banner
banner

संविधान संशोधनमा माङ्ग्रेस सरकार फेल

शाश्वत शर्मा -
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन अघिमात्र दिल्ली भ्रमण गरे, फर्किए । भ्रमणका क्रममा त्यहाँ आफ्नो कान समाते... र भने– मधेसी दलहरुको माँग बमोजिम संविधान संशोधन हुन्छ... पुन: दोश्रो पटक संशोधनको प्रस्ताव संसदमा पेश गर्नेछु । संशोधनका लागि भारतले पनि सघाउने विश्वास गरेको छु । त्यसपछि दिल्ली खुशी भयो, यता मधेसवादी मोर्चा जो संविधान संशोधन नभई चुनावमा भाग लिदैनौं भन्दैथियो, राजपा पनि साइकल चुनाव चिन्हमै चित्त बुझाएर मधेसका सडक, गल्ली, चोकहरुमा चुनावमा भाग लिदै साइकल कुदाउन थालेको छ । राजपाले ढिलो भएका कारण छाता चिन्ह पाएन ।
अहिले अवस्था यतिसम्म देखिएको छ कि मधेसवादी दलहरुमा उमेदवार बन्नका लागि हानाहान र मारामाराको स्थिति छ । टिकट नपाए पछि अर्को पार्टीमा सर्लक्क छिर्ने र टिकट लिनेहरु पनि प्रशस्तै देखिए । कतिपय नगरपालिकाहरुमा त ५ करोडसम्ममा टिकट खरिदविक्री भएको र ठूला दलहरुले नै टिकट बेचेकोसम्म आरोप प्रत्यारोप चलिरहेको देखिन्छ । त्यसो त, अहिले टिकट वितरण भइसककेो छ । तर पनि अव अन्तरघातको सिजन चलिरहेको बताइन्छ । टिकट नपाएका अनि अर्को पार्टीमा जान नसकेका र गएर पनि आफू र आफ्ना मान्छेहरुलाई उमेदावरी दिलाउन नसकेकाहरु अव अर्को चरणका अर्थात अन्तरघातमा प्रवेश गरेका छन् । उनीहरु पार्टीले समेत सुन्नेगरी योग्यलाई टिकट नदिएपछि किन उसलाई भोट दिने, जसरी पनि हराइन्छ भनिरहेका छन् ।
भन्नुको तात्पर्य राजपाले भने जसरी संविधान संशोधन होस् वा नहोस् मधेसमा चुनावप्रति उत्साह थियो र छ । मधेस यसरी चुनावमा उर्लिन्छ भनेर कसैले पनि सोचेका थिएनन् । लामो मधेस आन्दोलन, मधेसका ५२ जनाको हत्या र नाकावन्दीका कारणसमेत मधेसमा चुनाव हुनसक्दैन भन्ने धेरैलाई लागेको थियो । त्यसमाथि पहाड र मधेस जोडिनुहुन्न भन्ने आवाज अहिले पनि शान्त भएको छैन । यो कारणले समेत मधेसमा चुनाव हुन गाह्रो छ भन्ने धेरैलाई लागेकै हो । तर त्यो सुरुमै गलत साबित भइसकेको छ ।
त्यसमाथि मधेसको स्थानीय तहको निर्वाचनमा सयभन्दा बढी मतदान केन्द्रहरुलाई अत्यधिक संवेदनशील भनेर निर्वाचन आयोगले तोकेको छ र मजबुत सुरक्षाका लागि सरकारलाई अनुरोध गरेको छ । यतिमात्र होइन, सुरक्षा प्रवन्धमा हवाई गस्ती पनि छ र सेनाले समेत चिलका आँखा लगाएर निगरानी गर्ने बन्दोबस्त मिलाइएको बताइन्छ ।
अर्थात मधेसीदलहरुले चुनावमा भाग लिदैनन्, मुलुकमा अस्थिता उत्पन्न होला कि ? भन्ने आशंका अव मेटिएको छ । राजपा, फोरम आदिले बहिष्कार गर्दैमा तराई मधेसका बहुसंख्यक जनता कुनै न कुनै रुपमा चुनावमा भाग लिने रहेछन् भन्ने प्रमाणित भइसकेको छ । यहाँनेर महन्थ ठाकुरहरु, उपेन्द्र यादवहरु र सिके राउतहरु फेल भए भन्दा हुन्छ । राजधानीमा बसेर पहाड र मधेस, जातीय बितण्डाको बिष बृक्ष छर्ने सिके लालहरुसमेत जिल्लाराम स्थितिमा पुगेका छन् । यसमा मधेसका जनताको चुनावप्रति देखिएको आश्चर्यजनक हौसला नै कारण हो ।
विज्ञहरु भन्छन्– पृथकतावादी डा.सिके राउतको चुनाव चिन्ह भन्दा बाहिर मतदान गर्नुभन्ने उर्दी त्यति कारगर शिद्ध हुनेछैन । मुख्य कुरा पार्टी होइन, जनता हुन् । नेता नै प्रमुख हुने भए, हिजोका राजा महाराजा अद्यापि प्रमुख भइरहन्थे । एकथरि त संविधानमा राजपाले भनेजस्तो संशोधन नै चाहिदैन भन्ने पनि छन् । जनताको उर्लिएको भीडले यही देखाएको छ । नत्र भने सधैं उधारो सम्झौता गर्ने र कहिल्यै पूरा नगर्ने नेपाल सरकारको आश्वासनमा मेधसी नेताहरु लागेता पनि मधेसका जनता कदापि लाग्दैनन् । भारतीय प्रम नरेन्द्र मोदीको अगाडि नै पुन: संविधान संशोधनको प्रस्ताव संसदमा लगेर पास गराउँछु भन्ने प्रम देउवाको दृढ संकल्पमा नेताहरुले विश्वास गरे होलान् तर तराई मधेसका जनताले त्यस कुराप्रति ध्यान नै दिएका छैनन् भन्ने विषयको प्रमाण असोज २ गते हुन गइरहेको स्थानीय चुनाव ३ मा देखिएको उत्साहले पनि प्रष्टै छ । भविष्यमा नेपाल बिखण्डनको बिउ रोप्ने गरी संविधान संशोधन हुनुपर्छ भन्ने मधेसी नेताहरु र त्यसलाई समर्थन गर्ने मांग्रेस सरकार अर्थात कांग्रेस र मओवादी केन्द्रहरु यहाँनेर असफल हुँदैछन् । भन्नुको तात्पर्य तराई मधेसका जनता चुनावलाई लिएर उत्साहित छन् । संविधान संशोधन हुनैपर्छ नत्र असोज २ को चुनावमा मतदान नै हुँदैन, बहिष्कार हुन्छ भन्नेहरु अहिले नराम्ररी पछारिन पुगेका छन् ।
मधेसका जनतालाई देखाएर आफ्नो मालिकको अभिष्ठ पूरा गर्नेहरु अव चुनाव परिणामबाटै बहिष्कृत हुँदैछन् । लक्षण त्यस्तै देखिदैछ । शायद जनताको उत्साहलाई रोक्न सकिन्न भन्ने बुझेर मधेसका नेताहरु चुनावमा अग्रसर भएका छन् । यो चुनावमा मधेसी नेताहरुको बर्चस्व रहेन भने तिनले उठाएका मधेसका माँगहरु देखाउने दाँत साबित हुनेछन् । मधेस झर्नै नदिने भनिएको एमालेले यो निर्वाचनलाई इज्जतको सवाल बनाएर मधेस झरेको छ भने मांग्रेस र राप्रपाहरु समेत चुनावमा जुटेका छन् । मधेसको चुनावमा ठूला पार्टीको होल्ड रह्यो भने राजपाका नेताहरु डाडुमा पानी तताएर डुबेर मरेको जुनी नहोला भन्न सकिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper