banner
banner

मानसिकता नै भारतीयकरण

बरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल -
सबैभन्दा ठूलो आक्रमण भनेको मानसिक आक्रमण हो । मान्छेको मानसिकता बदलिदिएपछि भौतिक आक्रमण गरिरहन पर्दैन । जसरी १९७५ मा भारतले सिक्किममा मानसिक र भौतिक दुबै आक्रमण गरेर बिस्तारवादको टाउको उठायो, २१औं शताव्दीमा मानसिकता परिवर्तन गरिदिए पुग्छ । आणविक युग हो यो, मान्छेको मानसिकता बदल्न सके कुनै पनि परिवर्तन सम्भव छ । नेपालबाट राजतन्त्र फाल्ने मानसिकता विकास गरेर भारतले आफ्नो बिजय ध्वजा २०६३ सालमै फहराइसकेको हो । त्यसपछि लगातार नेपालीको मानसिकता निरमा साबुनले धुने प्रयत्न गरिरहेको छ । स्थिति यस्तो आइसक्यो कि अव भारतले नेपालमा वार डिक्लेयर गरे पनि हाजमोला हुनेछ । किनकि हाजमोला त्यस्तो पाचक हो, जे खायो पचाउँछ । नेपाली नेता र बुद्धिजीवीहरु हाजमोलाका सबैभन्दा असल र पारखी क्रेता भइसकेका छन् ।
किनकि यिनलाई नालापानी, कालापानी, लिपुलेक केही पनि दुखेन । कैलालीको सीमामा भारतीयले गोविन्द गौतमलाई मारिदियो, त्यो पनि दुखेन । सप्तरीको तिलाठीमा देवनारायण यादवले छाती ठोकेर नेपाली भूमि अतिक्रमित हुनबाट बचाएका थिए, यिनले प्रशंसा गरेर धन्यवादसम्म दिएनन् । केही दिन अघि भारतले तिनै यादवलाई अपहरणकारी भनेर लगेर थुन्यो, त्यसमा पनि हाम्रा नेता, सरकारलाई दुख्दै दुखेन । बरु युवाले आवाज उठाए, भारतीय दूतावास घेरे, त्यसपछि बाध्य भएर भारतले यादवलाई रिहा गरेको छ ।
पोहोरसाल भारतीय राजदूतले नाङ्ले अखवारका सम्पादकहरुलाई निम्त्याएर भोज खुवायो । यस्तो भोज बेला बेलामा दुतावासले खुवाईरहन्छ । भारतमा टीए डीए दिएर घुम्न पठाइरहन्छ । त्यतिबेला भारतीय राजदूतले सिक्किममा आधा मूल्यमा दाल, चामल, चिनी, नुन खुवाइरहेको छ भने । एकलाखमा नानो गाडी चड्न पाइन्छ । सिक्किमले यति विकास पाएको छ कि त्यति विकास सिक्किमले सपनामा पनि सोचेको थिएन । यसरी मानसिकता परिवर्तन गर्ने राजदूतको भनाईमा हाम्रा ठूला स्वाधीन, प्रेस स्वतन्त्रताका पक्षधर सार्वभौम सम्पादकहरुले कुनै जवाफ दिएनन् र दूतावासको नूनिलो, गुनिलो, स्वादिलो स्वाद चाखेर आए ।
नेपालले किन भारतलाई सिधै सामाजिक सेवाको आवरणमा आर्थिक लगानी गर्न छुट दिएको छ ? एउटा सार्वभौम मुलुकले अर्को मुलुकलाई यसरी समानान्तर सरकार चलाउने अधिकार दिन मिल्छ कि मिल्दैन ? पटक्कै बोल्दैनन् हाम्रा जागरुक नागरिक सर्वोच्चताको गफ हाँक्ने अगुवाहरु ? सरकार र पार्टी नेताहरु त भारतीय दूतावासका लम्पसारवादी तत्वहरु जो साबित भइसकेका छन् ।
के हामी हाम्रै देशमा मुक्त कर्मया भइसक्यौं ? हाम्रो उपस्थितिबाहेक केही बाँकी छैन ? हामीले हाम्रो लागि आफैले सोच्ने हक राख्दैनौं ? राख्छौं भने समाजलाई सुसूचित गर्ने, समाजको ऐना बनेका अधिकारकर्मीसहितका नागरिक समाज देशाधिकारका लागि किन बोलिरहेका छैनन् ? यिनीहरु पनि हाजमोला अर्थात जे खायो पचायोका मतियारभन्दा फरक केही होइनन् त ?
पाहोरसाल रौतहटमा भारतीय सेवाकेन्द्र बारे बिबाद उठ्यो । र, यो घटनामा प्रहरी र आन्दोलनकारीवीच भिडन्त भयो । भिडन्तलाई साम्य पार्न सशस्त्र र जनपथ प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो, हवाई फायर र गोली पनि चलाउनु पर्‍यो । प्रहरीको गाडीले एक व्यक्तिको मृत्यु पनि भयो । यो मारामारमा केही व्यक्ति भागेर खुला सीमापारी पुगे । के चाहियो ? पारीपट्टी तैनाथ भएका भारतीय एसएसवीको सहयोगका साथ नेपालतिर गोली र बमबारी नै भयो । भारतले नेपालतिर बमबारी गोलीबारी गर्न मिल्छ कि मिल्दैन ? कुटनीतिक भाषामा यस्तो बमबारी, गोलीबारीलाई युद्ध घोषणा भएको मानिन्छ । निरस्त्र नेपालीहरु भागेर सीमापारी पुगे, पुग्नासाथ पारीपट्टीबाट बम, गोली चल्छ भने निश्चय नै यस घटनामा भारत जिम्मेवार छ । जिम्मेवारी भारतको हो । उसले नेपाली भागेर बमबारी, गोली चलाए भन्न मिल्दैन । यस्तो घटनामा भारतले साथ दिनै हुँदैनथ्यो । तर भारतले त्यो कूकर्म गर्‍यो, मौकामा नेपालमाथि हमला गरेकै हो । नेपालले त्यो अन्तर्राष्ट्रिय अर्को अपराध बेहोर्‍यो ।
सिरहाको मुसहर बस्ती उजाड बनाउने एसएसवीले सोमेश्वर डाँडामा हमला गर्‍यो, कैलालीका नेपाली किसानमाथि गोली दाग्यो । सीमा मिचेर सडक, ढल, बाँध बनाउनु त भारतको सामान्य कर्म बन्न पुगेको छ । अन्तर्राष्ट्रिय कानुन भारतलाई दालभात भइरहेको छ । जारी छ अत्याचार ?
यति हुँदा पनि कोही बोल्दैनन् । मानौं नेपालका तह तप्काका अगुवाहरु बहिरो, अन्धो, कानो भइसकेका छन् । नेपाल राष्ट्र हो कि उपनिवेश ? नेपाल स्वाधीन छ कि पराधीन ? स्वाधीन छ भने नेपालमाथि यतिबिघ्न अन्याय हुँदा, कम्तिमा ऐया त भन्नुपर्छ । किन नेपाल यसरी बेवारिसे बन्दै गएको होला । माथि नै भनियो, मानसिकता बदलिदिएपछि युद्ध लडिरहनु पर्दैन, स्वत: जित हुन्छ । भारतले नेपालका विचार निर्माताहरु, राज्यका अंगहरु र प्रमुख व्यक्तिहरुको सोचमै भारतीय छाप हानिदिएका छन् । मानसिकता नै भारतीय भएपछि भारतले गरेका सबै कूकर्महरु तिनलाई उचित लाग्नु स्वभाविक हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper