banner
banner

कम्युनिष्टहरुको हाल, बेहाल

धर्मरत्न श्रेष्ठ -
प्रचण्डले एमाले काठमाडौं र रौतहटबाट चुनाव हारेका माधवकुमार नेपाललाई  मनोनित गरेर प्रधानमन्त्रीमात्र बनाएनन्, माधव नेपाल नेपाली राजनीतिमा माधव नारायण नै हुन् भन्ने भान पनि देखाए । तर, समयक्रममा तिनै माधव नेपालको सरकारविरुद्ध आमहड्ताल प्रचण्डले नै गरेका हुन् भने तिनै माधव नेपाललाई भारतको खेताला, कठपुतली समेत भनेका थिए । यस क्रममा प्रचण्डले स्वाधीनता र नागरिक सर्वोच्चताको निकै ठूलो हल्लाबोल कार्यक्रम गरेर देशै ठप्प पनि पारेका हुन् । तिनै प्रचण्डले अन्तत: झलनाथलाई ७ बुूदाको लक्ष्मणरेखामा बाँधेर प्रधानमन्त्री बनाउन पुगे । यो सहमतिअनुसार झलनाथ खनालले प्रचण्डलाई पालैपालो अनुसार सत्ता हस्तान्तरण गर्नुपथ्र्यो, उनी सफल भएनन् । हार खाएर प्रचण्डले आफूले नसक्ने देखेपछि डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार बनाए । प्रचण्ड, बाबुराम, भारत र भारतवादीहरुको अथक प्रयासले मधेसी मोर्चाले सम्पूर्ण मत बाबुरामलाई खन्याइदियो, बाबुराम प्रधानमन्त्री बन्न सफल भए । त्यसपछि पनि प्रचण्ड प्रधानमन्त्री बन्न सकेनन् र सर्वोच्चका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई ल्याएर सरकार प्रमुख बनाउने प्रस्ताव हेटौंडा पार्टी वैठकमा पास गरेर त्यही प्रस्तावलाई संसदमा छिराइदिए । चुनाव भयो, प्रचण्डको पार्टी नराम्ररी हार्‍यो । तर प्रचण्डको महत्वकांक्षा हारेन । सुशील प्रधानमन्त्री बने, संविधान घोषणा गरेपछि प्रचण्डकै सहमतिमा ओली प्रधानमन्त्री बनेका हुन् । ओलीलाई सत्ताबाट उतार्न प्रचण्डले जुन खेल खेले, त्यो अचम्मको थियो र त्यसपछिका प्रचण्ड र देउवाको आलोपालो सत्तारोहण अचम्मै हो नेपाली राजनीतिमा । प्रजातन्त्र र कम्युनिष्टको मिस्कट सरकार बन्यो, चल्यो र चलिरहेको छ । यतिखेर प्रचण्डले देउवालाई सरकारको साँचो सुम्पेको सय दिन नाघेको छ । एमालेले यो मिस्कटलाई राष्ट्रघाती र चरित्रहीन भनिसकेको छ । अहं प्रश्न एउटै छ– २०६३ सालपछि बनेका १० सरकारहरु कुन देशभक्त, कुन कठपुतली सरकार हो ? जनतालाई सोध्ने र तथ्य विश्लेषण गर्ने हो भने सरकारको आवरणमा सबै सरकार पुतली सरकार हो ।
तर लोकतन्त्रको सत्ता राजनीतिमा कम्युनिष्टहरुको चहलपहल जारी छ । 
०४६ सालपछिको १२ वर्षे कूशासनमा कमरेड मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए । ०६३ सालको जनआन्दोलनको सफलतापछिको १२ वर्षभित्रै ४ जना कमरेडहरु प्रधानमन्त्री बनिसकेका हुन् । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ र डा.बाबुराम भट्टराई । प्रचण्डको दोश्रो पल्टको प्रधानमन्त्रीत्व समेत सफल हुनसकेन । बिखण्डन, बिभाजन र द्वन्द्व बढाउने सहमतिका साथ कम्युनिष्टहरु, खासगरेर प्रचण्ड राजनीतिमा हावी भइरहे, कांग्रेस र एमालेलाई प्रचण्डले च्याम्पटी घुमाएजसरी घुमाइरहेका छन् । चटके राजनीतिको चटकले यतिखेर ओलीलाई घनघोर राष्ट्रवादी र कांग्रेस–माओवादीलाई दिल्ली निकट पुर्‍याएको छ । ठूला वा साना कुनै पार्टीले पनि आफूमाथि लागेको भारतपरस्तताको आरोपलाई धुन सकेको देखिदैन । राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा गर्न सकेको पनि देखिन्न । देशभक्तिको उदाहरण बन्न सकेको पनि देखिन्न । जसलाई हेरे पनि उही कानै चिरिएका ।
अव त एमालेको युवा कमाण्डो, कांग्रेसको तरुण दल, माओवादीको वाईसीएल ब्यूँतिएका छन् । लोकतन्त्रमाथि अतिवादको कालो छायाँ देखिदैछ । तथापि सत्य के पनि हो भने राजनीतिमा ६२ प्रतिशत कम्युनिष्टहरुको बाहुल्यता रहेको छ । तरकम्युनिष्टभित्र व्यक्ति स्वार्थ छ, सैद्धान्तिक विचलन छ, बैदेशिक हस्तक्षेप छ भन्ने स्पष्ट धार र धारणा राख्न सकिन्छ किनकि यी कम्युनिष्टका नाममा कम्युन्यालिष्ट चरित्र देखाइरहन्छन् । किङ मेकर त बन्यो कम्युनिष्ट, कन्ट्री मेकर बन्नसकेन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper