banner
banner

सबै समस्याको एकमुष्ठ निकास राजतन्त्र

स्वयम्भुनाथ कार्की -
पञ्चायतको समाप्तिपछि त्यसले भोग गरेको अवधिको हाराहारी हुँदा समेत राजैतिक दलहरुले यति कम समय भनेर बहाना बनाउन छोडेका छैनन् । यो ‘नाच्न नजान्दाको टेढो आँगन हो । संविधान निर्माणमा नियन्त्रणकारी भुमिकामा बसेका बाबुराम अझै जनतालाई उल्लु वनाउन सकिन्छ भनेर ‘नयाँ शक्ति’को राग अलाप्दैछन । एक वाक्यको भए पनि संविधान जारी गर्नै पर्छ भनेर उनले संविधानसभा मै बोलेको अभिलेखमा हुँदै होला ।  ३ सय ८ धारा र ९ अनुसूचीको संविधान जनताको भोग लिदै जारी भएको छ, आफ्नो बुद्धि विहिनताले मुलुकलाई भड्खालोमा जाकेर पनि आफैलाई तारणहार सावित गर्ने कुचेष्टामा छन ।
यो करिव तीन दशकमा अनेकौ तरिकाले, अनेकौ समिकरण बनाएर बुताले भ्याएसम्मको प्रयोग भई सक्यो । ६३मा राजाले खाली गर्ने वित्तिकै नारायणहिटी जिम्मा लगाएका मधेशका ‘मसिह’ भनाइने दलहरु पनि लगातार सत्ताको हिस्सेदार भएका नै छन् । अझ राजासहितको प्रजातन्त्रको भन्ने कमल थापा समेत सत्तामा पुगिसकेको अवस्था छ । आफुले लिएको भनिएको सबै सिद्धान्तको प्रतिकुल आएको संविधानको मुक्तकण्ठले प्रशंसा गरेर सत्ता फकाउनु ‘कथा’को जपना भएको छ । हुँदाहुँदा उनले राप्रपा नेपाल नै राप्रपामा विलय गराए जुन बुँदामा नमिलेर छुट्टिएको थियो त्यो नै उधारोमा राखेर । तर राप्रपा नेपाल गठन गर्न तात्कालिन सत्ताले लगाएको छेकवार तोडन सही गर्ने देशभक्तहरुले राप्रपा नेपाल जीवित नै राख्ने संभावना प्रवल छ कथा टुटेर गए पनि ।
महिनौ मुलुकका सर्वसाधारणलाई नरकजस्तै कष्ट भोग्न बाध्य गराउने यी ‘मसिह’ र त्यो कष्ट एकरत्ति पनि कम गर्न अक्षम नेपालका प्रमुख दलहरु सबै कुरा भारतको टाउकोमा हालेर ‘पानी माथिको ओभानो ’ बन्दैछन । यस्तो परिस्थितिमा ‘सिके’हरु चम्कनु स्वभाविक नै हो । बंगला भाषामा राष्ट्रियलाई जातिय भनिन्छ भन्दैमा अरु भाषामा पनि जाति भनेको राष्ट्र हो भन्ने परिभाषा यीनै दलहरुका बुद्धिजीविहरुले गरेका छन् ।  राष्ट्र र राष्ट्रियता अलग अलग कुरा हुन भन्ने परिभाषा कोच्याए पछि ढिलो वा छिटो राष्ट्र विखण्डन हुन्छ नै । यहि आफैले निम्त्याएको कुराले खतरा देखेपछि जीवनभर घारेहात लगाएर गाली गरेको ‘राष्ट्रवाद’को दौराको फेर समातेर भविष्यले देशघाती नभनोस् भन्ने प्रयत्न गर्दैछन् ।
हिन्दु अधिराज्य र हिन्दु राष्ट्रमा आकाशपातालको फरक छ । हिन्दु अधिराज्य भनेको परंपराको साथै मुलुकको स्वाभिमानी अस्तित्वको निरन्तरता हो, धर्मलाई राजनीतिमा मुच्छ्ने वर्तमान निरपेक्षको प्रतिबिष हो  । हिन्दु राष्ट्र भनेको धर्मको नाममा भारतका पिठाधीशहरुको नियन्त्रणमा मुलुक सुम्पने कुचेष्टा हो । यो सुनौला मौकामा सरदार पटेलले भारतिय संघमा जोड्न नसकेको राष्ट्र हिन्दु गणतन्त्रको नाममा भारतले आफ्नो पोल्टामा पर्ने संभावनालाई हावा दिनु अस्वभाविक हैन । यसैले विभिन्न भारतिय राजनैतिक, धार्मिक व्यक्तित्वहरु हिन्दु अधिराज्यको विरोधमा तर हिन्दुराष्ट्रको पक्षमा बोल्दैछन् । यसैको नयाँ प्यादा हुन कथा राप्रपा नेपालको अस्तित्व घाईते बनाएर विलय हुन गएका छन् ।
सनातनी परंपरा अपभ्रंश भएर आएको हिन्दु शव्द टेकेर आफ्नै  अस्तित्वलाई धारेहात लगाउन उद्धत पिढी यही दलीय राजनीतिको सत्तामा टाँसिईरहने छलकपट विद्याको उपज हो । त्यसमा सनातनी परंपरा मध्येका केही सम्प्रदायका धर्मगुरुहरुले दिएको ‘हिन्दुराष्ट’को नारा प्रियकर लाग्नु स्वभाविक नै हो । सनातनी चिनारी मेटिएको वेलामा चाहे हिन्दु नामले नै किन नहोस कुल परंपराको चिनारी कायम रहोस भन्ने चाहाना हो । यसको दुरुपयोग गर्दै हिन्दु गणतन्त्रको नाममा मुलुक नै भारतिय धर्मगुुरुको जिम्मा लगाउन सकिन्छ कि भनेर कसैले मुख मिठ्याएको हुन सक्छ । 
पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका भन्दा नेपालको एकिकरण गरेका हुन । विभिन्न कालखण्डमा विभिन्न तरिकाले टुक्रा हुन पुगेको नेपाललाई एकिकरण गरिएको हो । यदि विजित मुलुकलाई गोर्खामा मिसाएको भए त्यसलाई राज्य विस्तार मान्न सकिन्थ्यो । काठमाण्डौलाई आफ्नो इच्छा विपरित  राजधानी कायम गरेर प्रचिन नेपाललाई सम्मान गरेका थिए । झण्डा लिच्छवी कालिन नेपालको झण्डाबाट नै कायम गरे जसको नमुना चाँगुनारायण मन्दिरमा छ । प्राचिनदेखि हालसम्म नेपालको गौरव र जनताको हित भएको कार्यकाल राजाहरुको प्रत्यक्ष शासन काल नै छ ।
आलंकारिक राजा, अमात्य वा प्रधानहरुको नियन्त्रणमा भएका लालमोहर मात्र लगाउने राजा, शिशु राजा सातसाल भन्दा पहिले नै भोगि सकेको छ । संवैधानिक भनेर राजनैतिक दलहरुको अधिनमा र अहिले गणतन्त्र पनि भोग्दैछ । गणतन्त्रको हियामती गर्नेहरु नै नेपालमा विभिन्न समस्या रहेको कुरा स्विकार गर्न बाध्य भएका छन । नामै सुन्दा पनि सुनपानी छर्कनु पर्ने मनस्थिति भएकाहरु पनि राजा महेन्द्रको कार्यकाल सम्झन पुग्दैछन् । अलग अलग समस्याको अलग अलग हल गर्ने प्रयत्नमा सबै छन । तर एक समस्या हल भै नसक्दै अर्को समस्याले टाउको उठाउन पुग्दैछ । भनिन्छ हात्तीको पाइलाको डोव अटाउने ठाउँमा सबैको पाईलाको डोव अटाउँछ । यस्तै सबै समस्याको एकमुष्ट हल राजसंस्था पुनर्वहाली मात्र हो । यो कुरा जति छिटो बोध हुन्छ त्यति ठिक हुन्छ । ढिलो गर्दा कतै यो प्रचिन नेपाल थियो अरे भन्ने अवस्थामा नपुगियोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper