banner
banner

पञ्चबाट पञ्चे, मण्डलबाट मण्डले

स्वयम्भुनाथ कार्की - 
गुटगत स्वाथ्र्य र नेतृत्वको अहमले नेपाली समाज आक्रान्त भैसकेको थियो । २०१५ सालको आम निर्वाचनमा १०९ स्थान मध्ये ७४ स्थानमा जितेको नेपाली कांग्रेसलाई आफ्नो सरकार बचाउन धौधौ परेको थियो । आफ्नै सांसदबाट सरकार बचाउन १९ स्थान लिएको गोर्खा परिषद र नेपाल कम्युनिष्ट पार्टीका ४ जनाको समर्थन आवश्यक परेको थियो ।  यो कुरा स्वयं वीपी कोइरालाले आत्मवृत्तान्तको परिच्छेद ५३ मा भनेका छन । यो गोर्खा परिषद त्यही दल थियो जसले वीपी माथी सांघातिक हमला गरेकाले कांग्रेसीहरुले ‘खुकुरी दल’ नाम दिएका थिए ।
अर्थात नेपाली कांग्रेस त्यो अवस्थामा पुगिसकेको थियो जहाँबाट अस्थिर सरकारको अहिलेको जस्तै अभ्यास शुरु हुने थियो । कुनैवेला ‘खुकुरी दल’ नेतृत्व गर्ने भरतसम्सेरको उदार चित्तको वर्णन स्वयं वीपीले आत्मवृत्तान्तमा सम्झेका छन । त्यसैले आन्तरिक गुटगत कलहमा अलमलिनु पर्दा मुलुकमा अव्यवस्था फैलिने थियो । २०१७सालमा राजा महेन्द्रको सामुन्ने यस्ता अव्यवस्थाबाट मुलुकलाई बचाउन आफ्नो हातमा शासन लिनै पर्ने वाध्यता आईलागेको थियो । बहुदल पुनस्र्थापना पछि त्यो अव्यवस्था अहिलेसम्म नेपालले भोगिरहेको छ । राजा महेन्द्र केवल त्यो अव्यवस्थालाई तीस बर्ष धकेल्न सफल भए ।
गुटगत संघर्षमा मुलुक र जनता गौण हुने परिस्थिति रोक्न दलविहिनता नै उनले उपयुक्त व्यवस्था देखे । तर राजनीतिकर्मीहरु कुनै न कुनै दलसंग आवद्ध थिए त्यसैले दलविहिनतामा राजनीति सञ्चालन गर्ने प्रयाप्त अनुभवी व्यक्तिहरु पाउन कठिन थियो । यसको हल परंपरागत संरचनालाई पुर्नवहाली गर्न मै थियो । परंपरादेखि पञ्चहरु मार्फत समाजको काम गर्ने चलनलाई नै राजनैतिक प्रणालीमा ढाले । पञ्च नाम नलिए पनि त्यो पद्धतिको प्रभावकारीता अहिलेसम्म छदैछ । नागरिक समाज, बुद्धिजीवि आदिको नामले समाजमा गरिने काम त्यही प्रणाली हो । तर यस्ताको कुनै वैधानिक हैसियत नभएकाले  जिम्मेवारीबाट पन्छन सजिलो भएको छ । पञ्चायतमा भने जिम्मेवारी बहन गर्नुपर्ने गरेर वैधानिकता दिईएको थियो ।
राजनीतिमा अनुभव भए पनि वा नभए पनि आफ्नो समाजको भलो गर्न र सेवा गर्न स्वतन्त्र व्यक्तिहरु सफल भए । यस्ता व्यक्तिहरुलाई पञ्च कार्यकर्ता भनिन थाल्यो । समाजमा उनिहरुले ईज्जत र प्रतिष्ठा कमाउन थाले । काम गर्न सघाउन हरेक एकाईलाई सचिव दिईयो । यस्ता सचिवहरुलाई तालिम दिन प्रशिक्षण केन्द्रहरु खोलिए । यी प्रशिक्षण केन्द्रहरुमा पञ्च कार्यकर्तालाई पनि प्रशिक्षण दिने वन्दोवस्त भयो । पढेलेखेका कम हुने त्यो समयमा मुलुकभरिका स्नातकहरुलाई पनि शासन व्यवस्थामा समेटने प्रयत्न भयो । राष्ट्रिय पञ्चायतमा स्नातकहरुले आफ्नो प्रतिनिधि पठाउने व्यवस्था बन्यो ।
विभिन्न वर्गलाई पनि मुलधारमा ल्याउन वर्गिय संगठनहरु भए । वर्ग संघर्ष भन्दा वर्ग समन्वयको बाटोले समाज र मुलुकमा प्रगति हुन्छ भन्ने सोच वन्यो । गुण र दोषको आधारमा, कामको आधारमा कसैको समर्थन वा विरोध हुनु पर्दछ भन्ने यो व्यवस्थाको मुल मर्म थियो । सबै कुरामा स्वतन्त्रता भए पनि गुट निर्माणमा बन्देज थियो, राष्ट्रघातमा बन्देज थियो , साझा आस्थाको अनादार बन्देज थियो । यसले पञ्च कार्यकर्तालाई समाजमा प्रतिष्ठा मिलेको थियो । गुण दोषको आधारमा साथ वा विरोध हुनाले स्वअनुशासित समाजको निर्माण हुँदै थियो । 
व्यवस्था, प्रणाली, काम , कर्तव्य तथा अधिकारको बारेमा कोही अनभिज्ञ नहोस भनेर पाठ्यक्रममा पञ्चायत पनि एक विषय राखिएको थियो । राष्ट्रलाई माया गर्ने, नैतिक र चरित्रवान पुस्ता तैयार हुन निमित्त कार्यशालाको काम गर्न राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल खडा गरियो । दुखको कुरो यो भयो कि त्यो विद्यार्थी मण्डल मात्र केही बर्ष रह्यो अनि मण्डलेमा परिणत भयो । समाजलाई उज्यालो तिर डोर्‍याउने काममा सहयोग र निर्देशन पुगोस भनेर प्रशासन र पञ्चकार्यकर्ताहरु संग गरिएको मण्डलको सहज पहुँचको दुरुपयोग भयो । राजा वीरेन्द्रको सरल स्वभावको अनुचित लाभ लिएर केही चतुर पञ्चहरु, छट्टु प्रशासकहरुले विद्यार्थी मण्डललाई आफ्नो युवादस्तमा परिणत गरिदिए । सबै नेपालीको समान पहुँचको अवधारणमा निर्मित व्यवस्थामा महापञ्च बन्ने रोग लाग्यो । यस्तो वेलामा निर्देशन र नियन्त्रण हुनको साटो चाकरी चाप्लुसी र चुक्लीको भूमिका बलियो हुनलाग्यो । केही प्रशासक र महापञ्चका कारण पञ्चहरुले प्रतिष्ठा गुमाउदै जान थाले । उल्टो २०३२सालमा संविधानको दोश्रो संसोधनले पञ्चायतलाई एक दलिय व्यवस्थामा परिणत गरिदियो । पञ्चर्‍यालीहरुको बाढी आउन थाल्यो । पञ्च सम्मेलनहरु आम घटना हुन लागे ।
जनतालाई गाडीमा कोचेर र्‍यालीमा भिड गरेर शक्ति प्रदर्शन गर्ने संस्कारको नेपालमा जन्मदाता तिनै महपञ्चहरु हुन । जनतामुखी भनेर आरंभ गरिएको व्यवस्था त्यसको ठिक उल्टो केन्द्रमुखी बन्न पुग्यो । देश बनाउन सबैको बरावर हक भएको राजा महेन्द्रको कुरालाई पाखा लगाएर पञ्चायत नीति जाँचवुझ केन्द्र ,अनि गाउँफर्क राष्ट्रिय अभियानको समाजिक स्वरुप मारेर इतर र भितर वर्ग पैदा गर्ने औजार बनाईयो । यो सबै राजा वीरेन्द्रको सरल स्वभाव दुरुपयोग गरेर भएको थियो । त्यसैले विद्यार्थी मण्डलले अपमानजनक नाम मण्डले पायो र पञ्चले पञ्चे हुनु पर्‍यो । 
यो विनाश गर्नेहरु भने पञ्चायत पछि पनि कुनै न कुनै रुपमा शासनको हिस्सा भइरहे । यो गणतन्त्रमा पनि तिनैको बोलवाला छ । इमान्दार पञ्च कार्यकर्ताको कमाई अपहरण गरेर पद र प्रतिष्ठा निरन्तर पाई रहेका छन । राजाको काम मान मात्र थापेर बस्ने हैन जनताप्रति मुलुक प्रति कर्तव्य पनि हुन्छ । यो कुरा सम्झाउन खोज्नेहरु महापञ्चका कोपभाजन भए । यो पञ्चबाट पञ्चे र विद्यार्थी मण्डलबाट मण्डलेमा भएको रुपान्तरण महापञ्च हुन पाएका पञ्चे र मण्डलमा ढलीमली गर्न पाएका मण्डलेहरुलाइ त फाप्यो तर पञ्च कार्यकर्ता र नेपाली जनतालाई भने पिडादायक भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper