banner
banner

यो बिदाई सुखद रह्यो

शाश्वत शर्मा -
भनिन्छ कि बिदाई चाहे जसको भए पनि त्यो सुद हुँदैन । तर गत बिनवार संविधानसभाबाट रुपान्तरित भई बनेको व्यवस्थापिका संसदको सांसदहरुलाई बिदाई गरियो, त्यो चैं अधिकांश नेपालीहरुलाई सुखद अनुभूति भइरहेको छ । जनताले तिरेको करबाट भत्ता खाएर एकथरि नेपालीलाई मात्र हुने गरी संविधान निर्माण गर्ने संविधानसभा र त्यसलाई कार्यान्वयन गर्न उत्साहित हुने रुपान्तरित व्यवस्थापिका संसद वास्तवमा असफल, असक्षम र नालायक शिद्ध भएकै हो । अहिले भर्खर भत्ता र गाडीभाडासहित शिवरात्रिमा पशुपतिनाथमा आएका जोगी, नागा, सन्यासीहरुलाई बिदाई गरेझैं बिदाई गरिएका यी ६ सय १ मुलुकमा स्पष्ट रुपमा द्वन्द्व बढाउने काम मात्र गर्नेहरु त्यसैगरी बिदा भएका छन् । निषेधको राजनीतिको सुरुआत गर्ने यिनै थिए जसले गुण्डागर्दी देखाउँदै तिनको मात्र सुनवाई हुने परम्परासमेत बसालेर गएका छन् ।
मुलुकमा विदेशी शक्ति हावी गर्ने यिनै हुन्, जनताका प्रतिनिधि भनाउँदाहरु मात्र रबरस्ट्याम्प साबित भएर गए । सरकारीपक्ष विदेशीहरुको इसारामा अनलाग्दी गरिरह्यो, विपक्षीहरु मुकदर्शक बनिरहे, मानौं विदेशीका दलाल र सहयोगी हुन् । अहिले त्यो संविधानसभा र यो रुपान्तरित संसदको खुबै बखान गरिदैछ । ६० वर्षदेखि जनताको आफ्नो संविधान आफै बनाउने रुपमा पूरा भयो भनेर आफूले आफैलाई स्यावासी दिने काम गरिदैछ । भन्नु नै पर्दा त्यो संविधान र यो व्यवस्थापिका संसदले मुलुक विभाजन गराउने अपराध नै गरेको छ ।
अहिले आन्दोलन गरेका मधेसवादी दलहरुको माँग पूरा गर्छौं भनेर सबैखालेहरुले सपथ नै खाएका छन् । मधेसी, जनजाति, महिला, मुस्लिम आदिहरु त यिनीहरुको जिब्रोमै झुण्डिएका छन् । भोटको राजनीति यिनले यसरी नै गर्न जानेका छन् । अव अर्काथरि छन्, त्यही व्यवस्थापिका संसदभित्र, जसले संवैधानिक राजतन्त्र र हिन्दूधर्मलाई आफ्नो  भोटको लागि मसला बनाएका छन्  तर बुझौं यी दुबैथरिको मसलाहरु व्यक्तिगत र पार्टिगत महत्वकांक्षाबाट प्रेरित रहेका छन् । यहाँ परम्परागत शक्ति पनि छ जो सुदृढ अवस्थामा छ । बहुसंख्यक नेपाली जनता त्यो शक्तिको पछाडि छन् तर सडकमा गुण्डागर्दी शैली नदेखाउने, नाकावन्ी गर्नेतिर नलाग्ने, हिंसा, आगजनी, तोडफोडमा विश्वास नगर्ने त्यो परम्परागत शक्तिलाई शान्तपूर्वक बसेकै हुनाले कमजोर ठानियो ।
यो मुलुकमा एकीकरण गर्नेदेखि लिएर राष्ट्रियता जोगाउनसम्म प्रमुख भूमिकामा देखिएको उक्त शक्तिलाई तथाकथित संविधानमा कुनै स्थान दिइएन । यसलाई यी ६ सय १ लठैतहरुले ठूलो उपलव्धिका रुपमा लिएका प्रचार गरेर गए । तर यिनले बुझे हुन्छ, यिनको मनपरितन्त्र पनि केही समयको मेहमान हो भनेर । राजा बिनाको नेपालको कल्पनासम्म पनि नगर्ने बहुसंख्यक नेपालीहरुको भावनाको खिलाफमा गएर जसरी यो संविधान निर्माण गरियो, त्यो यिनकै लागि घातक शिद्ध हुनेछ भनेर बुझे हुन्छ ।
अरवौं खर्च गरेर गठन गरिएको संविधानसभा र व्यवस्थापिका संसद, जो सुरुदेखि नै बिबादास्पद र असंवैधानिक थियो, वास्तवमा असफल भएको छ । संविधानसभाले सर्वमान्य संविधान निर्माण गर्न सकेन । अघिल्लो संविधानसभा संविधान निर्माण नै नगरी बिघटन भएको थियो भने यो दोश्रो संविधानसभाले मुलुकमा द्वन्द्व र बिघटन निम्त्याउने संविधान निर्माण गरिदिएर झन ठूलो विपद नेपालीहरुका माझमा राखिदिएर गएको छ । मानौं बारुद । जुन कुनबेला बिस्फोट हुन्छ र मानसिकता र स्थिति छिन्नभिन्न हुने हो कसैले पनि भन्न सक्ने स्थिति छैन ।
अहिले भत्ता र गाडी भाडा लिएर हामीले तिरेको करको दुरुपयोग गर्नेहरु यिनै ६सय १ हुन् । असफल संविधान निर्माण गर्ने, राष्ट्रिय एकता भाँडेर मानसिकताको बिभाजन गरेर जानेहरुलाई आमनागरिकले कहिले पनि क्षमा दिने छैनन् ।
मधेसमा बहुल राष्ट्रवाद र राष्ट्रियताको बिखण्डनको मुद्दा उछालिएको छ, त्यो कुरालाई समन गर्न नसक्ने संविधान दिएर गएको भनेर नाक फुलाउनु यिनीहरुको सबैभन्दा ठूलो असफलता हो ।
राजनीतिक बिबाद चुलिएको छ, राष्ट्रिय राजनीतिक राजमार्ग बन्नसकेको छैन, ध्रुविकृत राजनीतिको सुरुआत भएको छ । पहिले राष्ट्रियता मजबुत पारेर त्यसभित्र राजनीतिक वातावरण बनाउन नसक्नेहरु यसरी के के न गरेँ भनेर फोटो सेसन गरेर नाक फुलाउँदै घर घर लागेका छन्, यथार्थमा यी मगन्तेहरु देशको टाउकामा घिरिङ खेलिरहेका थिए, त्यसबाट देशले मुक्ती पाएको छ ।
अव प्रदेश र केन्द्रको चुनाव हुने भनिएको छ । त्यो चुनाव भए वा नभए पनि देशले यिनैलाई जिताएर पठाउनु पर्ने हुन्छ । जो असफल र खोटो साबित भइसकेका छन्, तिनले फेरि फेरि आएर गर्ने उही भ्रष्टाचार हो, अनियमितता र मनलागी हो । देशलाई एकीकृत पार्ने कुनै पनि नेता वा दलसँग कार्यक्रम नै छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper