banner
banner

आउँदा दिनहरु अझ खतरनाक हुनेछन्

शाश्वत शर्मा - 
भरपुर महानगरको निर्वाचनले लोकतन्त्र जित्यो कि हार्‍यो ? लोकतन्त्र संस्थागत गर्ने यही तरिका हो भने लोकतन्त्रका लागि सरकार, सत्तारुढ दल, निर्वाचन आयोगले सदर होइन, बदर गरिदिए भन्दा हुन्छ ।
हो, कांग्रेस सभापति देउवाको प्रधानमन्त्रित्वको कार्यकाल लम्बियो होला, माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड खुशी भए होलान् । लोकतन्त्र विधिमा चल्यो कि चलेन, लोकमत लोकबल बन्यो कि बनेन ? लोकलज्जा रह्यो कि रहेन ?
सुनियो, पेरिसडाँडादेखि लाजिम्पाट प्रचण्ड दरवारसम्म झिलिमिली भयो, उमेदवार रेणु दाहाल खुशी भइन् । देशको पद्धति, पद्धति चल्ने तरिका सही भयो कि गलत ? हो, रेणु दाहालले मेयरमा जित्दा निर्वाचन आयुक्तले आफूलाई नियुक्त गर्ने सिफारिसकर्ताप्रति गुरुदक्षिण चढाएको ठहर भयो होला, अव उनलाई जतिसुकै भ्रष्टाचार गरे पनि छुट हुनेभयो होला । उनले अवकाश पाएपछि राजदूत बनेर आरामको जीवन पनि पाउने निश्चित भयो होला ।तर, त्यत्रो गुण्डागर्दी, आगजनी,तोडफोड, हिंसा र हत्याद्वारा ल्याइएको लोकतन्त्र संस्थागत नै हुन नपाई मृत्यवरण गर्न बाध्य भएको छ । जनविश्वास कायम हुन नसक्नु भनेको मृत्यु नभए के हो ?
यथार्थमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्रको गठबन्धनले आमनागरिकका लागि कस्तो लोकतन्त्र दिन खोजेका रहेछन् ? त्यसको सक्कली उदाहरण भरतपुरको निर्वाचनले देखाइदिएको छ । हामीलाई देवी ज्ञवालीले जितुन् अथवा रेणु दाहालले, कुनै फरक पर्दैन । निर्वाचन हुनैपथ्र्यो, भयो । मुख्य सवाल विधि र पद्धतिको हो, जसलाई सत्तारुढा दलहरुले खोरिया बनाएर कुल्चिदिए ।
झण्डै झण्डै हारिसकेकी रेणु दाहालका पक्षमा यसरी वातावरण बनाइयो कि मतपत्र च्यात्ने रेणु दाहाल अर्थात उनका प्रतिनिधि, उनैको पक्षमा सर्वोच्चले फैसला गर्नु र चुनावमा ताण्डव नृत्य देखाएर मतदान सम्पन्न गरेर मतगणना गरिनु र रेणु दाहाललाई जिताइनु । यथार्थमा शेरबहादुरको शेर चरित्र भनेको यही हो । यस्ता मामिलामा शेरबहादुरले सघाएर नेपाली कांग्रेस समाजवादी होइन भन्ने स्पष्ट सन्देश सार्वजनिक भयो ।
देउवा, प्रचण्ड र निर्वाचन आयुक्तले जुन कार्यलाई अन्जाम दिएका छन्, त्यसले लोकतन्त्र भनेको भाँडतन्त्र हो भनेर सावित गरिदिएको छ । जो यस्तै लोकतन्त्रले नेपाल र नेपालीको कल्याण हुन्छ भनेर सोचेर बसेका छन्, तिनले बुझे हुन्छ– यस्तो बाहुबली गणतन्त्र टिक्दैन ।
सत्ता प्राप्तिका लागि, पद पड्काउनका लागि, आफू र आफ्नो परिवारका लागि सबै संवैधानिक अंगहरुमा समेत प्रभाव र दबाब दिएर जेमन्त गर्नेहरुले भोलिका दिनमा अझ कस्तो कस्तो तमासा देखाउने हुन् ? सम्झदा पनि आङ् सिरिङ्ग गर्छ । जुन प्रकारका हथकण्डा मच्चाइयो, यो लज्जाजनक छ । निर्वाचन आयोगका पदाधिकारीसँग हुति थियो भने मतपत्र च्यातिने वित्तिकै च्यात्नेमाथि सजाय दिनुपथ्र्यो । त्यसमाथि उमेदवारले च्यातेको प्रहरी रिपोर्टसमेत आइसकेपछि त झन सजाय दिनैपथ्र्यो । पुन: मतदानमा देवी ज्ञवालीले भनेका थिए– मलाई हराउन राज्यसत्ता लाग्यो ।
कति हाँस्नु ? गज्जवको गणतन्त्र भनेको त एउटा महानगरको मेयरको जितमा पो गएर अड्किएको रहेछ । भन्न त, एमालेले ब्यालेटबक्स नै साटेर रेणु दाहाललाई जिताइयो । चुनावको अघिल्लो दिन प्रधानमन्त्री देउवा नारायणगढ– मुग्लिङ सडक निर्माणको स्थलगत निरीक्षणका नाममा दासढुंगातिर पुगेर भरतपुरका कार्यकर्ता र प्रहरीलाई त्यहीँ बोलाएर जसरी पनि रेणु दाहाललाई जिताउनु भन्ने फर्मान जारी गरेर फर्किए, यस्ता परिस्थितिले धाँधलीको चरम रुप देखाएकै हो ।
भनिन्छ, विहानीले दिनको मौसमको अनुमान गर्न सकिन्छ । आउने दिनहरुमा कुन प्रकारको प्रदेश र संसदको निर्वाचन होला, सहजै अनुमान गर्न सकिन्छ । योभन्दा पनि असोज २ गते २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन हुँदैछ,  त्यसमा नै माओवादीका वाईसीएल र कांग्रेसका होनहार कार्यकर्ताहरुले गर्नुसम्मको धाँधली गर्ने आशंका गर्न सकिने ठाउँ दिएको छ ।
ठूला दलहरु मिलेर किन गणतन्त्र ल्याएको रहेछ, गणतन्त्रको योभन्दा पनि विकृत रुपरंग आउने दिनमा देखिने पक्का छ । देवी ज्ञवाली हारे, रेणु दाहाल जितिन्, यसमा मन्थन गर्नुभन्दा पनि यो गणतन्त्र कति विषाणु रहेछ भनेर सबैले बुझे, अनुभव गरे । त्यसो त बना जनादेश हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष भनेर घोषणा गर्ने यिनै हुन् । त्यसपछि निरंकूशता फाल्ने भनेर राजतन्त्र नै सिध्याएर गणतन्त्र कार्यान्वयन गर्ने पनि यिनै हुन् । बिना जनमत निर्णय गरिएकाले यो मुद्दा देशको राष्ट्रिय मुद्दा बनेको छ र यो मुद्दाका कारण शान्ति, स्थिरता र सम्पन्नताको ढोका खुल्न सकेको छैन । अव स्थानीय तहमा चुनावको जुन ताण्डवनृत्य देखाइयो र कसलाई कसरी जिताउने भन्ने उदाहरण देखाइयो, त्यसबाट आउने दिनहरु अझ अराजक र अस्थिरतापूर्ण हुने देखिन्छ ।
ठूला दलहरु राजनीतिक पद्धतिलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गराउन चाहिरहेका छैनन् भन्न सकिने योभन्दा ठूलो आधार अरु के चाहियो र ? यद्यपि संघीयता, सिमांकन र नामांकनका पेचिला विषयहरु समाधान हुन बाँकी नै छन् । आउने दिनहरुमा रक्तपातका सम्भाबना यसकारण पनि छन् कि विधि पुर्‍याएर राष्ट्रिय समस्याहरु समाधान गर्न पार्टी नेताहरु तैयार नै छैनन् । उनीहरु आफ्नै जहाँनियाँ तरिकालाई विधि बनाउन चाहन्छन् । जुन कुरा आमनागरिकलाई मान्य छैन । नेतातन्त्र कि गणतन्त्र भन्ने गम्भीर बहसको विषय बनिसकेको छ । यो विषयमा लोकतान्त्रिक तरिकाले समाधान खोज्न नेताहरु तैयार भएनन् भने नेपालको सुदूरभविष्य ढिलोचाँडो रक्तपातमा रुपान्तरण हुनेछ ।
एमालेजस्तो दह्रो प्रतिपक्षीको आँखामा छारो हालेर कांग्रेस, माओवादीले भरतपुरको निर्वाचन परिाणम आफ्नो पक्षमा पार्न सफल भए । तर, यो परिणामले धेरै प्रश्नहरु उठाएका छन् र ती प्रश्नहरुले अतिवादी माओवादीलाई त फरक नपर्ला, प्रजातन्त्रको ठेकेदार मै हुँ भन्ने कांग्रेसका लागि बुमेर्‍याङ हुनजाने पक्का छ भन्छन् विज्ञहरु । जनमत संग्रहको नतिजा स्वीकार गर्ने वीपीका अनुयायी देउवाले कम्तिमा पनि पार्टीको  सुन्दर भविष्यका लागि माओवादीसँग साँठगाँठ गर्न र उसकै एजेण्डामा चल्नु हुने थिएन । स्थानीय तहको निर्वाचनपछि त कांग्रेस भाइ माओवादी बनेको अनुभूति जो कसैले पनि गर्न बाध्य हुनुपरेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper