banner
banner

दशैंमा कष्टकर जीवन

स्वयम्भुनाथ कार्की -
(स्पष्टिकरण: यस आलेखमा हिन्दु भन्ने शव्द सनातनीको निमित्त प्रयोग भएको हो ।)
दशै नेपाली मौलिक पर्व हो तर यसलाई केवल हिन्दुको बनाईदैछ । अग्रगामी हुने होडमा इशाई धर्मप्रचारकहरुको निर्देशनमा यो नेपालको मौलिक पर्व हो भन्ने कु्रा ओझेलमा पारिदैछ । दशै हिन्दुको चाड हो र केवल नेपालमा मात्र हिन्दु छैनन्, बरु नेपालमा भन्दा ज्यादा हिन्दु अन्य मुलुककै नागरिक छन भन्ने तर्क लिएर आक्रणको हुने गरेकोछ । हुन त चन्दने कन्दनेहरुको कुरो मानेर दशैलाई केवल धर्मसंग जोड्दा यस चाडमा भएको नेपाली मौलिकता देखिदैन । तर विभिन्न स्थानको दशै मनाउने तरिकाहरु हेर्ने हो भने यसमा रहेको नेपाली मौलिकता छर्लङ्गै देखिन्छ ।
नेपालीले निमित्त दशैलाई केवल चाड मात्र हैन । त्यो बर्षको खेतीपातीको मेहेनत तथा कष्ट भुक्तान गरेर रमाउने पर्व हो । संघर्षपूर्ण जीवन पद्धतिमा यो एउटा गतिलो बहाना हो राम्रो लगाउने र मिठो खाने । यत्तिमा मात्र यो सिमित छैन, समस्त नातागोता, ईष्टमित्र अनि बन्धुबान्धव संगको पुनर्मिलन यसको अर्को महत्वपूर्ण पक्ष हो ।सामाजिक सदभाव सामुहिक रुपले निर्माण गरेको लिङ्गे पिंगमा चचहुई गर्दा प्रष्फुटन हुन्छ । सक्षमले धेरै तथा नसक्नेले थोरै सामाग्रीको योगदान भै पनि पिंङ्ग जस्ता मनोरञ्जनका साधन कुनै धनिले एक्लै बनाउदैन, यदि बनाएछ भने पनि त्यसको उपयोग समुदायका सबैले गर्दैनन् ।
यसरी सम्पन्न, विपन्नको भेद दशैमा मात्र भए पनि मत्थर हुन्छ । नाताले वा मान्यताले जेठा परेका कोहि कंगालै रहेछन् भने पनि तिनको घरमा टिका थाप्न धन्नासेठ पनि जान्छन् । चाहे बर्ष भरी हेपिएका हुन तर दशै मै भए पनि आफ्नो मानको अनुभुति गर्न पाउँछन् । यो यस्तो चाड हो जो हरेक नेपालीले आफ्नो गच्छे, परम्परा वा संस्कृति बमोजिम मनाउँछन् । ‘अरुले हात्ती चढे भनेर धुरी चढ्ने’ होडले दशै बोझिलो पनि हुँदै जादैछ । आर्थिक रुपमा अपेक्षाकृत खर्चिलो मानिएको दशैलाई दशा वा ‘आयो दशै बाजा बजाई गयो दशै ऋण बोकाई’ पनि भन्ने गरिन्छ ।
जसरी भए पनि बर्षमा एक पटक राम्रो लगाउने, मिठो खाने तथा रमाईलो गर्ने पक्षलाई कठिन जीवनधान्न मेसिन झै कामगर्नु पर्ने अवस्थामा पिडा भुलेर जीवन बाँचेको क्षणको रुपमा लिन सकिन्छ । केही नकरात्मक कुरा भए पनि दशैमा नेपालीको महान चाड हुन चाहिने तत्व छन । यहि कारणले नै दशैले नेपालको राष्ट्रिय चाडको अघोषित मान्यता पाएको । दशै मान्ने दशै खर्च कर्मचारीले पाएका छन्, विरोध गर्नेले पनि र मान्नेले पनि । जसले जति नै अग्रगमनका कुरा गरेपनि नेपालको अघोषित राष्ट्रिय पर्व दशैलाई अवहेलना गर्न सकेका छैनन । एकाध विरोधले कमाई हुनेहरुले विदेशका वसेर विरोध गर्नु अलग हो । तर उनिहरुले पनि दशैको सबैकुरा बहिष्कार गर भनेर नारा दिए पनि दशै खर्च बहिष्कार गर भन्ने नारा दिन सकेका छैनन् । यो गर्ने हिम्मत पनि छैन ।
शरदकालिन पर्व भएकाले यसमा सबैले अआफ्नो औजारको पुजा गर्दछन । किसानले कृषि औजार, सैनिकले शस्त्र आदि । यो पुजाको बहानामा औजारहरु अर्को पल्टको निमित्त तम्तैयार राखिन्छ । जमराको रुपमा उमारिएका अनेक अन्नका बोटहरुले किसानको आगामी बिउहरुको परिक्षण गरिरहेको हुन्छ । हो यो सबै कामको रुपमा नभएर रमाईलो मिसाएर गरिन्छ । तर के काम रमाईलो गरेर गर्न नहुने हो र ?
दशैको वेलामा औजारहरुको निरिक्षण परिक्षण मात्र हुँदैन आफन्तहरुको पनि सम्झना, खोजी, चासो हुन्छ । यस अवसरमा व्यक्तिव्यक्ति बीचमा आदान प्रदान हुने शुभकामनाले बर्षभरिको सम्वन्धमा आएको मिठो नमिठो अवस्थालाई मिठो बनाउँछ । आगामी बर्षको निमित्त आपसी सौहार्दताको नविकरण गर्दछ । यस्ता शुभकामनाहरुमा दिनेको आत्मा बोल्छ लिनेको आत्मा प्रफुल्लित हुने गर्दछ । तर यसमा पनि अर्को धर्मप्रचारकको हस्तक्षेप शुरु भैसकेको छ । त्यसैले यो शुभकामना मलाई सहित यति जनालाई पठा नत्र ... भन्ने धम्की आउन थालेका छन । कुटिलतापूर्वक रचिएको यस्तो षडयन्त्रमा नौलोपन देखेर फस्नेहरुको संख्या बढ्दैछ ।
दशै नेपाली अर्थतन्त्र सबैभन्दा चलायमान हुने अवसर हो । यसबेला चलायमान भएको आर्थिक गतिविधिले धेरैको रोजीरोटी चल्ने गर्दछ । विश्वका अन्य कुनै हिन्दुहरुले दशै मनाउदैनन । उनीहरु  दशहरा मनाउँछन् , विजया दशमी मनाउछन्, कालीपुजा, दुर्गापुजा आदि गर्दछन् । यी सबै हिन्दुहरुको चाड हुन जो अआफ्नो सम्प्रदायमा अआफ्नो किसिमले मनाउछन् । दशै या बडादशै नेपालीहरुको मौलिक परंपरा हो जो कुनै नेपालीले विश्वका कुनै कुनामा गए पनि मान्छ । विदेशमै बसाई सरेको भए पनि आफ्ना नेपाली नै नबुझ्ने सन्तानलाई जमरा र टिको लगाईदिने आकांक्षा पालेर बस्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper