banner
banner

जनतासँग आउ राजन्, मिलेर देश बचाऔं

स्वयम्भुनाथ कार्की -
विगत लामो समयदेखि नेपाली सर्वसाधारणले पुकारा गर्दै रहे ‘राजा आउ देश बचाउ’ । तत्कालीन ‘राजा’ भने सातदलले गरेको भनेको सम्झौता लागु होला कि भनेर कुर्दै रहे । गीरिजा मरेर गए, अरुले सम्झौता नै छैन भने, गिज्याए । तैपनि अपार धैर्यताको साथमा त्यही सम्झौता लागु गर्छन् कि भनेर बसेका छन् । शायद त्यसवेलाका साछी पुकार्दै पनि छन् । तर त्यसवेला साछी बस्नेको आफ्नै मुलुकमा पनि हैसियत छैन, जसको प्रतिनिधित्व गरेका थिए त्यसले मान्ने कुरामा शंका छ । किनभने सवैले आफ्नो मुलुकको स्वाथ्र्य हेर्नु पर्ने हो, बलियो साथी खोज्नु पर्ने हो । अनि शाहवंशलाई भन्दा ज्यादा कसलाई थाहा होला, शक्तिश्रोत सर्वसाधारण जनता हुन्, ‘प्रजा मोटा भया दरवार बलियो हुन्छ’ ।
सिमित घेरा र संगतमात्र रुचाउने अनि पर्व दिवसहरुमा सकृय हुनेहरुबाट ज्यादाको आश नराखे हुन्छ । सर्वसाधारण जनतको सोच के छ ? पिडा के छ ? आशा के छ ? यो सबै कुरा बुझ्न मुलुक बाहिर हैन गाउँ वस्तीमा पुग्नु पर्छ । उनीहरुको दुखसुख साझा बनाउनु पर्छ । ‘नेपालमा राजसंस्था विदेशीले हटाएको हो उसैले ल्याउँछ’ भन्ने हुतिहाराहरुले घेरिएर केही हुन सक्दैन । विदेशीले हटाए पनि ल्याउने स्वदेशी जनताले हो भन्ने तागत नभएकाहरु केवल हुकुम पालन जान्दछन् । यस्ता हुकुम पालन र ढोका कुरेर जयजयकार गर्नेहरु सर्वसाधारण जनतासम्म पुग्दैनन् । पत्रिका पढेर, समाचार सुनेर अनुमानको भरमा झर्ला र खाउँलाको आशमा हुन्छन् । सबै संवादका माध्यम बन्द गरेर अष्ट्रिचले मुन्टो बालुवामा घुसारेर मलाई कसैले देखेको छैन जस्तो गर्दछन् ।
पञ्चायती संविधानको दोश्रो संसोधन पछि पञ्चहरु केन्द्रमुखी भए, सर्वसाधारण जनतासम्म जाने भन्दा माथी रिझाएर ठूलो हुने ‘फाष्ट ट्रयाक’ अपनाउन थाले । जनतामा भएको रिक्तता भर्न प्रतिवन्धित दलहरु पुगे, ज्यादाजसो शिक्षकको रुपमा । माथि रिझाएर ठूला हुनेहरुमा महेन्द्रको पालामा जस्तो आत्मवल थिएन तर चातुर्य थियो  । त्यसैले पञ्चायत ढलेको केही बर्ष मै फेरी सत्ताको चास्नी भेट्न थाले । पञ्च संगै दलका कार्यकर्तापनि ‘त्याग तपस्या’, ‘जेलनेल’को भर्‍याङ्गले माथि नै पुगे जनतामा फेरी रिक्तता आयो । यो रिक्तता मेट्यो माओवादीले र फेरी परिवर्तन भयो । विदेशीले खेल्न पाए भने त्यो त्यही रिक्तततामा खेलेका हुन् जो राजसंस्थाले छोडेको थियो । वर्तमानमा फेरी रिक्त स्थान पैदा भएको छ तर राजसंस्थाका हौ, राजावादी हौ भन्नेहरु भने त्यो रिक्तता भर्नको साटो ढोका कुर्न व्यस्त छन् ।
दल खोल्ने, अनि अर्कोबाट आफ्नोमा तान्ने ‘पार्टी प्रवेश’ गराएर समाचारमा छाउने कामलाई प्रमुखता दिनेहरु प्रशस्त छन् । यस्तै प्रवेशीहरुले स्वस्ती बाचन गरेर घमण्डी भ्यागुतो सरह फुलाएर आफुलाई हुस्सु बनाएको चाल नै नपाउनेहरु पनि देखिएका छन् । जनतासंग जानको  साटो केही पार्टी प्रवेश पेशाकाहरुसंग रमाउनेबाट जनतामा व्याप्त त्यो रिक्तता भरिने छैन । एउटा कार्यक्रम गर्‍यो एक डेढ सयलाई अविर र फुलमालाले स्वागत गर्‍यो अनि भिषण भाषण दिएर हुँदैन भन्ने ज्ञान भएकाहरु पनि त्यही भिडमा सामेल भएको देख्दा सर्वसाधारणको मन कटक्क हुन्छ । अनि त्यही कुरा ‘हाम्रो पक्षकोमा यति सदस्य बढेछन्’ भनेर गरेको जाहेरले मख्ख परिनु नपर्ने हो । विगत १० बर्षमा यस्ता प्रवेशका संख्या जोड्ने हो भने त्यो विशाल छ । पश्चिममा ‘राजा आउ देश बचाउ’ भन्नेहरुलाई ‘जनता आउ देश बचाउ’ भन्ने जवाफ दिईएको समाचार सुनिएको हो । अव यो मुलुक जुन अवस्थामा पुगेको छ त्यसबाट निकासको निमित्त विदेशी साछी गुहारेर हुनेवाला छैन । सहमतिको कागज पेश गरेर हुनेवाला छैन । सर्वसाधारण जनताले सारा संसारले सुन्ने गरेर बोलाई सक्यो, तर त्यहाँ कस्तो आवाजरोधी भित्तो छ कि केही सुनिदैन । अव जनता भन्न थालेका छन ‘हामीसंग आउ राजन, मिलेर देश बचाउँ ’ । यो आव्हान हो जनताको, अझै नसुनिने हो भने जनताको धैर्य पनि समाप्त हुनसक्छ । केवल सर्वसाधारणसंग संवाद कायम गर्नु मात्र त हो, न यसको निमित्त अतिरिक्त मेहेनत लाग्छ न साधनश्रोत नै ।
तर वर्तमानमा त अलिअलि भएको संवाद पनि बन्द गरेर बसेको अवस्था छ । राजन् वताईदेउ, सर्वसाधारणले  अव कति कुर्नुपर्ने हो ? कुर्दाकुर्दै जुनी बित्ने हो ? वंशको ‘आदर्श सर्वसाधारण संगको सम्वन्ध’ त्यागेकै हो ? कतै जनता ‘हिस्स बुढी हरिया दाँत’ हुनुपर्ने त हैन । त्यो घेराबाट बाहिर आउने मनसाय भए छिटो गर्नुपर्‍यो । जनताका माझमा झुल्किनुपर्‍यो, जनतासँग हिड्नुपर्‍यो । नत्र जनताले ‘मिड्प्याक’ गरेको ठान्लान् । हामीसंग आउ राजन्, मिलेर देश बचाउँ समय कम छ । हातमा भएको गुमाएपछि पछुताएर के काम ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper