banner
banner

देशभक्त समेट्नु भनेको दल खोल्नु होइन

स्वयम्भुनाथ कार्की -
नेपालका नागरिकहरुको पहिलो परिचय नेपाली हो । उसले पाउनु पर्ने सबै अधिकार र गर्नुपर्ने सबै कर्तव्य नेपाली भएर पाउने वा गर्ने हो । एक नेपालीको अनेकौ परिचय हुन्छ, जो समय सन्दर्भ वा स्थान अनुसार दोश्रो स्थानमा रहन्छ । तर पहिलो स्थानमा रहने परिचय त नेपाली नै हो । त्यसैले देशभक्तहरुको पहिलो प्राथमिकता भनेको मुलुक र मुलुकको हित हो । यहि आधार बिन्दुबाट सबै कृयाकलापको मापन हुनु पर्दछ । कुनै दल वा राजनैतिक नेतासंग आवद्ध हुँदा पनि देशभक्त आफ्नो प्राथमिकता छोड्न सक्दैन । बरु दल वा नेता छोड्न तैयार हुन्छ । 
एकान्तमा आफ्नो अन्तरआत्मालाई न्यायधिश मानेर निर्णय गर्न दिने हो भने सहि र गलत छुट्याउन कठिन छैन । अन्तरआत्मालाई कुरो बुझाउन न कुनै वकिल चाहिन्छ न झुट नै चल्छ । अन्तरआत्माको निर्णय अनुसार चल्नेहरु स्वाभिमानी हुन्छन । यस्तै स्वाभिमानी देशभक्तहरु मुद्धाका आधारमा समेटिनु आजको आवश्यकता हो । यो आवश्यकतालाई बिक्रियोग्य बस्तु मानेर पसल खोल्नेहरु क्षणिकरुपमा भावनाको व्यापारमा सफल त हुन्छन तर दिगो भने हुँदैन । एक स्वाभिमानी देशभक्त सबै कुरामा आँखा चिम्लेर कसैले बनाएको दलको अनुशासनमा समेटिदैन र समेटिनु हुँदैन पनि ।
केवल एकमात्र लक्ष मुलुकको स्वतन्त्रता, स्वाभिमान र समुन्नतीलाई मानेर समेटिने देशभक्तहरु कुनै दलको झण्डाले हैन कार्यगत एकताले जोडिनु पर्दछ । नेताले समुह जन्माउने परमुखापेक्षि सोचको विपरित समुह र लक्षले नेता आफै पैदा गर्दछ भन्ने मान्यता ठिक हो । जो समुहका सबैलाई सन्तुष्ट बनाएर लक्ष भेदन तर्फ लाग्न सक्छ त्यो नै वास्तविक नेता हो । समुहको नेता हुनै पर्दछ भन्ने चलेको चलन अनुसार देशभक्तहरुले पनि कुनै नेताको आवश्यकता महशुस गरे । तर यसको असर अहिलेसम्म केवल आपसी द्वन्द र फुट मात्र देखिएको छ । अव यो बन्द हुनु पर्दछ ।
देशभक्तहरुको समुहमा नेताको देवत्वकरण अपाच्य कुरा हो । तर अहिले त्यही प्रवृति देखिएको छ । जुन दलहरु आरंभदेखि नै कुनै न कुनै नेतालाई शिर्षमानेर त्यसैलाई धुरी बनाएर जोडिएका छन भने त्यो उनीहरुको निमित्त ठिक होला । तर जन्मदै दुईफ्याक भएर जन्मेको राप्रपा जस्तो दलमा यो प्रवृति घातक भयो । अन्तरआत्माको निर्णयले सहिको समर्थन र गलतको विरोध गर्ने परिपाटीमा दिक्षितहरुलाई व्यक्तिको निर्देशनमा हिड्न असंभवप्राय हुन्छ । त्यसैले आज त्यसका अनेकौ टुक्राहरु देखिदैछन । यसलाई जोडने प्रयत्न अरु प्रत्युत्पादक हुन्छ । त्यसैले यीनिहरु बीचमा जोडिने केवल एकमात्र सुत्र छ त्यो हो कार्यगत एकता ।
यस कुरालाई अझ स्पष्ट एक सामान्य उदाहरणले गर्छ । कुनै चार व्यक्ति साईकल वा मोटरसाइकलमा काठमाण्डौबाट चार गन्तव्य विराटनगर, विरगंज भैरहवा र धनगढी जाँदैछन । नारायणघाटसम्म चारैजाना एकैसाथ हुन्छन , किनभने त्यहासम्म उनिहरुको गन्तव्य मिल्छ । त्यसपछि सौहार्दपुर्ण तरिकाले पश्चिम जाने दुई र पुर्व जाने दुई छुटिन्छन । बुटवल पुगेर भैरहवा जाने र धनगढी जाने अनि पथलैया पुगेर वीरगंज जाने र विराटनगर जाने पनि छुटिन्छन । अहिले मुलुकको पहिलो गन्तव्य भनेको नारायणघाट सम्म जस्तो हो । जहाँ नेपालले सुरक्षित महशुस गर्दछ, नेपालीले भविष्यको उज्यालो देख्न पाउछन । त्यसपछिका कार्यक्रमहरु सबैका अलग अलग हुनसक्लान जो एकैदलमा आवद्ध भएर संभव नहोला । कार्यगत एकता भनेको यहि हो ।
राप्रपाहरु लगायत सबैदलको नेतृत्वमा आफु दलमात्र हैन राष्ट्रभन्दा पनि ठूलो भन्ने भाव देखिएको छ । यो नै दलहरुबाट हैन देशभक्तहरुको कार्यगत एकताबाट मात्र संभव छ भन्ने कुराको डंका हो । दलहरुले त विगत दशकौदेखि नेपाली नपाली बीचको एकतामा प्रहार गर्दै छन् । कुनै काम गर्न कुन दलको हो त्यसले फरक पार्दैछ । अझ अव त कुन जाति वा समुदायको हो त्यो पनि भागवण्डाको आधार हुनुपर्ने भएको छ । तर जुनदलमा नेताको व्यक्तिपुजा हुन्छ , नेताको देवत्वकरण गरिन्छ त्यसमा राष्ट्रवादको कलाई चढेको त होला तर राष्ट्रवादी हैन ।
करिव तीन दशकमा नेपालमा नेपाली हुँ भन्ने भन्दा म फलाना दलको, फलाना समुदायको वा फलाना क्षेत्रको भन्ने धेरै हुँदैछन । यो सोच नै नेपालको प्रमुख शत्रु हो । त्यसैले दलको अनुशासित कार्यकर्ताको हैन आफ्नो अन्तरआत्माको आवाज सुन्ने स्वाभिमानी नेपालीहरुको कार्यगत एकता आजको खाँचो हो । हरेक स्वाभिमानी नेपाली देशभक्त हुन्छ नै किनभने देशभक्त नभई त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper