banner
banner

राप्रपाहरुको फाटेको मन रिट रसायनले टाल्ला त

Swoambhu Nath Karki-
महापञ्च र महामण्डलेहरुले नेतृत्व गरेको राप्रपा स्थानीय निर्वाचनको एक चरण बाँकी हुँदै तीन टुक्रा भएको छ । हाललाई राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) तीन टुक्रा भए पनि निकट भविष्यमा थप टुक्रिने प्रवल संभावना छ । ४० प्रतिशतले अडकाउने भनेको व्यवस्थापिका संसदका सांसदहरुको पद कायम राख्न मात्र हो । यसरी दल फुटदा आफ्नो सभासदको पद कायम राख्न र त्यसबाट ‘लेभी’ पाउन मात्र दल ४० प्रतिशतवाला प्रावधान आवश्यक पर्छ । यसबाट लोहनीको राप्रपालाई केही फरक नै परेन न त्यसवेला राप्रपा थापालाई कुनै खास पिडा बोध नै भयो । अहिलेको पिडावोधमा राप्रपा राणामा गएका भनिएका २२ सांसद र त्यहाबाट आउने ‘लेभी’ नै कारण हो ।
राजसंस्थालाई आस्था गर्ने अनि परम्परामा विश्वास गर्नेहरुले राजसंस्थाको प्रत्यक्ष नेतृत्वमा खटेको भनेर राप्रपा नाम प्रति पनि आस्था देखाएका हुन । अर्थात पुराना पञ्चहरु राजावादी हुन्छन्, राष्ट्रवादी हुन्छन भन्ने भ्रमले मात्र राप्रपा नामले महत्व पाएको हो । हलो वा गाई चुनाव चिन्हले खासै फरक पारेको हैन । जव राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको दम्भले कमल थापाले राप्रपा हत्याउन खोजे त्यो वेलामा राणाले अदालतको सहाराले मूलधार आफुलाई सावित गरे । त्यसपछि खोलिएको राप्रपा नेपालले नगर निर्वाचनमा गमला चिन्ह लिएर लडेको थियो, त्यहाँ चुनाव चिन्हले खासै असर गरेन । 
सरकारले प्रतिनिधिसभाको निर्वाचन मिति तोकिसकेको छ १० मंसिर २०७४ । नेपालको संविधान २०७२ को संविधानको धारा २९६(१)को दोश्रो अनुच्छेद अनुसार अव व्यवस्थापिका संसदको म्याद बढीमा कार्तिक १७ गतेसम्म कायम रहन्छ । जत्तिनै छिटो गर्न खोजे पनि मनोनयन पत्र दाखिल गर्ने दिन र मतदानको दिन २३ दिन भन्दा कम गर्न मिल्दैन । यसरी अव रहेका सभासदहरुको तीन महिना करिवको ‘लेभी’ निमित्त राणा र थापा विच कानुनी युद्ध शुरु भएको छ । यदि राप्रपाको रिटमा राणा राप्रपाको निर्वाचन आयोगमा दर्ता बदर नै भए पनि नेपालको कुनै कानुनले लोहनीले जस्तो अर्को दल खोल्न रोक लगाउँदैन ।
जहाँसम्म सिद्धान्तको कुरो छ कमल थापाले कहिले कुनै अवसरमा पनि राजा सहितको प्रजातन्त्र र सर्वधर्म समभाव हिन्दु राष्ट्रलाई दलको सिद्धान्त भनेका छैनन । उनले यसलाई ‘एजेण्डा’ भनेका छन जसको नेपाली अर्थ, कार्यसूची हुन्छ । अनि यो कार्यसूचीको प्राथमिकता के रहेछ भन्ने कुराको निमित्त एकिकरणको वेला यसलाई पछि तय गर्ने भनेर राख्नुले नै बताउँछ । जहाँसम्म ‘वरमझियाको पेडा’ पसले जस्तो आफुलाई असली राजावादी देखाउने होड छ त्यसमा त्यति खास फरक भने परेको छैन । व्यवस्थापिका संसदमा अन्तरिम संविधानले उधारो गणतन्त्र घोषणा गर्ने प्रस्तावमा मतदान हुँदा राणाले नेतृत्व गरेर राप्रपाले गणतन्त्रको विरोधमा मतदान गरेको थियो ।
जनताले संविधानसभाको निर्वाचनमा यसको फल पनि दिए, जहाँ राप्रपा नेपाल ४ स्थानमा रह्यो भने राप्रपा र जनशक्ति दुवैले राप्रपा नेपाल भन्दा ठूला भए । त्यसपछि सत्तालोभले विधानवाट कार्यकर्ताको विरोध हुँदाहुँदै राजसंस्था हटाउन पुग्यो । यसरी राप्रपा नेतृत्व र विधानत: गणतन्त्रवादी अनि कार्यकर्ता राजावादी भएको दल भयो । राप्रपाका कार्यकर्ताहरुले खुल्ला दलको निधान विपरित राजाको पक्षमा हुँदा पनि नेतृत्वले कारवाही गर्ने आँट गरेन । अब यो नेतृत्वको अवसरवाद थियो वा दल नै छिन्नभिन्न हुने डर यसको अलग विवेचना आवश्यक छ । तर जनताले संविधानसभाको दोश्रो निर्वाचनमा यसको दण्ड दिए राप्रपा नेपाल भन्दा सानो दल बनाएर । 
यसले राप्रपाको नेतृत्वले राम्रोसंग बुझ्यो कि पूर्वराजसंस्थाको सहारा वेगर पुराना पञ्चको आधार छैन । हो अन्य दलमा गएमा आधार हुन सक्ला, तर नेतृत्वका कतिपय नामहरुलाई अन्य दलले प्रयोग त गर्न सक्छ तर समाहित गर्न मान्दैन । यही खोज भित्र राप्रपा एकताको कुरो उठेको हो र लामो समय प्रयत्न भएको हो । एकता हुनै लाग्ने वेलामा सरकारमा स्थान पाएकाले ‘पसरा’ले ‘कथा’लाई थप्पड पनि हानेकै हुन् । त्यो वेलामा पनि राप्रपा नेपालका र राप्रपाका ठूला भनिएका नेताहरुको बीचको अमर्यादित बयान आएकै हुन । तै पनि दुवै फुटेको सिसा जस्तै जोडिएका थिए जो स्थाई हुने थिएन र भएन पनि ।
कमल थापाको राजनैतिक जीवन नै अधिराजकुमार ज्ञानेन्द्रको असिम कृपामा अडेको हो । यो कुरा धेरैलाई थाहा छ । तर जव राजा ज्ञानेन्द्रलाई आवश्यकता पर्‍यो उनको घुर्की पनि बढदै गयो । शाही मन्त्रीमण्डलमा उनको घमण्डको जुन अवस्था देखियो त्यो त्यसवेलाका मन्त्री मण्डलका सदस्यहरु ‘अफ द रेकर्ड’ सुनाउँछन । छिटै सार्वजनिक पनि गर्लान या नगर्लान त्यो भन्न सकिन्न । तर जव चौथो ठूलो दल भयो राप्रपा नेपाल ‘संसदले चुन्ने राजा’ भन्न लाग्यो । स्वयं अध्यक्ष राजसंस्था र ज्ञानेन्द्रको फरक देखाउन लागे । निवर्तमान हैसियतले राजसंस्थाको प्रतिनिधित्व उनको नभएर कसको हुने ? यो कुरा थाँती राखेर देखाएको घुर्कीले सिमा नाध्यो ।
वर्तमानमा राप्रपा नामसंग नै राजसंस्था प्रति आस्थावान जनताको ( यहाँ जनता भनिएका छ राजनैतिक कार्यकर्ता हैन ) मोह भंग भैसकेको छ । अव जो कोही यो नमले आउछ त्यसले जनताको घृणा बाहेक केही पाउन्न । यो कुरा स्थानीय निर्वाचन लड्नेले भोगेको कुरा हो । तीनै राप्रपामा राजावादीको संख्या प्रचुर छ, अनि थोरै भएपनि उल्लेख्य गणतन्त्रवादी पनि छन् । तर सबैको नेतृत्वमा अवसरवादी छन्, जो कुनै वेला राजावादी अनि कुनै वेला गणतन्त्रवादी हुनसक्छन् । हो खोजेमा अपवाद पक्कै पाईन्छ । त्यसैले राप्रपाहरुलाई निस्कनु नै श्रेयष्कर छ राणा, थापा, लोहनीको विरुदावली गाउन आवश्यक छैन । विरुदावली नै गाउने भए राष्ट्रको गाउनु पर्छ, राजसंस्थाको गाउनु पर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper