banner
banner

इन्टरपोलको सूचीमा नेपाली अनुहार

धर्मरत्न श्रेष्ठ - 
गतसाल इन्टरपोलको बैठकसमेत नेपालमा भएको थियो । अहिले पनि नेपालमा इन्टरपोलका अधिकारीहरुको बाक्लै आवतजावत र सम्पर्क हुने गरेको छ । यसको कारण नेपाललाई ट्रान्जिट बनाएर वन्यजन्तु सिकारीदेखि माफिया र आतंककारीसम्मको चलखेलका कारणले हो । यद्यपि नेपाली सुरक्षा निकाय सक्षम छ तर केही समयदेखि प्रहरीभित्र राजनीतिकरण हुनथालेपछि राजनीतिक संरक्षणले असामाजिक र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन हुने क्रियाकलाप बढेर गएको अनुमान गरिएको छ । जुन नेपालका लागि खतरनाक विषय हुनुपर्ने हो ।
पछिल्ला घटनाक्रमअनुसार इन्टरपोलले केही नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गर्नुको कारण हत्या, मानव बेचबिखन, बलात्कार, वैदेशिक रोजगारीमा ठगी, जालसाजी, साइबर क्राइमजस्ता अपराध बढेर गएकोले पनि हो । यस्ता अपराधहरुमा कैयौं नेपालीहरुलाई रेडकर्नर नोटिस जारी गरिएका छन् । नेपाल प्रहरीका स्रोतका अनुसार नेपालले १५ जना विरुद्ध रेड कर्नर नोटिस इस्यु गरेको छ भने अन्य विभिन्न देशले ६७ जना नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।
इन्टरपोलले विभिन्न मुलुकका सुरक्षा निकायवीच अपराध सम्बन्धि सूचना आदान—प्रदान गर्ने गर्छ । विश्वभर फैलिएको यो सञ्जाल साह्रै प्रभावकारी मानिएको छ । एक ठाउँमा अपराध गरेर अन्य मुलुकमा लुक्नेहरुविरुद्ध इन्टरपोलको सूचना आदानप्रदानले अपराधीहरु सुरक्षाकर्मीको पकडमा आउने गरेका छन् ।
वैेदेशिक रोजगारीमा ठगी गर्ने भूपेन्द्र खड्का तथा नुवाकोटका भक्तबहादुर लामा, विष्णुबहादुर लामा एवं रामबहादुर तामाङ यस्तो नोटिसमा परेका छन् । उनीहरूविरुद्ध वैदेशिक रोजगारीमा (युरोप र अमेरिका) पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको केसमा रेड कर्नर नोटिस जारी गरिएको हो । यस्तो रेड कर्नर नोटिसमा धनकुटाका केशव दर्लामी मगर, रुपन्देहीका फकिर रियाज, दार्चुलाका अंगवीर बोहरा ‘वसन्त’, सिरहाका रामकुमार यादव, कपिलवस्तुका पशुपतिनाथ शुक्ला तथा चितवनका रुद्र अचार्य पनि रहेका छन् । सप्तरीका एमडी सकिहुसेन, बाजुराका ओकेन्द्रबहादुर सिंह, काठमाडौंका पवनकुमार कार्की, सुर्खेतका भीमलाल शर्मा तथा भक्तपुरका प्रकाश लामिछाने पनि सूचीमा रहेकामध्येका हुन् ।
सबैभन्दा चर्चित रेडकर्नर नोटिसमा परेका व्यक्ति हुन् : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्याको केसमा चितवनका ३३ वर्षीय रुद्र आचार्य । २८ जेठ २०७१ देखि रुद्रमाथि रेड कर्नर नोटिस जारी गरेर विश्वभरको प्रहरीले उनको खोजी गरिरहेको छ । थाहा भएअनुसार उनी लण्डनमा छन् ।
यसबाहेक बैंक ठगीमा क्यापिटल मर्चेन्ट फाइनान्समार्फत चार अर्ब रुपैयाँ ठगीकाण्डका मुख्य योजनाकार पवनकुमार कार्की र अन्य बैंकरहरु पनि यस्तो नोटिसमा परेका छन् । तर नेपालकै निस्कृयताका कारण पक्राउ नपरेका हुन् ।
 खासगरी राजनीतिक संरक्षणका कारणले गर्दा सरकार रेडकर्नर नोटिसलाई अन्जाम दिन उदासीन हुनु दु:खको कुरा हो । जसले अपराधिकरण बढेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper