिएको छैन ।
भवन भट्ट त्यही लस्करका एक एनआरएनए हुन् जसले राजनीतिक प्रभाव र दबाबका लागि सञ्चार उद्यम चलाए, व्यापक रोजगारी सिर्जना गर्ने कुनै उद्योगमा लगानी गरेका छैनन् । होला, मोदीले रेलवे स्टेशनमा चिया बेचेर प्रधानमन्त्री भए, भट्टले जापानमा भाँडा माझेर यहाँसम्म आइपुगेका होलान् । सबै भाँडा माझ्नेहरु भट्टजस्ता सम्पन्न र प्रभावशाली बन्न सक्दैनन् । भवन भट्टले केही नयाँ गर्ने हो भने मुनाफा हुने एयरलाइन्सदेखि अन्य ससाना परियोजनातिर हात हाल्ने होइन, एनआरएनएको ज्ञान, शीप, धन लगानी गरेर नेपालमा व्यापक रोजगारी सिर्जना गर्ने उद्यामतिर हात हाल्नुपर्छ । यसकालागि उनले प्रत्येक नेपालको सहयोग र समर्थन पाउनेछन् । गाउँसम्मलाई प्रभावित पार्नेछन् । माछा भए दुलामा हात, सर्प भए पाखामा हात गर्ने बिगतको नेतृत्वभन्दा अलग केही गर्ने अवसर भवन भट्टले पाएका छन् । उनले असफल पार्टीहरुको छायाँमा बसेर चल्ने होइन, एनआरएनए पनि देशभक्त हुन्छन् भनेर व्यवहारमै देखाउने र प्रष्ट्याउने समय आएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper